मनमोजी दार्शनिक बरबाद दाम्पत्य

सुकरात मनमानी तरिकाले सडकमा भौंतारिएर हिँड्थे । नियमित रोजगारी थिएन, कमाइको स्थिर जरिया थिएन । समाजमा बडो प्रतिष्ठा र यश थियो । परन्तु उनलाई घरमा खानेकुरा छ छैन, भाउबेसाहाको अवस्था के छ ? कुनै मतलब थिएन । सरकारको आदेश सहजै उल्लंघन गर्न तत्पर हुने विद्रोही स्वभाव थियो उनमा । समाजिक मूलप्रवाहसँग अमिल्दो आनीबानी थियो । बन्धनमुक्त, स्वच्छन्द र फुक्काफाल मस्ताना जीवन थियो उनको । सुकरात सडकमा हिँडिरहेका मानिसलाई अलिकता भएको पैसा खर्च गरेर मद्यपान गराउँथे र लगातार प्रश्नमाथि प्रश्न गर्न थाल्थे । प्रश्न सोधिएको मानिस उत्तर दिँदै जान्थे । उनी थप प्रश्न गर्दै जान्थे । यसै तरिकाले उनी मनुष्यजीवनका जटिल गाँठाहरू फुकाउँदै जान्थे । सुकरातको प्रसिद्ध भनाइ थियो, ‘प्रत्येक मनुष्यमा गुरु बन्ने क्षमता हुन्छ ।’

यो जगत्को प्रत्येक पति समाजमा जति नै इज्जतदार, विद्वान र दार्शनिक कहलिए तापनि पत्नीका लागि एक नासमझ र साधारण सहजीवी मात्र हो । मेरो जीवनसाथीको समाजमा ठूलो मानमनिता छ, सबैले कदर गर्छन्, ऊ बडो सम्मान गर्न योग्य मानव हो भनेर घरमा स्वागतद्वार बनाएर को बस्छ ? सुकरात रातबिरात लुरुलुरु घर आउने गर्थे । भित्र पस्नासाथ पत्नीले कलह सुरु गर्थिन् । तर, अभियुक्त बोले पो अभियोग लगाउनुको पनि मजा हुन्थ्यो ? पति मौन बसेको देखेर पत्नीको क्रोधको पारा झन् आकासमा पुग्थ्यो । एक दिन कति करकर सुनेर बस्नु भनेर चुपचाप बाहिर निस्कन थालेका सुकरातको टाउकामाथि पत्नीले घडाभरिको फोहोर पानी खन्याइदिइन् । तथापि, उनले कुनै प्रतिकार गरेनन् ।

सुकरात समाजमा चलिरहेको आडम्बर, प्रश्नहीन धर्मान्धता र रुढीवादको कटु आलोचना गर्दथे । सामाजिक र धार्मिक परम्परामाथि प्रश्न गर्ने, समाजको जो कोही व्यक्तिलाई बराबरीको दर्जा दिएर घुलमिल र छलफल गर्ने तथा युवाहरूलाई ज्ञानी र गुणी व्यक्तिको मात्र सम्मान गर्नु भनेर सिकाउने गरेको हुँदा उनले प्रशस्त दुश्मन पनि कमाएका थिए । ‘नास्तिक बनेको, ईश्वरको अवमानना गरेको र युवाहरूलाई भड्काएको’ हुँदा उनी सत्ताको कर्के नजरमा परेका थिए । युवाहरू आफ्नो मनमा उठेका जिज्ञासा लिएर सुकरातकहाँ पुग्थे । सुकरातको घरको दुश्चरित र कलहपूर्ण परिस्थिति देखेर शिष्यहरू दिग्दार हुन्थे । शिष्यहरूसँग छलफलमा निमग्न सुकरात पत्नीले बारम्बार बोलाएको पनि सुन्दैनथे । भनिन्छ, त्यही झोंकमा पत्नीले हानेको तातो चियाको दाग सुकरातको गालामा स्थायी चिनोका रूपमा रह्यो ।

जसले धर्मपत्नीलाई झेल्न सक्छ, त्यसले पूरा एथेन्सलाई तह लगाउन सक्छ

शिष्यहरू भन्ने गर्दथे, ‘यतिसम्म हुँदा पनि हामीलाई विवाह गर्नुपर्छ भनेर किन प्रेरणा दिनुहुन्छ गुरुदेव ?’ सुकरातको सहज र सुल्झेको उत्तर थियो, ‘जुनसुकै हालतमा विवाह त गर्नैपर्छ । यदि असल जीवनसाथी पायौ भने तिम्रो जीवन प्रेमले ओतप्रोत र मोहनीय हुनेछ । रसिकतायुक्त आत्मीय प्रेम मानवजीवनको सबैभन्दा आदर्श अवस्था हो । संयोगवश मेरोजस्तै जीवनसाथी पायौ भने तिमी झनै फाइदामा हुनेछौ । त्यसबाट तिमीमा वैराग्यको अभ्युदय हुनेछ । वैराग्य प्रेमभन्दा पनि उच्च मानवीय अवस्था हो । वैराग्य नै परमात्माको नजिक पुग्ने सबैभन्दा सही बाटो हो । यस माध्यमबाट तिमी एक दार्शनिकसमेत बन्नेछौ ।’

