१२ वर्षे पनौती मकरमेला

राजधानी सहरबाट ३१ किलोमिटर दक्षिण पूर्वमा पर्ने पनौती पुग्न अरनिको राजमार्गबाट बनेपा हुँदै जानुपर्छ । यो सहरलाई क्षेत्रफलका आधारमा अवलोकन गर्ने हो भने ३१ दशमलव ७३ वर्ग किलोमिटरमा फैलिएको छ । यो पनौती नगर धार्मिक एवं सांस्कृतिक तथा ऐतिहासिक रूपले ज्यादै नै महत्व बोकेको छ । एउटै ढुंगामा अवस्थित सहर पवित्र तथा अलौकिक रहेको छ । भनिन्छ, १९९० साल र २०४५ सालका महाभूकम्पमा समेत यहाँ खासै क्षति भएको थिएन । मूलतः यस सुन्दर नगरिमा १२ वर्षे मेलाको रमझमले दुहलीझैं सिँगारिएको छ ।

यसरी यो ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा १२ वर्षे मकर मेला माघ १ गतेबाट लागि रहेको छ । फलतः माघ महिनाभर चल्ने यो मेला सभ्य र भव्य बनाउन नगरपालिकाले हाल विविध व्यवस्थापनको तयारीलाई तीव्र पारिरहेको छ । सो मेलाका लागि नगरले गत वर्षदेखि नै बजेट विनियोजन गर्दै तयारी थालेको हो । सो नगरले मेलाका लागि गत वर्ष ५ करोड र यस वर्ष ३ करोड बजेट छुट्याएको थियो । सो बजेटबाट पनौतीमा भौतिक पूर्वाधारलगायतको व्यवस्थापन तयारी भइरहेको नगरले जनाएको छ ।

विश्वसम्पदा सूचीमा प्रस्तावित र नेपाल सरकारद्वारा स्मारक क्षेत्रको रूपमा धोषणा गरिएको पनौती सहर धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण छ । पनौती सहरलाई देवराज इन्द्रको तपोभूमि अहिल्याको मुक्तिभूमि र शचीको प्यारो भूमिको रूपले चिनिने किंवदन्ती छ । यो मेलामा पुण्यमाता र रोसीको संगममा स्नान गर्नाले पाप पखालिन्छ भनेर लाखौं भक्तजन मेला भर्न आउँछन् । यस अर्थले गर्दा प्रत्येक १२ वर्षमा एकपटक पाइला टेक्न आउँछन् र स्नान गरी पुण्य कमाउने प्रचलन अद्यावधिकै रहेको पाइन्छ । यसको साथ साथै यहाँको त्रिवेणी घाटमा हिन्दू धर्मावलम्बीको ठूलो मेलाका रूपमा मकर मेला नुहाउने गर्छन् । तर, यो मेला कहिलेदेखि मनाउन थालिएको हो भन्ने कुनै खास प्रमाण भने रहेको पाइँदैन । यस सहरको आसपासमा गोरखनाथ, शारदादेवी, स्थानलगायतका मठमन्दिर रहेका छन् ।

ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगरी पनौती १२ वर्षे मकर मेलाको १२ वर्षे मेलाको रमझमले दुहलीझैं सिँगारिएको छ

राजा मानदेवको पालादेखि प्रत्येक १२ वर्षमा मकरमेला मनाउन सुरु गरिएको जनश्रुति रहेको पाइन्छ । गौतम ऋषि नाम गरेका ऋषिपत्नी अहिल्यालाई छल गरी यौनसम्पर्क गरेपछि ऋषिले उनलाई श्राप दिएछन् । गौतम ऋषिले दिएको श्रापबाट मुक्त हुन इन्द्र र इन्द्र पत्नी इन्द्रायणीले १२ सय वर्ष पनौतीमा आई तपस्या गरेपछि माघ १ गते इन्द्रले पापबाट मुक्ति पाएकाले त्यसैबेलादेखि मकर मेला मनाउन थालिएको हो ।

राजा प्रताप मल्लले १७२७ सालमा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन् । यसरी तीन नदीको संगमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्यावती नदी गुप्त रूपमा बगिरहेको मान्यता रहेको छ । यसरी नै भारतको प्रयागमा गंगा र यमुना नदीको संगममा गुप्त रूपले सरस्वती नदी बहेझैं पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुण्यमाता नदीलाई लिलावती र गुप्त रूपले बगेकी ब्रह्मायणी मन्दिरको मुनिबाट दूध बग्ने नदी पद्यावती मानिँदै आइएको छ । यसको साथै मकर मेलामा पनौतीको त्रिवेणीघाट पद्मावती, लीलावती र रुद्रावतीमा आई नुहाएर देवीदेवताको पूजाआजा गरेमा सबै पापबाट मुक्त हुने जनविश्वास रहेको छ ।

यसको साथसाथै अधिपछि पद्मावती र लीलावती नदी देखिए तापनि हरेक १२ वर्षमा कुञ्जगिरि पर्वतको फेदबाट ब्रह्यायणी मन्दिरको मुनिबाट रुद्रावती नदी बग्ने गरेको धार्मिक विश्वास छ । गुप्त रूपमा बग्ने दूधरूपी नदी भएकाले रुद्रावती नदीलाई ३२ लक्षणले युक्त व्यक्तिले मात्र देख्न सक्ने जनविश्वास छ । रुद्रको पत्नी पार्वतीले इन्द्रपत्नी शचीको तपस्याबाट प्रसन्न भएपछि आफैं नदीका रूपमा प्रकट भई शचीतीर्थको सृष्टि गरेको अर्को किंवदन्ती छ । पद्रमावती लीलावती र गुप्त नदी रुद्रावती मिलेर त्रिवेणी संगम स्थलमा शचीतीर्थको सृष्टि भएको नगरवासी बताउँछन् ।

