राजपा र समाजवादी एकीकरण, छलफल सुस्त, नेतृत्व र वरीयता विवाद यथावत्

काठमाडौं । एकले अर्काको प्रस्ताव अस्वीकार गर्दा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीचको एकीकरण प्रक्रियामा ढिलाइ भएको छ । दुई पार्टीबीच छलफल हुँदै आए पनि पछिल्ला दिनमा छलफल भएको छैन ।
एकले अर्कालाई दोष लगाइएका कारण पनि पार्टी एकता हुन नसकेको हो । त्यस्तै, दुई पार्टीका शीर्ष नेताहरूबीच नेतृत्व र वरीयता क्रमको विवादका कारण पनि एकीकरणमा अन्योल देखिएको हो ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दुई पार्टीबीच एकीकरणका लागि छलफल भए पनि टुंगो लाग्न नसकेको बताए । राजपाभित्रै सहमति हुन नसक्दा एकीकरण टुंगो लाग्नमा समस्या भएको उनको भनाइ थियो ।

‘राजपाभित्र ६ जना अध्यक्ष हुनुहुन्छ, उहाँहरूबीचमै सहमति हुन नसक्दा एकीकरण टुंगो लाग्न सकिरहेको छैन,’ यादवले भने, ‘उहाँहरूमा सहमति जुटे एकीकरण पनि छिट्टै हुन्थ्यो ।’

दुई पार्टीबीच एकीकरणका लागि विगतमा धेरै छलफल भए पनि अहिले छलफल सुस्ताएको छ । राजपा अध्यक्षमण्डलका पूर्वसंयोजक राजेन्द्र महतोले समानताका आधारमा एकता हुने विषयमा समाजवादीको असहमति रहेको बताए । दुवै पार्टी समान हैसियतका भएकाले समानताको आधारमा एकीकरण प्रक्रिया टुंगो लाग्ने उनले बताए ।

‘दुवै पार्टीको समान हैसियत भएकाले समानताका आधारमा एकीकरण टुंगो लगाउनेमा समाजवादीको सहमति छैन, यसमा समाजवादी सहमत भएलगत्तै एकीकरण घोषणा हुन्छ,’ महतोले भने, ‘जनताकै चाहनाअनुसार हामी एकीकरणका लागि अगाडि बढे पनि केही कुरामा अझै सहमति भएको छैन ।’

अधिकांश विषय टुंगो लागिसकेको बताउँदै उनले केही प्राविधिक विषयमा मात्रै टुंगो लगाउन बाँकी रहेको बताए । समाजवादीभित्रको आन्तरिक सहमतिसँगै एकीकरण घोषणा भव्य रूपमा गरिने महतोले बताए । राजपाका तर्फबाट वार्ता टोली संयोजकसमेत रहेका महतोले सबैले आफ्नो हठ त्याग्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

समाजवादी पार्टीका सहअध्यक्ष एवं वार्ता टोलीका संयोजक राजेन्द्र श्रेष्ठले दुई पार्टीबीच एकीकरण गर्न छलफल भए पनि सहमति जुट्न नसकेको बताए । मुख्यतः राजपाभित्रैको आन्तरिक समस्याले सहमति हुन नसकेको बुझाइ श्रेष्ठको छ । समाजवादी पार्टी अध्यक्ष यादव जस्तै श्रेष्ठ पनि एकीकरण हुन नसक्नुको कारण राजपाभित्र आन्तरिक सहमति नहुनुलाई मान्छन् ।

राजपा महासचिव केशव झाले दुई पार्टीबीच छिट्टै एकीकरण हुने बताए । दुई पार्टीबीच विगतमा गम्भीर छलफल भए पनि अहिले सुस्त भएको उनको भनाइ छ ।

समाजवादी पार्टीका महासचिव रामसहाय यादवले अहिले एकीकरण विषयमा केही पनि छलफल नभएको बताए । उनले राजपासँग एकीकरणका लागि समाजवादी सकारात्मक रहेको बताए ।

यस्तो छ राजपा र समाजवादीको एकीकरणका लागि तीन प्रस्ताव

पछिल्लो समय राजपा नेपाल र समाजवादी पार्टी बीचमा भएको छलफलमा तीन नयाँ प्रस्ताव आएको छ । नेतृत्वको व्यवस्थापन सम्बन्धमा आएको तीन प्रस्तावमध्ये एउटा समाजवादीको र दुई राजपाका छन् । तर, एकले अर्काेका प्रस्ताव स्वीकार गर्न सकेका छैनन् ।

समाजवादीको प्रस्ताव (रोलक्रम)
महन्थ ठाकुर
डा. बाबुराम भट्टराई
उपेन्द्र यादव
अशोक राई
राजेन्द्र महतो
राजेन्द्र श्रेष्ठ
महेन्द्रराय यादव
शरतसिंह भण्डारी
उपाध्यक्षमा
अनिल झा र राजकिशोर यादव

राजपाको पहिलो प्रस्ताव
समावेशी सिद्धान्तअनुसार
महन्थ ठाकुर (मधेसी)
डा. बाबुराम भट्टराई (खस आर्य)
अशोक राई (जनजाति)
उपेन्द्र यादव
राजेन्द्र महतो
महेन्द्रराय यादव
शरतसिंह भण्डारी
राजेन्द्र श्रेष्ठ
अनिल झा
राजकिशोर यादव
तथा
महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र राजेन्द्र महतो सहभागी चार सदस्यीय विशेष अध्यक्षमण्डलको कमिटी तथा बाँकी अन्य शीर्ष नेतालाई वरिष्ठ नेताका रूपमा राख्ने ।

राजपाको दोस्रो प्रस्ताव
अल्टर्नेट सिद्धान्तअनुसार
महन्थ ठाकुर
डा. बाबुराम भट्टराई
राजेन्द्र महतो
उपेन्द्र यादव
महेन्द्रराय यादव
अशोक राई
शरतसिंह भण्डारी
राजेन्द्र श्रेष्ठ
अनिल झा
राजकिशोर यादव

महन्थ र बाबुराम साझा नेता
राजपा र समाजवादीका तीनै प्रस्तावको साझा निष्कर्ष दुवै पार्टीले दुई नेतालाई स्वीकार गरेको देखिन्छ । महन्थ ठाकुर र डा. बाबुराम भट्टराईलाई दुवै पार्टीका नेताले स्वीकार गरेको देखिन्छ ।

तीनवटै प्रस्तावमा राजपा पूर्वसंयोजक ठाकुर पहिलो नम्बर र समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराई दोस्रो नम्बरमा छन् । तर, अन्य नेताको मर्यादाक्रम तलमाथि भएको देखिन्छ । अन्य नेतालाई एकले अर्कोलाई स्वीकार नगरेको प्रस्तावमा देखिन्छ । मुख्यतः नेताकै व्यवस्थापनमा समस्या भएकाले एकीकरण प्रक्रिया लम्बिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी