काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि साना कम्युनिस्ट पार्टी संयुक्त आन्दोलनमा उत्रेका छन् । उनीहरूले एमसीसीविरुद्ध शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन तथा आमसभा गर्दै छन् ।
एमसीसीको खारेजीको माग गर्दै साना आठ वामपन्थी दल आन्दोलनका चरणबद्ध कार्यक्रम सार्वजनिक गरेका छन् । साना वामपन्थी दलको एमसीसीविरुद्धको आन्दोलनमा ठूला वामपन्थी दलका असन्तुष्ट नेताहरूको समेत समर्थन रहेको छ ।
मोर्चाबन्दी गर्ने प्रयासमा विप्लव
एमसीसी पारित गर्न पाँच दलीय गठबन्धनमा सहमति गरेपछि ठूला वामपन्थी दलका शीर्ष नेता असन्तुष्ट छन् । उनीहरूले साना वामपन्थी दलद्वारा हुने आन्दोलनमा समर्थन गरेका छन् ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), मोहनवैद्य किरण महासचिव रहेको नेकपा (क्रान्तिकारी माओवादी), चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र कर्णजित बुढाथोकी सुशील नेतृत्वको नेकपा (माओवादी समाजवादी)ले चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै छन् ।
एमसीसी सम्झौताविरुद्धको आन्दोलनमा सहभागी हुन विप्लव नेतृत्वको नेकपाले छलफलसमेत थालेको छ । विप्लव नेतृत्वको नेकपाका नेता एवं प्रवक्ता खडगबहादुर विश्वकर्माले एमसीसीविरुद्धको आन्दोलन तथा राजनीतिक ध्रुवीकरण’bout छलफल भइरहेको जनाएका छन् ।
सोही क्रममा बिहीबार विप्लव, विश्वकर्मा तथा नेकपा एमालेका नेता भीम रावलबीच छलफल भएको छ । रावल निवास टोखामा तीन नेताबीचमा छलफल भएको छ ।
रावलसँगको भेटमा एमसीसी सम्झौता अनुमोदनपछिको विकसित राजनीतिक परिस्थिति’bout छलफल भएको नेकपाका प्रवक्ता विश्वकर्माले बताए । ‘देशभक्त, राष्ट्रवादी र स्वाधीनताका पक्षधर ‘एकीकृत र ध्रुवीकृत’ हुने कुरा भएको छ,’ प्रवक्ता विश्वकर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
यस्तै, नेता रावलले राष्ट्रिय स्वाधीनताका लागि सबै देशभक्त एक हुन मोर्चा बनाउने कुरामा चन्दले जोड दिएको बताएका छन् । चन्दसँगको कुराकानीमा देशभक्तहरू एक हुने कुरा उचित भएको प्रतिक्रिया आफूले दिएको उनले जनाएका छन् ।
नेता रावलले सामाजिक सञ्जालमार्फत विप्लवले राष्ट्रिय स्वाधीनताका लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन आग्रह गरेको उल्लेख गरेका छन् ।
‘नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेता खड्ग विश्वकर्मासँग मेरो घरमा भेटवार्ता भयो । उहाँहरूले राष्ट्रिय स्वाधीनताका लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिनुभयो, देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो,’ रावलले ट्वीटरमा लेखेका छन् ।
विप्लवले रावलाई भेटनुअघि बुधबार नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे, नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई समेत भेटिसकेका छन् । भेटघाटमा राष्ट्रघाती एमसीसीविरुद्ध एकजुट हुने विषयमा छलफल भएको बताइएको छ ।
संसद्बाट एमसीसी पारित भएपछि एकीकृत समाजवादीका नेता खनाल, माओवादीका नेता श्रेष्ठसहितका शीर्ष नेता पार्टी नेतृत्वबाट असन्तुष्ट रहेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताले सत्तारूढ गठबन्धनमा व्याख्यात्मक विश्लेषणसहित एमसीसी पारित गर्न सहमत भएका थिए ।
एमसीसी संसद्बाट पारित गरिएपछि पाँच दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा गठबन्धनबाट बाहिरिने निर्णय गरिसकेको छ । यद्यपि सरकारलाई दिएको समर्थन उसले अझै फिर्ता लिएको छैन ।






