काठमाडौं । सिमेन्ट उत्पादक व्यवसायी तथा सरोकारवालाले अब बिटुमिन होइन कंक्रिटको प्रयोग गरेर सडक निर्माण गर्न जोड दिएका छन् । नेपाल सिमेन्ट उत्पादक संघले काठमाडांैमा आयोजना गरेको कार्यक्रममा व्यवसायी एवं सरोकारवालाले यस्तो जोड दिएका हुन् ।
नेपाल सिमेन्ट उत्पादक संघले नेपालमा सडक निर्माण गर्दा सिमेन्ट प्रयोग गर्नुपर्ने धारणा राख्दै एउटा निर्देशिका पुस्तक सार्वजनिक गर्ने क्रममा सरोकारवालाले यस्तो बताएका हुन् । सरकारले भौतिक पूर्वाधार निर्माणअन्तर्गत सडक निर्माणलाई प्राथमिकतामा दिए पनि त्यसको गुणस्तरमा प्रश्न उठ्ने गरेको भन्दै नेपालमा निर्माण हुने सडकको मोडालिटी परिवर्तन गर्न आवश्यक रहेको भन्दै संघले सो निर्देशिका पुस्तक जारी गरेको छ ।
विशेषतः अहिले नेपालमा पक्की सडक निर्माण गर्दा बिटुमिनको प्रयोग गरेर कालोपत्र गर्ने गरिन्छ । तर, सिमेन्ट उत्पादक संघले बिटुमिनको प्रयोगले सडकको दिगोपन नहुने, वातावरणलाई असर गर्ने र बेला बेला स्तरोन्नति गर्नुपर्ने भएको कारणले सरकारको अनावश्यक खर्च पनि बढ्ने उल्लेख गर्दै अब नेपालको सडक निर्माणमा सिमेन्टको प्रयोग गर्नुपर्ने धारणा राखेको थियो ।
संघले इन्स्टिच्युट फर प्रोफेसनल ट्रेनिङ एन्ड म्यनेजमेन्ट (आईपीटीएम) नेपालको प्राविधिक सहयोगमा सो निर्देशिका जारी गर्दै सडक निर्माणमा बिटुमिन प्रयोग गर्दाका बेफाइदा र सडक निर्माणमा सिमेन्ट प्रयोग गर्दाको फाइदा प्रस्तुत गरेको थियो ।
इन्स्टिच्युट फर प्रोफेसनल ट्रेनिङ एन्ड म्यनेजमेन्ट (आईपीटीएम) नेपालका अध्यक्ष किशोर शाक्यले सो निर्देशिका कार्यान्वयन भए नेपालको सडक निर्माणमा एउटा कोसेढुंगा सावित हुने बताए । उनका अनुसार सो निर्देशिकाको कार्यान्वयन गरेमा देशका सबै सडक गुणस्तरीय र दीर्घकालीन हुनेछन् । उनले अब देशका सबै स्थानीय तहमा निर्माण हुने सडक सिमेन्टको प्रयोगबाट बन्नुपर्ने धारणा राखे ।
यसैगरी, निर्देशिकाको प्राविधिक विषयमा प्रस्तुति दिँदै इन्जिनियर डा. पदम शाहीले पनि अब देशमा बन्ने हरेक सडकमा सिमेन्टको प्रयोग गर्नुपर्ने जोड दिए । ‘सुरुवाती चरणमा बिटुमिनभन्दा करिब दुई गुणा महँगा पर्ने भए पनि कंक्रिटको प्रयोगबाट बन्ने सडक दीर्घकालीन र गुणस्तरीय हुन्छ, दीर्घकालीन रूपमा हेर्दा सिमेन्ट प्रयोगबाट बन्ने सडक नै सस्तो पर्छ, बिटुमिन जस्तो दुई÷चार वर्षमै बिग्रिँदैन, यस्तो सकडमा इन्धन तथा तेल पनि कम खर्च हुन्छ, वातावणमैत्री पनि हुन्छ, सवारी साधनको चक्का पनि धेरै तात्दैन, बिटुमिनको प्रयोगभन्दा कंक्रिटको प्रयोगबाट सडक निर्माण गर्दा देश र जनतालाई नै फाइदा हुन्छ,’ शाहीले भने ।
उनका अनुसार बिटुमिनको प्रयोगबाटभन्दा सिमेन्टको प्रयोगबाट बनेको सडकमा सवारी गुडाउँदा तेल पनि १४ प्रतिशत कम खर्च हुन्छ । यसैगरी, इन्जिनियर राजेन्द्रराज शर्माले पनि बिटुमिनको प्रयोगभन्दा कंक्रिटको प्रयोगले बनेको सडक हरेक किसिमबाट प्रभावकारी हुने बताए । सिमेन्टको प्रयोगबाट बनेको सडक सेतो देखिने हुनाले राति सवारी चलाउँदा पनि भिजिविलिटीको समस्या नहुने उनको तर्क छ । उनका अनुसार नेपालमा करिब ५ सय किलोमिटरको सडकमा मात्रै कंक्रिट पेभमेन्ट प्रयोग भएको छ ।
सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रवराज थापाले देशमा सिमेन्ट उद्योगले पर्याप्त मात्रामा सिमेन्ट उत्पादन गरे पनि बजार नपाएको गुनासो गरे । त्यसैले सिमेन्टको खपत बढाउन पनि कंक्रिटको प्रयोग सडक निर्माणमा बढाउनुपर्ने धारणा राखे ।
