जसपा नेपाल त्यागेका नगर उपप्रमुखसहित १८ जनप्रनिधिको पद रिक्त, निर्वाचन आयोगले निकाल्यो सूचना

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट मुलुकका विभिन्न जिल्लाबाट निर्वाचित भई दल त्याग गरेका १८ जना स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको जनाएको छ ।

आयोगले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै यो विषयमा जानकारी गराएको हो । आयोगको हिजो मंसिर २ गतेको निर्णयअनुसार ती पदहरू स्वतः रिक्त भएको जनाइएको छ ।

आयोगको सूचनामा वि.सं. २०७९ सालको स्थानीय तहको निर्वाचनमा जसपा नेपालको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी दल त्याग गरेको भनी पार्टीको केन्द्रीय समन्वय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त भएको थियो। सोही आधारमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम पद रिक्त भएको उल्लेख छ ।

पद रिक्त भएका जनप्रतिनिधिहरूमा लहान नगरपालिका सिराहाका उपप्रमुख राम चरितर महतो, सखुवानान्कारकट्टी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष रमेशकुमार यादव, धनगढीमाई नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष विजयकुमार महतो, पर्साको कालिकामाई गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष लालबाबु राउत बरै र सोही गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष सञ्जयकुमार पटेल छन् ।

यसैगरी, खोटाङ्ग जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरकार्यपालिका सदस्य वीरेन्द्रकुमार दर्नालसहित सोही नगरपालिका वडा नं. १० का वडा अध्यक्ष मुगा धन राई, वडा महिला सदस्य कल्पना राई, वडा दलित महिला सदस्य गिता वि.क. तथा वडा सदस्यद्वय रामधन राई र शहर मनी राईको पद रिक्त भएको छ ।
यसैगरी, इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोदकुमार नेम्वाङ्ग र सन्दकपुर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष ढालबहादुर गुरुङ्ग, भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष बालचन्द्र राई, उदयपुर लिम्चुङबुङ गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष छत्रबहादुर राई रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

जसपा नेपाल त्यागेका नगर उपप्रमुखसहित १८ जनप्रनिधिको पद रिक्त, निर्वाचन आयोगले निकाल्यो सूचना