सर्लाही । सर्लाही कांग्रेसको अधिवेशन अनिश्चित बनेको छ । सर्लाहीको मलंगवा नगरपालिकामा नेपाली कांग्रेस जिल्ला कार्य समितिको सभापति र जिल्ला कार्य समितिको पदाधिकारी सहित ९३ पदका लागि सोमबार हुनुपर्ने मतदान स्थगित भएको हो ।
कोइराला पक्षका जिल्ला सभापति पदका उम्मेदवार लक्ष्मण रायले वर्तमान सभापति नागेन्द्र कुमार राय र मधेश प्रदेशका महिला, बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र प्रसाद सिंह तथा मन्त्री सिंहकै दाजु संस्थापन पक्षबाट सभापति पदका उम्मेदवार सुरेन्द्र प्रसाद सिंहले चुनाव हार्ने आशंकामा अनावश्यक बखेडा झिकेर अधिवेशन स्थगित गराएको आरोप लगाए ।
वर्तमान सभापति राय, मन्त्री सिंह र मन्त्रीका दाजुले आइतवार आफ्नो नजिकको नातेदारले मतदान अधिकृतको रोहवरमा मत संकेत गर्ने, निर्वाचन कार्यालयले तोकिएको निर्वाचन क्षेत्र भित्र पदाधिकारी उम्मेदवार र दुबै सभापतिको एक एक जना प्रतिनिधिमा मन्त्री बिरेन्द्र प्रसाद सिंह, कौशल किशोर राय लाई मात्र प्रवेश दिने लगायत ८ वुँदे आचार संहिता बनाएका थिए । अन्तिममा चुनाव हार्ने आशंका भएपछि विबाद गरेर अधिवेशन स्थगित गरिएको आरोप पूर्व सांसद तथा नेपाली कांग्रसका नेता हरेश महतोले लगाए ।
कांग्रेस क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. अमरेश सिंहले इतर पक्षको संख्या देखेर संस्थापन पक्षका उम्मेदवार सुरेन्द्र सिंह डराएर विवाद गरी अधिवेशन स्थगित गराएको आरोप लगाउछन् । सर्लाहीमा जिल्ला सभापतिमा संस्थापन पक्षबाट सुरेन्द्र प्रसाद सिंह तथा संस्थापन ईतरबाट पूर्व जिल्ला सभापति लक्ष्मण रायले उम्मेद्वारी दर्ता गराएका थिए । उपसभापतिमा संस्थापन पक्षबाट दुईजना शेख सदहदुल्ला र डा. सरोज कुमार (राजु)को उम्मेद्वारी परेको थियो भने संस्थापन ईतरबाट नविन अधिकारी र रविनन्दन् चौधरी (पप्पु)को उम्मेद्वारी परेको थियो । त्यस्तै सचिवमा संस्थापन पक्षबाट निरज कार्की र मनोज यादव तथा संस्थापन ईतरबाट नरेन्द्र भट्टराई र कृष्ण राज रायमाझीको उम्मेद्वारी परेको थियो ।