विवाहले जीवनलाई सुखमय र रमणीय बनाउँछ भन्ने सार्वभौम मान्यता छ । वैवाहिक जीवन सभ्यताले आविष्कार गरेको सर्वाधिक अनौठो र युगान्तकारी उपक्रम हो । विवाह संस्था नभएको भए मानव इतिहास यो रूपको हुने थिएन । त्यस अवस्थामा मनुष्य सामूहिक परिचयमा सीमित हुने थियो । न वंश, न कुल, न खान्दानी पहिचान र न त पूर्वजको गौरव । तथापि, पश्चिममा वैवाहिक संस्कृतिको विरोध गर्ने र सो परिपाटीको कटु आलोचना गर्ने थुप्रै मनीषी पहिले पनि थिए र अहिले पनि छन् । पक्षपातरहित तवरले विचार गर्दा सुकरातजस्ता दार्शनिक वैवाहिक जीवनका लागि अयोग्य व्यक्ति हुन् । उनका चेला प्लेटो परिवारको (वैवाहिक) साम्यवादका पक्षधर थिए र स्वयं आजीवन अविवाहित रहे । थोमस हब्स, जोन लक, एडम स्मिथ, ह्युम, रेने देकार्त, स्पिनोजा, बेन्थम, कान्ट, सोपेनहावर, फ्रेडरिक नित्से आदि दार्शनिक र चिन्तक आजीवन अविवाहित रहे ।

संयोग नै मान्नुपर्छ प्रायः पश्चिमा दार्शनिक अविवाहित, असफल प्रेमी र दुःखदायी वैवाहिक जीवनका भागी भए । दार्शनिक र चिन्तक आफ्नै धुन र लहडमा मस्त रहने हुँदा उनीहरूले परिवारलाई समय दिन सक्ने अवस्था हुँदैन । आफ्नै सुर र तरंगमा रातभरि पूर्णिमाको चन्द्रमा हेरेर बस्ने र पाएको तलब र लाएको कोट माग्नेलाई दिएर रित्तै र नांगै घर पुग्ने सनकी कवि लक्ष्मीप्रसाद देवकोटाको धर्मपत्नी हुनु कम्ता सकसको कुरा थिएन । परन्तु, यस्ता निपट एकलकाँटे मानिसहरूले नै हो मानव सभ्यतालाई वैज्ञानिक आविष्कार, चिन्तन, काव्य र दर्शनरूपी अमर उपहार दिने ।

सुकरात भौतिक रूपमा कुरूप थिए । आजको जमानामा जस्तै उस बखत पनि दैहिक सौन्दर्यको ठूलो महत्व थियो । सुकरातलाई ज्ञान थियो कि असुन्दर व्यक्तिले सद्गुणको आवरणले आफ्नो भौतिक कुरूपतालाई छोप्नुपर्छ । एकतर्फ कुरूप अनुहार, अर्कोतर्फ गरिबी र व्यक्तिगत निठल्लापन । सुकरात झुत्रा र थांना लुगा पहिरेर खाली खुट्टा यत्रतत्र हिँड्थे । उनी बजारमा बेच्न राखेका सामनहरूको अहिल्यै किन्छन् कि जस्तो गरेर जाँच परख र मोलमोलाइ गर्थे । उनलाई कसैले सोध्दथ्यो, ‘जब किन्नु नै छैन त केको मोलतोल ?’ सुकरात हाँस्दै सरल उत्तर दिन्थे, ‘जब म बजारमा घुम्न निस्कन्छु र अनेकौं मूल्यवान् वस्तुहरू देख्छु, मलाई बडो आनन्द लाग्छ । म आनन्दित हुन्छु किनकि संसारका यतिका धेरै सुन्दर र महँगा वस्तु नपाउँदा पनि म खुसी भएर बाँच्न समर्थ छु ।’ सुकरात आफ्नो समयका सबैभन्दा ज्ञानी, बुद्धिमान र जान्ने व्यक्ति थिए । उनी जति जान्दै र बुझ्दै जान्थे, त्यति नै जान्न र बुझ्न बाँकी कुराहरूको दायरा फराकिलो हुँदै जान्थ्यो । त्यसैले उनी भन्ने गर्थे, ‘म एउटै कुरा जान्दछु, त्यो हो म केही पनि जान्दिनँ ।’

