काठमाडौं । पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था झिकेर मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले विधायन व्यवस्थापन समितिले पठाएको पत्रकारले लाइसेन्स लिने व्यवस्था झिकेर विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो ।
सांसदहरूले उठाएका प्रश्नलाई संशोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकारले लाइसेन्स लिने विषय पोर्चुगलमा मात्रै रहेको जानकारी गराएका थिए । कार्य व्यवस्था परामर्श समितिको बैठकले मिडिया काउन्सिल विधेयकबाट पत्रकारले परीक्षा पास गरेर लाइसेन्स लिनुपर्ने व्यवस्था झिकेर राष्ट्रिय सभामा पेस गर्ने सहमति गरेको थियो । सबै पक्ष सहमत भएको भन्दै मन्त्री बाँस्कोटाले खुसी प्रकट गरे ।
पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था आफैंमा नराम्रो नभएको पनि मन्त्री बाँस्कोटाले बताए । ‘सेकेन्ड सेकेन्डमा परीक्षण हुने कुरा र परीक्षणभित्रै जीवन निरन्तरता वा मृत्युको सम्भावना बोकेको क्षेत्रलाई आफैं कम्पिटिटिभ छ भने त्यो व्यवस्था (लाइसेन्स) किन त भन्ने कुरा हो,’ पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था झिक्नुको कारण दिँदै मन्त्री बाँस्कोटाले भने, ‘विश्वविद्यालयबाट आउने कुरा भयो ।’
उनले पत्रकारितालाई समाजको विकासमा सकारात्मक भूमिका खेल्ने र काममा केन्द्रित हने गरी कानुन बनाइएको बताए । संविधानले नै वाक् स्वतन्त्रतालाई प्राथमिकतामा राखेकाले पनि जनताप्रति उत्तरदायी बनेर पत्रकारले आफ्नो धर्म निर्वाह गर्नैपर्ने मन्त्री बाँस्कोटाको
धारणा छ । पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था आफैंमा भने नराम्रो नरहेको उनले बताए । उनले भने, ‘पेसागत शुद्धता र मर्यादाका लागि यो विषय उठेको थियो ।’