लमजुङ । हिमाल पारिको जिल्ला मनाङमा चिसो अत्याधिक बढेको छ । चिसो बढेपछि तापक्रम माइनस २० डिग्रीमा झरेको छ । खानेपानी समेत पाइपमै जमेर हिउँमा परिणत हुँदा जनजीवन थप कष्टकर बनेको छ ।
स्थानीयबासीहरू भने यतिबेला जाडो छल्न जिल्ला छाडेर बेसीतर्फ झरेका छ । कोही लमजुङमा कोही संघीय राजधानी काठमाडौं, त कोही प्रदेश राजधानी पोखरातर्फ लागेकाले जिल्लामा स्थानीय मानिसको चलहपहल शून्य भएको छ । ‘हामी कर्मचारीहरूले मात्र कार्यालय कुरेर बसेका छौं ।’ प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले भने । उनका अनुसार आज दिउँसोको तापक्रम पनि माइनस १० डिग्री थियो । प्रजिअ आचार्यका अनुसार गए रातीको तापक्रम माइनस २० डिग्रीमा झरेको थियो ।
चिसो बढेपछि कर्मचारीहरू, जनप्रतिनिधिहरूलाई न्यानोसँग बस्न प्रशासन कार्यालयकोतर्फबाट अनुरोध गरिएको उनले जानकारी दिए ।
यतिबेला पर्यटकका लागि बेसिजन हो त्यसैले पर्यटक कोही आएका छैनन् । कोरोनाको प्रकोपलाई ध्यानमा राखेर जिल्लामा प्रवेश गर्ने नयाँ मानिसको हकमा खोपकार्ड अनिवार्य गरिएको छ । कोही खोप नलगाएको मानिस आउँछन् भने उनीहरूलाई खोप लगाएरमात्र जिल्ला प्रवेशको अनुमति दिने प्रवन्ध गरिएको प्रजिअ आचार्यले बताए ।
त्यसका लागि मनाङको प्रवेश नाका नासों गाउँपालिका– १ को तालमा खोप र जाँच केन्द्र सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । उनका अनुसार हिउँले गर्दा चामेसम्म मात्र गाडी चलेको छ माथि जानसक्ने अवस्था छैन । मनाङमा कोरोनाका संक्रमित एकजनामात्र रहेको र उनको अवस्था सामान्य रहेको प्रशासनले जनाएको छ ।
आज दिउँसो ३ बजेसम्म घाम लागेको हुँदा केही सहज अनुभव भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काले बताए । उनका अनुसार हिजोसम्म दिनभर जसो हिउँ परेको हुँदा कष्टकरनै थियो, आज त ३, ४ वटा गाडी पनि आए । उनले भने, ‘अब त मौसममा सुधार हुन्छ भन्ने छ भोलिदेखि थप सहज होला ।’
चिसोले पानी समेत जमेका कारणले गर्दा खानेपानीमा समेत समस्या सिर्जिएको छ । खानेपानीको पाइप भित्रै पानी हिउँ बन्ने र जम्ने गरेको हुँदा खानेपानीको समेत समस्या हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढुंगानाले बताए । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहेका उनले भने, ‘मैसममा सुधार आउनासाथ कार्यालय सहयोगीहरूलाई खानेपानीको मुहानमा पठाएर पानी ल्याउने र काम चलाउने गरिएको छ ।’