रुद्रावती स्नानलाई औषधि मानिने भएकाले शुभलग्नको बेला पारी नुहाउन सकेमा गम्भीर प्रकृतिका रोग पनि निको हुने विश्वास गरिन्छ

एक किंवदन्तीअनुसार कुनै समय पाटन र पनौतीमा पानीको हाहाकार भयो । आफ्नो राज्यमा अनिष्ट हुन लागेपछि त्यतिबेला पाटनका राजा सत्यवर र पनौतीका राजा दीर्घरथ फुल्चोकी माईलाई आफ्ना समस्या सुनाउन पुगे । अतः माईले दुवै राजालाई जसले मलाई पहिले सुन र चाँदीका फूल चढाउँछ उसैको राज्यतिर पानीको खोला बगाइदिने वचन दिए । त्यस्तै गरी पाटनका राजाले कालिगढलाई सुन र चाँदीको फूल बनाउन आदेश दिए तर पनौतीमा भने कालीगढ थिएनन् । पनौती किसानको राज्य थियो । यसर्थ, सुन र चाँदीको फूल नभएर पनि पनौतीका राजा सुनजस्तै देखिने तोरीको फूल र चाँदीजस्तो देखिने मूलाको फूल लिएर फुल्चोकी माईकहाँ पहिले पुगेछन् । आफूले भनेजस्तो भएपछि माइले पनौतीमा रुद्रावती नामको खोला बगाइदिइन् । यसरी फुल्चोकी माईले हरेक वर्ष माघ महिनाभर त्रिवेणीमा मेला भर्न पाउने वरदान दिइन् । आफ्नो राज्यमा पानी आएपछि पनौतीवासीले उत्सव मनाए ।

यसरी उता पाटनका राजा सक्कली सुन र चाँदीका फूल लिएर फुल्चोकी पुगेपछि निरास भए । पनौतीका राजालाई पहिले नै वरदान दिइसकेकी हुँदा पाटनका राजा दुःखी भए तर उनले फुल्चोकी माईको शिरमा पनौतीका राजाले चढाएको नक्कली सुन चाँदीका फूल ओइलाइसकेको थाहा पाए । यो कुरा माईले पनि थाहा पाएपछि पनौतीमा बगाएको रुद्रावती खोला फिर्ता लिइन् र पाटनतिर भने गोदावरी खोला बगाइदिइन् । पाटनमा पनि हरेक १२ वर्षमा कुम्भ मेला भर्न पाउने वरदान माईले पाटनवासीलाई दिइन् । यसर्थ रुद्रावती खोला सुकेपछि पनौतीका राजा फेरि फुल्चोकी गए । यसरी नै आफ्नो राज्यमा कालिगढ नभएकाले तोरी र मूलाको फूल चढाउनुपरेको कुरा माईलाई अवगत गराए । यो कुरालाई मनन गरी माईले पनौतीमा हरेक वर्ष हुने भनिएको मकर मेला १२ वर्षमा एकपटक मात्र गर्न पाउने वरदान दिइन् । पुनः उतारिन् लीलावती नामको अर्को खोला पनि बगाइ दिइन् । हाल त्रिवेणीमा भूमिगत रूपमा बग्ने रुद्रावती खोला प्रत्येक १२ वर्षको मकर मेलामा बग्ने विश्वास गरिन्छ ।

अन्त्यमा भन्नुपर्दा मकर मेलालाई देशकै प्रमुख पर्वमध्ये एक मानिन्छ । सो मेला आयोजकको भनाइअनुसार कोरोना भाइरस संक्रमणको उच्च जोखिम नभए ५० लाख भक्तजन तथा दर्शनार्थीले पनौतीको मेला अवलोकन गर्ने अनुमान गरिएको छ । भनिन्छ कि विभिन्न बेलाको जनश्रुतिअनुसार प्रत्येक ६÷६ वर्षको फरकमा पनौतीमा मकर मेला र ललितपुरमा गोदावरीको कुम्भ मेलाका रूपमा लाग्छ । हाल पनौतीमा यो मेला एक महिनासम्म लाग्ने मेलामा विशेषगरी स्नान गर्ने र गोरखनाथ, इन्द्रेश्वरलगायतका मन्दिरमा पूजाआजा गर्ने चलन छ ।

हरेक १२ वर्षको माघ महिनामा मात्र रुद्रावतीमा औषधि बग्ने विश्वासका कारण लाखौं भक्तजन पनौतीमा मकर स्नानका लागि पुग्छन् । मेला अवधिभर पवित्र मानिएको त्रिवेणी घाटमा स्नान गरेमा मात्र मकर मेलाको फल प्राप्ति हुने जनश्रुति रहेको छ । तीनवटा नदीको संगमस्थल त्रिवेणीमा फुल्चोकीबाट बग्ने लीलावती, नगरकोटबाट बगेको पुण्यमाता र मकर मेलामा मात्रै उत्पत्ति हुने रुद्रावती मिल्ने गरेको छ । यसरी रुद्रावतीलाई औषधिरूपी मान्दै रुद्रावतीमा शुभलग्नको बेला पारी नुहाउन सक्यो भने जस्तोसुकै रोग पनि निको हुने जनधारणा रहेको पाइन्छ । यसले गर्दा पनि यो मेलाको महत्व झनै बढेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 554 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम