काठमाडौं । कोभिड संक्रमणका बिरामी बढेसँगै विभिन्न अस्पतालले त्यसविरुद्ध लड्न आन्तरिक तयारी गरिरहेका बेला राजधानीको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालले आफ्नो तयारी तीव्र पारेको छ । कोभिडका बिरामीको अत्यधिक चाप हुने अस्पतालमध्ये एक एपीएफ अस्पतालले आफ्नो बढीभन्दा बढी जनशक्तिलाई कोरोना संक्रमितको उपचारमा लगाउने रणनीति बनाएको छ । यसका लागि सो अस्पतालले नियमित बिरामी जाँचलाई घटाउँदै त्यसमा खटिने स्वास्थ्यकर्मीलाई कोरोना संक्रमितको उपचारमा खटाउने भएको छ ।
नेपाल एपीएफ अस्पतालका प्रवक्ता एसपी प्रवीण नेपालका अनुसार चिकित्सक, स्वास्थ्यकर्मीसहित ३ सय जनशक्तिलाई कोरोना संक्रमितको उपचार र हेरविचारमा खटाउने गरी तयारी थालिएको छ ।
सो अस्पतालमा कोभिडका बिरामीका लागि २ सय बेड छन् । प्रवक्ता नेपालका अनुसार २ सय बेडमध्ये जनरल वार्डमा ८०, एचडीयूमा १ सय र आईसीयूमा २० बेड रहेका छन् । २ सय बेड भए पनि सो अस्पतालले यसअघि २ सय २७ संक्रमितलाई एकै दिन सेवा दिएको थियो । कोरोनाको दोस्रो फेजमा संक्रमितको पहिलो रोजाइ बनेको सो अस्पतालले बेड अभावमा कयौंलाई चाहेर पनि सेवा दिन सकेको थिएन । कोरोनाको पहिलो चरणमा देशभर संक्रमण तीव्र भइरहँदा सबैभन्दा धेरै कोभिडका बिरामी भर्ना गर्ने अस्पतालमध्ये सो अस्पताल पनि एक हो ।
पछिल्ला दिनमा संक्रमण फेरि तीव्र रूपमा फैलिन थालेपछि सो अस्पतालमा भर्ना हुने संक्रमितको संख्या पनि दैनिकजसो बढेको छ । एक साताअघि १० जना मात्र संक्रमित रहेको सो अस्पतालमा शुक्रबारसम्म ९० जना पुगिसकेको छ । भर्ना हुने संक्रमितको अनुपात ह्वात्तै बढेपछि अस्पताल प्रशासनले व्यवस्थापनमा तदारुकता देखाएको हो ।
कोरोनाको दोस्रो चरणमा अन्य अस्पतालमा अक्सिजनको व्यापक अभाव हुँदा पनि सो अस्पतालले भने अन्य अस्पताललाई अक्सिजन पठाएको थियो । अक्सिजन अभाव हुन नदिन सो अस्पतालले यसअघि नै तयारीलाई तीव्रता दिएको थियो ।
एपीएफ अस्पतालमा यसअघि १ सय सिलिन्डरको अक्सिजन प्लान्ट रहेकोमा पछिल्ला दिनमा लिक्विड अक्सिजनको प्लान्ट नै जडान गरिएको छ । सो प्लान्टले जति पनि अक्सिजन उत्पादन गर्न सक्छ । सो अस्पतालले अर्काे पनि अक्सिजन प्लान्ट जोड्ने तयारी गरिरहेको छ, जुन निर्माणकै क्रममा छ ।
अहिले बिरामीको संख्या ह्वात्तै बढे पनि अक्सिजन चहिने बिरामी भने निकै कम रहेको प्रवक्ता डा. नेपालले बताए ।
कोरोना संक्रमितको उपचारमा डटेर लाग्ने प्रतिबद्धता जाहेर गर्दै आएको सो अस्पताललाई आफ्ना चिकित्सक÷स्वास्थ्यकर्मी नै संक्रमित बन्ने क्रम बढेपछि व्यवस्थापनमा अप्ठेरो हुने हो कि भन्ने डर पनि छ । बिहीबारसम्म चार जना मात्र संक्रमित रहेकोमा शुक्रबार थप चार जना थपिएको छ । यसले चाहेजस्तो सेवा दिन नसकिने हो कि भन्ने डर अस्पताल प्रशासनलाई लाग्न थालेको छ । ‘यद्यपि, संक्रमितलाई सकेको सहयोग प्रदान गर्न हामीबाट कुनै पनि कन्जुस्याइँ हुनेछैन,’ प्रवक्ता डा. नेपालले भने ।
सो अस्पतालमा कोभिड सुरु भएदेखि अहिलेसम्म ४ हजार ७ सय ३ जनाले उपचार सेवा लिइसकेका छन् ।