काठमाडौं । नेपाल प्रहरीमा तल्लो तहका प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन भन्दै तीन नयाँ दर्जाको व्यवस्था कायम गरिएको छ ।
सरकारले ‘प्रहरी नियमावली, २०७१’लाई सोमबार संशोधन गरेपछि तल्लो तहमा थप तीनवटा पद सिर्जना भएको हो । तल्ला तहमा नयाँ पद थप भएसँगै लामो समयदेखि बढुवामा रोकिँदै आएका तल्ला तहका प्रहरी कर्मचारीलाई बढुवाको बाटो सहज हुनेछ ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार प्रहरी जवानभन्दा माथि र हवल्दारको बीचमा सहायक हवल्दार, हवल्दार र असईको बीचमा वरिष्ठ हवल्दार र नायव निरीक्षक (सई) र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को बीचमा वरिष्ठ नायब निरीक्षक गरी तीन नयाँ पद कायम गरिएको हो ।
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि भन्दै तल्ला तहमा नयाँ दर्जा थपको प्रस्ताव गरेको थियो भने गृह मन्त्रालयमार्फत सो प्रस्ताव मन्त्रिपरिषद् पुगी स्वीकृत भएको थियो । तर, सो विषय राजपत्रमा प्रकाशित नहुँदा कानुन सरहको मान्यता पाएको थिएन ।
नेपाल प्रहरीमा हाल ४६ हजार २ सय १९ जवान छन् । यसैगरी १४ हजार ९ सय ८९ प्रहरी हवल्दार र ४ हजार २ सय ९६ सई छन् ।
सो संख्याअनुसार बढुवाका लागि योग्य १५ हजार ५ सय २७ प्रहरी जवान (कुल संख्याको ३३ प्रतिशत) प्रहरी सहायक हवल्दारमा बढुवा हुने छन् ।
यसैगरी, ३ हजार ७ सय ४७ (कुल संख्याको २५ प्रतिशत) प्रहरी हवल्दार वरिष्ठ प्रहरी हवल्दारमा बढुवा हुने र १ हजार ४ सय १७ सई (कुल संख्याको ३३ प्रतिशत) वरिष्ठ सईमा बढुवा हुने केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए ।
‘यो व्यवस्था कायम भएसँगै तल्ला तहका प्रहरी कर्मचारीको मनोबल उच्च हुनेछ भने, संगठनको गति पनि बढ्नेछ,’ प्रहरी प्रवक्ता केसीले भने ।
तीनै तहमा गरी नयाँ सृजना भएका पदमा २० हजार ६ सय ९१ प्रहरी अधिकृत बढुवा हुनेछन् । संशोधित नियमावलीअनुसार कार्यालय सहयोगी (परिचर)को पनि पाँच तह हुने भएको हो । बढुवासँगै उनीहरूका सेवा सुविधा पनि बढ्नेछ । यो व्यवस्था सशस्त्र प्रहरीतर्फ भने थियो तर नेपाल प्रहरीमा भने नयाँ हो । यो व्यवस्था लागू भएपछि एक कार्यालय सहयोगी असईसम्मको सेवा सुविधा लिएर सेवाबाट बिदा हुनेछन् ।
यसैगरी संशोधित नयाँ नियमावलीमा बढुवाको अवधि पनि घटाइएको छ । नयाँ नियमावलीअनुसार नेपाल प्रहरीमा कार्यरत कर्मचारीको सेवाअवधि पाँच वर्ष पुगेपछि बढुवाको बाटो खुल्नेछ । यसअघि बढुवाका लागि आठ वर्ष कायम थियो ।
यसैगरी अनिवार्य अवकाश हुनेको हकमा पनि बढुवा अवधि १२ वर्षबाट घटाएर आठ वर्ष कायम गरिएको छ । तर, यो नियम डीएसपीसम्मको हकमा मात्रै लागू हुनेछ । अनिवार्य अवकासमा जाँदा डीएसपीसम्मका प्रहरी एक तह स्वतः बढुवा हुनेछन् ।
यसैगरी प्रहरी कर्मचारीको बढुवामा यसअघि विभूषणको नम्बर गणना गर्ने गरिएकोमा नियमावली संसोधन गर्दै सो व्यवस्था कटौती गरिएको छ । यसअघिको प्रावधानअनुसार बढुवाको सय पूर्णांकमध्ये विभूषणवापत दुई नम्बर जोडिने गरिएको थियो । सो नम्बर अब ज्येष्ठतामा जोडिन्छ ।






