धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ । प्रदेशका ४ जनामा ओमिक्रोनको संक्रमण देखिएको हो ।
ओमिक्रोन संक्रमण देखिनेमा कञ्चनपुरका २, बझाङ र डोटीका एक÷एक जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए । कार्कीका अनुसार कञ्चनपुरको दोधराचाँदनी नगरपालिकाका ४२ वर्षीय पुरुष, पुनर्वासका २९ वर्षीय पुरुष, डोटीको पुर्वीचौकीका ४८ वर्षीय पुरुष र बझाङको विथ्थडचिरका ३३ वर्षीय पुरुषमा ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।
‘कोरोना पुष्टि भएका १४६ जनाको स्वाब भेरियन्ट पुष्टि गर्न राष्ट्रिय प्रयोगशाला काठमाडौं पठाइएको थियो,’ कार्कीले भने, ‘त्यसमध्ये ४ जनामा ओमिक्रोन पुष्टि भएको छ ।’
चारैजना भारतबाट फर्केका थिए
ओमिक्रोन संक्रमण देखिएका चारै जना भारतको विभिन्न ठाउँबाट धनगढीको त्रिनगरनाका हुँदै नेपाल आएका थिए । उनीहरुको कोरोना संक्रमण पुष्टि भएको १६ दिनपछि ओमिक्रोनको रिपोर्ट आएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रबक्ता नरेन्द्रसिंह कार्कीका अनुसार संक्रमण पुष्टि भएका सबै नेपाल–भारतको सीमानाका त्रिनगर–गौरीफन्टा भएर स्वदेश फर्केका नागरिक हुन् । उनीहरुको गत पुस २५ गते भेरियन्ट पहिचानका लागि काठमाडौं पठाइएकोमा सोमबार ओमिक्रोन भएको रिपोर्ट आएको हो ।
ओमिक्रोन देखिएकाहरू हाल सम्पर्कबाहिर रहेका छन् । उनीहरुलाई सम्बन्धित जिल्ला तथा पालिकासँगको समन्वयमा तत्काल सम्पर्कमा ल्याउन पहल भइरहेको मन्त्रालयका प्रवक्ता कार्कीले बताए ।