नास्तिक बनेको, ईश्वरको अपमान गरेको र युवाहरूलाई भड्काउने गरेको हुँदा सुकरात सत्ताको कर्के नजरमा परेका थिए

एक दिनको कुरा हो । सुकरातले बडो तन्मयतापूर्वक ऐना हरिरहेका थिए । गुरुले अत्यन्त ध्यानपूर्वक ऐनामा अनुहार नियालिरहेको देखेर उनको शिष्य मुस्कुराउन थाल्यो । सुकरातले प्रिय शिष्यतर्फ हेर्दै भनेका थिए, ‘तिमी मुस्कुराउनुको कारण मलाई थाहा छ युवक ! तिमी सोच्दै छौ कि यस्तो कुरूप मानिसले ऐना हेर्नुको कुनै प्रयोजन छैन ।’ युवक लज्जित हुँदै शिर झुकाएर बसिरह्यो । सुकरात अगाडि भन्दै गए, ‘म जति ऐना हेर्दै जान्छु, मलाई मेरो कुरूपताको ज्ञान झनै ताजा हुँदै जान्छ र म मेरो बीभत्स वास्तविकताको बोध गर्दै जान्छु । अनि म सोच्दछु, कुनै यस्तो असल कर्म गरौं कि मेरो त्यो सत्कर्मको आवरणले कुरूप अनुहार छोपियोस् ।’

युवक सुकरातको जिज्ञासु चेलो थियो । उसले भन्यो, ‘यदि त्यसो हो भने त सुन्दर मानिसले ऐना हेर्नु नै परेन ।’ सुकरातले शिष्यतर्फ हेर्दै भने, ‘हे प्यारो युवक † कुरा त्यस्तो होइन । सुन्दर अनुहार हुनेहरू असुन्दरभन्दा ज्यादा जोखिममा हुन्छन् । सुन्दरता अहंकारको जननी हो । अहंकारको जालोमा बेरिएको मनुष्यले त्यही दैहिक सुन्दरतालाई नै जीवनको सर्वगुण सम्झेर सद्गुणी मार्गको परित्याग गर्ने सम्भावना प्रबल हुन्छ । त्यसैले सुन्दर मानिसले आफूलाई सदैव खराब काम गर्नबाट जोगाउनुपर्छ । सौन्दर्यको दम्भमा मदमस्त हुँदै सद्गुण बिर्सेर दुर्गुणको विकास गर्न पुगियो भने त्यही दुर्गुणरूपी कालिमाको आवरणले सुन्दरतालाई छोपेर कुरूप तुल्याइदिन्छ ।’

दार्शनिक, चिन्तक र आविष्कारक आफ्नो चिन्तन, लेखन र प्रयोगको दत्तचित्तताले गर्दा एकान्त मन पराउन थाल्छन् । कर्मलाई नै सुखदुःखको साथी बनाएका आफंैमा मगनमस्त त्यस्ता व्यक्ति असल जीवनसाथी बन्न गाह्रो छ । वास्तवमा त्यस्ता व्यक्ति दाम्पत्य जीवनको प्रसंगमा भयावह सहजीवी हुन् । आफ्नै स्वास्थ्य र निजी जीवनप्रति बेपरवाह उनीहरू सामाजिक र पारिवारिक दायित्व निर्वाह गर्न विफल हुन्छन् । इतिहास साक्षी छ, त्यस्ता मानिस व्यावहारिक हुँदैनथे, प्रायः पुलिसको निगरानीमा हुन्थे र घरपरिवारका मानिसहरूलाई हैरानी दिन्थे । सुकरात त्यस्तै ‘पगला’हरूका प्रमुख प्रतिनिधि पात्र हुन् ।

सुकरात घर पुग्नेबित्तिकै पत्नी भन्ने गर्थिन्, ‘तिमी यस घरमा सामान होइन, समस्या बोकेर आउँछौ ।’ गुरुपत्नीको निरन्तरको ताडना र शब्दवाण सुनेर हैरान परेसान भएको एक जना चेलाले सुकरातलाई भनेको थियो, ‘यो तपाईंको बुढी बोक्सी हो बोक्सी †’ तर सुकरातले भनेका थिए, ‘तिमी नितान्त गलत छौ युवक † मेरी सहचरी मेरो शिक्षक हुन् । उनी मेरो जीवनकी नियामक हुन् । मेरी जीवनसँगिनी हमेसा मेरो परीक्षण र जाँच परख गरेर पत्तो लगाउँछिन् कि म कति कच्चा, पक्का या सहनशील छु ।’ सुकरात आँखा तेजिला पार्दै गौरवसाथ भन्दथे, ‘जो मेरी धर्मपत्नीलाई झेल्न सक्छ, त्यसले पूरा एथेन्सलाई तह लगाउन सक्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 1,033 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा ९९ हजार मतगणना हुँदा रेणु दाहाल ८७५६ मतले अगाडि