सप्तरीका शम्भुकुमार चौधरी, धरानका राजेन्द्रकुमार श्रेष्ठ र तेह्रथुमका मोहनप्रसाद लिम्बूको शव मोरङ र काठमाडौंको गोदाबरी क्षेत्रमा गाडिएको अवस्थामा फेला प-यो । यसले धेरै मानिसलाई आफूहरू पनि सुरक्षित नभएको जस्तो महसुुस गरायो । कारण आफ्नै सहयोगी र हिस्सेदार साथीहरूबाट उनीहरूको इहलीला समाप्त हुन गयो । यसको कारण आपसी झैझगडा, पैसा लेनदेन वा एकअर्काको परिवारसँगको लसपस वा पुस्तेनी रिसइवी केही पनि थिएन । जग्गा प्लटिङ र बेचबिखनमा लगानी गरिएको साझेदारी लगानी एकलौटी बनाउन यसो गरिएको थियो । मारिएका आफ्ना सहकर्मी साथीहरूको लाश गाड्ने क्रममा उनीहरू अपनाएको शैलीमा एकरूपता देखिँदा घटनाको अध्ययन अनुसन्धान गर्न सहयोग पुगेपछि रहस्यका रूपमा रहेका घटना सार्वजनिक हुन पुगेका छन् । अनुसन्धानको यो सकारात्मक पक्ष हो । तर, पनि यस्ता घटना किन र कसरी घट्न पुग्छन् भन्ने कुरा गम्भीर प्रकृतिको रहेको छ । पछिल्लो समयमा समाजमा नैतिकताले स्थान पाउन छोडेको छ । मानवता हराउन थालेको छ । हरेक मानिसले जुनसुकै तरिका अपनाउन परे पनि आर्थिक उपार्जन सबै थोक हो भन्ने सोच्न थालेको छ । हृदयविहीन यही सोचले मान्छेलाई अरूको ज्यान लिने अमानवीय काम गर्न नकारात्मक रूपमा प्रोत्साहित गरिरहेको छ । अरूभन्दा धनी देखिने, महँगा गाडी चढ्ने, आलिसान भवन निर्माण गर्ने, छिमेकीभन्दा आफू धनवान् र पैसावाल भएको देखाउनेजस्ता देखासिकीसँगै समाजले पनि उसैले नै राम्रो काम गरेको भनेर तारिफ गर्ने गरेकाले यस्ता हर्कतले स्थान पाइरहेको देखिन्छ ।
समाज झन्पछि झन ढोंगी, देखासिकी र कृत्रिम बन्दै गइरहेको छ । छरछिमेकहरू बीचको सम्बन्ध व्यक्ति व्यक्तिहरूबीचको सम्बन्ध, संस्थासंस्थाबीचको सम्बन्ध र देशविदेशको सम्बन्ध पनि स्वार्थी, कूटनीतिक र नाफाघाटा तथा सौदाबाजीका आधारमा बन्ने र भत्कने गरिरहेकाले पनि यस्ता घटनालाई संरक्षण र प्रोत्साहित गर्ने वातावरण बनिरहेको छ । जसको शक्ति उसको भक्ति, जसको बल उसैको संसार, जसको पैसा उही नै पुज्यजस्ता कुराले समाजमा इज्जत र प्रतिष्ठाको स्थान लिन थालेपछि मानवता र दया धर्मले नेटो काटेर भाग्ने स्थिति बनिरहेको छ । फलतः एकाघरका परिवार, सहकर्मी साथीहरू तथा छरछिमेक र चिनेजानेका आफन्त नै यस्ता अमानवीय तथा क्रुर घटनामा संलग्न हुने गरेको पाइएको छ । समाजले लोकलाज, नैतिकता र मान्दै आएको आदर्श छोड्दै गइरहेको छ । हरेक कुराहरूको मापन पैसामा गरिन थालेको छ । र, पैसाको अगाडि सबै कुरा तुच्छ र मूल्यहीन मानिन थालिएको छ । यसले मानिसलाई स्वार्थी, क्रुर, हिंस्रक र दानव बनाउँदै लगिरहेको छ ।
मोरङ र गोदावरीमा नौ दिनको अन्तरालमा भएका तीनवटा विभत्स हत्याकाण्ड आफ्नै चिनेजानेका सहकर्मी साथीहरूबाट भएका थिए । यी घटना समाजमा यसरी घट्न सक्छन् भनेर सामान्य अवस्थामा परिकल्पनासमेत गर्न सकिँदैन । तर, आखिर यस्ता घटना घटिरहेकै छन् । यसको पछाडि अमानवीय सोच र हर्कतले काम त गरिरहेको छ नै यसमा देशका नीतिनिर्माता, उद्योगी व्यवसायी, गन्यमान्य तथा समाजका अगुवाहरूमा हराउँदै गएको नीति, नैतिकता, मूल्यमान्यता आदिमा हुँदै गएको ह्रासले थप बल पु-याउँदै गइरहेको छ । वर्तमान समाजमा व्यक्ति मात्र होइन, सिंगो राज्य, राज्यसत्ता तथा राज्य सञ्चालक उत्तरदायी हुनु नपर्नेजस्ता गम्भीर कुरा नीति निर्माण गर्ने थलोमै देखिन थालेपछि समाज पनि यो अराजक रूपमा अभिव्यक्त हुन थालेको छ । त्यसैले, नीतिनिर्माणको थलोदेखि सर्वसाधारणसम्म नीतिको पालना र नैतिकताको प्रयोग अनिवार्य हुन गएको छ । यसले मात्र दानवताको ठाउँमा मानवता वास गर्न सक्छ ।