सप्तरी, राजविराज । राजविराजस्थित ऐतिहासिक भगवती पोखरी कुरुप र दुर्घन्धित भएको छ । आवश्यक रेखदेख, सरसफाई र संरक्षणको अभावमा उक्त पोखरी कुरुप र दुर्घन्धित बनेको हो ।
नगरवासीका लागि छठ तथा अन्य पर्व र विवाहका समयमा विभिन्न विधीका लागि सर्वाधिक प्रयोग गरिने उक्त पोखरी अहिले सर्वसाधारणले फोहर फ्याल्ने र दिशापिसाब फर्ने थलोको रुपमा प्रयोग गर्न थालेका छन् ।
राजविराज नगरपालिका कार्यालयको नाक सामुन्ने रहेको भगवती मन्दिरको पछिल्लो भागमा अवस्थित उक्त ऐतिहासिक पोखरी फोहर फ्याल्ने ठाउँ मात्र होईन । आधि पानी नै सुकेपछि प्रयोगविहीन अवस्थामा पुगेको स्थानियले बताएका छन् ।
बिहीबार मटकोर (विवाहको अघिल्लो दिनमा जलाशयमा गरिने विधी) कार्यक्रम गर्न बेहुलासहित पुगेका महिलाहरु पोखरीको अवस्था हेर्दा छक्क परे । “पोखरी वरिपरि झारपातले ढाकेको छ भने सरसफाई नहुँदा दुर्घन्धले पूजा विधी सम्पन्न गर्न पनि निकै समस्या भो,’ स्थानिय महिला रधियादेवी साहले भनिन्, ‘त्यसमा पनि आधी पानी सुकेका कारण फोहरलाई टेक्दै पानी सम्म पुग्नु प¥यो ।”
छठ पर्वको समयमा स्थानिय र नगरपालिका कार्यालयका सफाईकर्मीले मिलेर पोखरीको सरसफाई गर्छन् । त्यसमा सेना र प्रहरीले पनि सघाउछन् । तर, त्यसपछि वर्षैभरि पोखरीहरु उपेक्षित हुन्छन् ।
विगतमा तराईमा रहेका इनारहरुको संरक्षणमा ध्यान नजाँदा अधिकांश इनार लोप भइसकेका छन् । पोखरीहरुको पनि त्यस्तै अवस्था आउन नदिन सम्बन्धीत निकायले नियमित सरसफाइ र संरक्षणमा ध्यान दिनुपर्ने स्थानियले माग गरेका छन् ।