‘अहिले ६५ वटा सिमेन्ट उद्योगले वार्षिक साढे २ करोड टन सिमेन्ट उत्पादन गर्छन्, तर देशमा त्यसको ४० प्रतिशत अर्थात् १ करोड टन मात्रै खपत हुन्छ, ६० प्रतिशत हामी निर्यात गर्न सक्ने अवस्थामा छौं, यसमा सरकारले सहयोग गरिदेओस्, अहिलेको विकल्प भनेको कि आन्तरिक खपत बढाउनुपर्ने कि निर्यातमा प्राथमिकता दिनुपर्ने नै हो,’ उनले भने ।
उनले आन्तरिक खपत बढाउन विकास खर्च र विकास निर्माणमा ध्यान दिनुपर्ने धारणा राखे । ‘अहिले पूर्वाधारको विकासमा गुणस्तर भएन भन्ने गुनासो पनि आउँछ, सडक १÷२ वर्षभन्दा बढी टिक्दैन भनेर बारम्बार सुनिन्छ, यसलाई कम गर्न अब सडकमा कंक्रिटको प्रयोग आवश्यक छ, त्यसका लागि हामी तयार छौं, सरकारले सहजीकरण गरोस्,’ उनले भने ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्दप्रसाद ढकालले अब ‘क्वालिटी’सँगै ‘क्वालिटी’मा पनि ध्यान दिनुपर्ने बताए । सडकको बारम्बार स्तरोन्नति गर्नुभन्दा दोब्बर कष्ट परे पनि सडकमा सिमेन्टको प्रयोग नै उत्तम हुने उनको भनाइ छ । यसलाई प्राथमिकता दिनुपर्ने उनको जोड छ ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले पनि आफूहरू यसमा सहकार्य गर्न तयार रहेको सुनाए । उनले यसका लागि सरकारी स्तरबाट पनि पहल हुन आवश्यक रहेको तर्क राखे ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि ३ खर्ब लगानी रहेको सिमेन्ट उद्योग क्षेत्रलाई सरकारले पनि विशेष प्राथमिकता दिएर हेर्नुपर्ने बताए । उनले अहिले सिमेन्ट उद्योगको कारणले नै देश सिमेन्टमा आत्मनिर्भर भएको प्रसंग जोड्दै अब सिमेन्टको खपत बढाउन र निर्यातमा सहजीकरण गर्न सरकारले पहल गर्नुपर्ने धारणा राखे । ‘भारतको सिमेन्ट नेपालको भन्दा सस्तो छ, सरकारले सिमेन्ट उद्योगलाई सहुलियत दिएर सस्तोमा सिमेन्ट निर्यात गर्न सकिन्छ, निर्यात पनि बढ्ने भएपछि देशको अर्थतन्त्रमा पनि टेवा पुग्छ,’ उनले भने ।
सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले सिमेन्ट उद्योगले देशको अर्थतन्त्रमा ठूलो योगदान गरेको बताउँदै उद्योगलाई सहज वातावरण सिर्जनाका लागि सरकार सधैं तयार रहेको बताए । ‘सिमेन्ट खपतका लागि बजार उपलब्ध गराउन सकियो भने राम्रो हुन्छ, यसको खपत बढाउन सकियो भने १४ प्रतिशत व्यापार घाटा कम गर्न सकिन्छ भन्ने विषय पनि आएको छ, कंक्रिटबाट बन्ने सडक कष्ट बढी भए पनि दीर्घकालीन रूपमा सस्तो पर्ने देखिन्छ, अब योजना बनाउँदा स्वदेशी उत्पादनमा ध्यान दिन पनि आवश्यक छ,’ उनले भने ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्र श्रेष्ठले सरकारले पनि सडक निर्माण गर्दा सिमेन्ट प्रयोग गर्नका लागि निर्देशिका तयार पारेको जानकारी दिए । ‘यसका लागि हामीले पनि टेक्निकल गाइडलाइन तयार गरेका छौं, हामीले अहिले पनि पानी जम्ने ठाउँमा कंक्रिटको प्रयोग गरेर सडक बनाइराखेका छौं तर, कष्ट बढी नै यसको प्रमुख समस्या छ, अब कसरी अगाडि बढ्न सकिन्छ, छलफल गरौं’ उनले भने ।
उनले अहिले सडकको माग बढी भएकोले पनि सरकारले जति सक्दो कम लगानीमा जोड दिइरहेको बताए । ‘बिटुमिन सडक बढी टिकिरहेको छैन, कंक्रिट पेभमेन्ट गर्दा २८ दिनसम्म राख्नु पर्ने, कतिपय ठाउँमा चाहेर पनि गर्न नसकेको अवस्था छ, बिटुमिनको क्वालिटी राम्रो छैन भन्ने कुरा आइरहेको छ,’ उनले भने । उद्योग मन्त्रालयका सचिव अर्जुन पोखरेलले पनि सिमेन्टको निर्यातमा सरकार सकारात्मक रहेको तर्क राखेका थिए ।






