काठमाडौं । पछिल्ला दिनमा विभिन्न विकास आयोजनामा वातावरणीय पक्षलाई नजरअन्दाज गरिएको घटनाप्रति नेपाल वातावरण पत्रकार समूहले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पृथ्वी राजमार्गको मुग्लिनदेखि पोखरा खण्डको सडक विस्तारका क्रममा माघ २५ गते तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकाको कोत्रेमा लोपोन्मुख खैरो गिद्धको गुँड भएको सिमलको रुख विनास गरिएको घटनाले चर्चा पाइरहेको समयमा समूहले विज्ञप्ति निकाली विरोध जनाएको हो । गत वर्ष पनि उक्त रुखमा गिद्धको फूल भएको र त्यसबाट बच्चा कोरलेपछि मात्रै रुख काट्न संरक्षणकर्मीले जिम्मेवार निकायलाई दिएको सुझावको बेवास्ता गर्दै सडक आयोजनाले रुख काटेर विचल्ली बनाएकोमा देशभरका संरक्षणकर्मी मर्माहत भएका छन् ।
त्यसैगरी, अर्को सडक विस्तार आयोजनाको कार्यान्वयनका क्रममा टिकौलीको जंगलमा खनिएको खाडलमा परेर दुर्लभ वन्यजन्तु गैंडा मारिएको थियो । २०७८ माघ ९ गतेको यो घटनाले पनि संरक्षणकर्मीलाई चिन्तित बनाएको छ । ‘वन्यजन्तु कोरिडोरमा सडक निर्माणका क्रममा तिनको निर्वाध आवागमनलाई व्यवस्थित गर्न अन्डरपास जस्ता वातावरणमैत्री संरचनाको निर्माण गर्नु स्वागतयोग्य छ,’ समूहका अध्यक्ष कसमस विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर, वन्यजन्तुलाई पासो थापेजस्तै खाडल खनेर त्यो त्यतिकै छोड्नु सडक आयोजनाको गम्भीर लापरबाही हो ।’
सडक विस्तारका क्रममा कुन हदसम्म लापरबाही गरिन्छ भन्ने प्रतिनिधि पात्रका रूपमा यी घटनालाई लिन सकिने भन्दै समूहले दुवै सडक आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन र त्यसमा आधारित वातावरण व्यवस्थापन योजना कार्यान्वयनमा प्रश्नचिह्न खडा भएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यी घटना’bout जिम्मेवार सडक विभाग र राज्यका अन्य निकायले समयमै सत्यतथ्य सार्वजनिक गर्ने, दोषीलाई विद्यमान कानुनको कठघरामा उभ्याउनुको साटो छानबिनका नाममा आलटाल गर्ने, एक अर्कामाथि दोष थोपार्ने, निर्माण व्यवसायीको दोष देखाउने लहर चलेको छ ।’
विकास आयोजना वातावरणमैत्री हुनुपर्छ र तिनको कार्यान्वयनका क्रममा वातावरणीय ऐन, कानुनको पालना जिम्मेवार पक्षबाट गरिनुपर्छ भन्ने अटल मान्यता यस समूहले राख्दै आएको छ । तनहुँ शुक्लागण्डकीमा सिमलको रुख काट्न अनुमति दिने निकाय, सडक निर्माणको अनुगमन गर्ने सडक आयोजनाका जिम्मेवार अधिकारी र निर्माण व्यवसायीलाई तत्काल निलम्बन गरेर छानबिन गरी दोषीमाथि विद्यमान कानुनअनुसार कारबाही गर्न समूहले माग गरेको छ ।
समूहले सडक आयोजनामा लगानी गरिरहेको एसियाली विकास बैंकको नेपाल कार्यालयलाई पनि वातावरण व्यवस्थापन योजना कार्यान्वयनमा ध्यानाकर्षण गराएको छ । त्यसैगरी चितवनको टिकौली क्षेत्रमा गैंडा मारिएकोमा सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही गरिने अपेक्षा गरिएकोमा घटनाको एक महिना बित्न लाग्दा पनि दोषीमाथि कारबाहीको कुनै गुन्जायस नभएको भन्दै समूहले यो घटना’bout गठन भएको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न र दोषीलाई कारबाही अघि बढाउनसमेत समूहले माग गरेको छ ।






