काठमाडौं । पूर्वसचिव एवं पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति आर्जनमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले श्रेष्ठविरुद्ध ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।
पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट खुलेपछि भ्रष्टाचार मुद्दा दायर गरेको आयोगले जनाएको छ । पूर्वमन्त्री श्रेष्ठ सार्वजनिक सेवाको शिक्षक पदबाट १८ चैत २०२६ देखि ८ पुस २०७२ सम्म शान्ति तथा खेलकुद मन्त्रालयको मन्त्रीसम्म हुदाँको अवधिलाई हेर्दा कुल आय आर्जन ६ करोड ९० लाख १६ हजार ६ सय २७ रुपैयाँ ४० पैसा देखिएको जनाएको छ । साथै श्रेष्ठले गरेको कुल खर्च (व्यय) ११ करोड ३५ लाख ४४ हजार २ सय ९४ रुपैयाँ ३८ पैसा घटाउँदा ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ बराबरको रकम स्रोत नखुलेको पाइएपछि मुद्दा दायर गरेको आयोगले जनाएको छ ।
आयोगले श्रेष्ठले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले बिगो ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ ९८ पैसा कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको सजाय माग गरिएको छ ।
साथै आयोगले गैरकानुनी सम्पत्तिबाट आर्जनबाट आर्जन गरेको सम्पत्तिबाट बढेबढाएको चलअचल सम्पत्ति घरतर्फ, जग्गातर्फ एवं बैंक मौज्दात ६८ लाख ५० हजार ९ सय ५३ रुपैयाँ ९४ पैसा रोक्का राखि जफत गर्न र बाँकी अपुग विगो ३ करोड ७६ लाख ७६ हजार ७ सय १३ रुपैयाँ चार पैसा र सो को कानुनबमोजिम हुन आउने ब्याजसमेत आरोपितको नाममा रहेको घर, जग्गाजमिन रोक्का गर्न सम्बन्धित निकायलाई लेखी पठाई रोक्का राख्ने र निज श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठको नाममा रहेको जग्गामा बनेको घरसमेत रोक्का राख्न माग गरेको छ ।





