इलाम । इलामकोे फाकफोकथुम गाउँपालिकाका सातै वटा वडामा व्यक्तिगत घटना दर्ता शिविर सञ्चालन भएको छ । दैनिक वडामा हुने व्यक्तिगत घटना दर्तालाई प्रभावकारी बनाउन वडा वडामा शिविर सञ्चालन गरिएको फाकफोकथुम गाउँपालिकाका पालिकाका फिल्ड सहायक विमल घिमिरेले जानकारी दिए ।
वडा कार्यालयमा पुग्नुपर्ने समस्या र दर्ता छुट भएका नागरिकलाई मध्यनजर गर्दै स्थानीयवासीलाई सहज होस् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको घिमिरेको भनाइ छ । गाउँपालिकाको आयोजनामा सेवा प्रदायक संस्था सीएससी सप्लायर्स, इलामको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा जन्म, विवाह, मृत्यु, बसाइसराई, सम्बन्ध बिच्छेद जस्ता घटनालाई दर्ता गराइने जनाइएको छ । घटना घटेको ३५ दिनभित्र सम्बन्धित स्थानीय तहमा दर्ता गराउनुपर्ने कानुनी व्यवस्थालाई बेवास्था गरेमा सरकारी सेवा सुविधा नपाइने र जारिमाना समेत हुने कानुनी व्यवस्था’bout जानकारी गराउँदै विविध कारणवस छुट भएका नागरिक सेवाबाट वञ्चित नहुन् भनेर शिविर नै सञ्चालन गरेको हो ।
गाउँपालिकाले ३५ दिनभित्रमा घटना दर्ता गराएका सुत्केरी महिलालाई पोषण खर्चस्वरूप ३ हजार, मृत्युदर्ता भएमा किरिया खर्चवापत ५ हजार उपलब्ध गराउने कार्यपालिकाको निर्णय रहेको छ । दलित बालबच्चा जन्मिएर समयमै दर्ता गर्दा पोषण खर्च पाउने राज्यले व्यवस्था गरे तापनि कतिपय दर्ता प्रक्रिया समयमा नहुँदा वञ्चित रहन सक्ने हुँदा सचेत बनाउने उद्देश्यले शिविरै सञ्चालन गरेको घिमिरे बताउँछन् । गत १७ गतेवाट सुरु भएको शिविर २१ दिनसम्म चल्ने पालिकाले जनाएको छ ।
शिविर वडा नम्बर १ को घुर्बिसे पञ्चमी, छाँयादेवी माध्यमिक विद्यालय लुंसुंदाङ र खाम्बाङ माध्यमिक विद्यालय खाम्बाङ, वडा नम्बर २ को चुहान डाँडा आधारभूत विद्यालय चुहानगाउँ, धार्नेखोप आधारभूत विद्यालय, धार्नेखोप र सुभद्रा आधारभूत विद्यालय सम्पन्न भइसकेको छ । त्यस्तै, २३, २४ र २५ गते वडा नम्बर ७ को जनकल्याण माध्यमिक विद्यालय, टंकदियालीको घर रुपटार र ६ र ७ नम्बर वडाको संयुक्त सिंहदेवी माध्यमिक विद्यालय सिकारी भन्ज्याङमा तोकिएको छ भने ६ नम्बर वडाको लागि २६ र २७ गते गाउँघर क्लिनिक सिमसारा र पञ्चकन्या आधारभूत विद्यालय हांवासुलीमा गरिने फिल्ड सहायक घिमिरे बताउँछन् ।