काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरस संक्रमित भएको समयमा सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै कारबाही गर्न माग भएको छ ।
अध्यक्ष ओली कोरोना भाइरस संक्रमित भएको बेलामा आइसोलेसनमा बस्नुपर्ने समयमै सार्वजनिक कार्यक्रममा सहभागी भएपछि आलोचना भइरहेकोे थियो ।
अध्यक्ष ओलीविरुद्धको उजुरी जिल्ला प्रशासन कार्यालय भक्तपुरले दर्ता गर्न अस्वीकार गरेको छ । संक्रामक रोग ऐनविपरीत संक्रमित रहेको अवस्थामै सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै आइतबार निवेदन दर्ताका लागि लगिएको थियो । तर, प्रशासन कार्यालयमा उजुरी दर्ता गर्न अस्वीकार गरेको छ ।
प्रशासनद्वारा उजुरी दर्ता गर्न अस्वीकार
निवेदकद्वय अभिजीत अधिकारी र वीरेन्द्र मडैले पेस गरेको निवेदन दर्ता अस्वीकार गरिएको हो । दर्ता अस्वीकार गरेकाले सोमबार पनि दर्ता प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय जाने अधिकारीले बताए ।
उनले भने, ‘सीडीओ कार्यालयले दर्ता गर्न मानेन । बिहान ११ बजे गएका थियौं । दर्ता गर्न आनाकानी गरे । दिनभर बस्दा पनि गरेनन् । अब आज पनि जान्छौं ।
भक्तपुरको बालकोटमा बस्दै आएका ओली बालकोटमै गत बुधबार आयोजित एक सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए । गत ८ माघमा कोराना संक्रमित भएको रिपोर्ट आएको थियो ।
तर, अध्यक्ष ओली १२ माघमा एमाले निकटको राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भए । ओली सहभागी सो कार्यक्रममा सयौंको सहभागिता रहेको भिडियो सार्वजनिक भएको छ । एमालेले ९ माघमा ओली संक्रमित भएको सार्वजनिक गरेको थियो ।
यस्तो छ कानुन
२०७४ साल भदौमा संसद्बाट पारित भएर त्यसको एक वर्षपछि कार्यान्वयनमा आएको अपराध संहिताको दफा १०६ मा सरकारी निकायले सरुवा रोगको सम्बन्धमा जारी गरेको आदेश वा नियम उल्लंघन गरेमा छ महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुनसक्ने उल्लेख छ ।
यस्तो, आदेश उल्लंघन गरेका कारण कसैको ज्यान गएमा ऐनको दफा १०४ बमोजिम सजाय हुने उल्लेख छ । उक्त दफामा नियतपूर्वक यस्तो कसुर गर्नेलाई अधिकतम १० वर्षसम्म कैद तथा १ लाख रुपैयाँ जरिमाना र हेलचेक्र्याइँपूर्वक गरेको भए तीन वर्ष कैद तथा ३० हजार जरिमाना गर्न सकिने उल्लेख छ ।






