रोम । कोरोन भाइरस संक्रमण (कोभिड–१९) को सिकार भएका विश्वका प्रमुख देशहरूले आफ्ना अर्थतन्त्रलाई जोगाउनका लागि अर्बौं डलर खर्च गर्ने योजना अघि सारेका छन् । इटली सरकारले कोरोना भाइरसको प्रकोपले निम्त्याएका आर्थिक असरसँग जुझ्न ११ अर्ब डलर खर्च गर्दै विभिन्न कदमहरू चाल्ने जनाएको छ ।
जापानी प्रधानमन्त्री शिन्जो आबेले अर्थतन्त्रमा ऊर्जा भर्न चार अर्ब डलर खर्च गर्ने बताएका छन् । साना व्यवसायलाई सस्तो ब्याजमा ऋण दिने नीति जापान सरकारले ल्याएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि थप खर्च योजना सार्वजनिक गर्ने तयारी गरेको ह्वाइट हाउसले जनाएको छ ।
इटलीको मिलानकी एक सांसद लिअ क्वारटपेल्लेले अभूतपूर्व परिस्थितिको सामना गरिरहेको इटलीले अभूतपूर्व नै कदमहरू चाल्न लागेको जानकारी दिइन् । उनले भनिन्, ‘भोलि हाम्रो संसद्को आपतकालीन बैठकमा कर तथा तिरो पर सार्ने, बेरोजगार सहुलियत दिने जस्ता विषयमा छलफल हुँदैछ ।’
इटली सरकारले व्यवसायिक प्रतिष्ठानहरूलाई यसपटक अगष्ट महिनाको सट्टा मार्चमा बिदा दिन अनुरोध गर्न लागेको उनले बताइन् । कोरोना भाइरसका कारण ६ सय ३१ जनाको ज्यान गएपछि इटलीमा लाउड स्पिकरको प्रयोग गर्दै मानिसहरूलाई घरमै बस्न अनुरोध गरिएको छ ।
अहिले इटालीको सार्वजनिक जीवनमा दोस्रो विश्व युद्धपछिकै कडा प्रतिबन्धहरू लगाइएको छ । तर अत्यावश्यक कामको लागि यात्रा गर्न कसैलाई छेकिएको छैन । बन्दी भेट्न रोक लगाइएपछि कारागारहरूमा तनाव बढेको छ । मेल्फी कारागार शान्त भएपनि फोज्जको कारागारमा तनाव भएको छ ।
अस्ट्रियाका चान्सलरले चिकित्सकको प्रमाणपत्र बिना इटलीबाट कसैलाई पनि अस्ट्रिया प्रवेश गर्न नदिने बताएका छन् । एक नेतालाई कोरोना भाइरस संक्रमण भएपछि स्पेनको संसद् पनि बन्द गरिएको छ ।






