बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई मुलुककैं पहिलो शुन्य पोलिथिन र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गरिएको छ । शुक्रबार नगर कार्यालयमा आयोजित एक समारोहबीच नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले तिलोत्तमालाई नेपालको पहिलो शुन्य पोलिथिन र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गरेका हुन् ।
जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति रुपन्देहीले खुला पोलिथिन शुन्य अवस्था र पूर्णसरसफाईका सूचकहरु पूरा गरेसँगै तिलोत्तमालाई खुला पोलिथिन शुन्य र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा भएको प्रमाणपत्र प्रदान गरेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख तथा समिति अध्यक्ष एकराज विश्वकर्मा र सदस्य–सचिव अरुणकुमार कर्णले प्रमाणित गरेको प्रमाणपत्र घोषणा कार्यक्रममा नगरप्रमुख बासुदेव घिमिरेलाई प्रदान गरिएको हो । यसअघि समितिका पदाधिकारी एवं विज्ञ सहभागी टिमले तिलोत्तमाको अनुगमन गरेको थियो । नगरपालिकाले बनाएको कार्यविधिमा खुला रुपमा पोलिथिनजन्य फोहोर नफालिएको अवस्थालाई शुन्य पोलिथिन भनिने उल्लेख छ ।
कार्यक्रममा मन्त्री भुसालले नेपालमा तिलोत्तमाबाट सरसफाईंको ईतिहासमा नयाँ कामको सुरुवात् भएको बताउँदै शुन्य पोलिथिन अभियान नागरिकको दायित्वबोधसँग जोडिएको बताए । शुन्य पोलिथिनलाई फोहोरमाथि धर्तीको विजयीको संज्ञा गर्दै मन्त्री भुसालले यो अभियान कसैले न कसैले सुरु गर्नुपर्नेमा त्यो तिलोत्तमाबाट सुरु हुनु तिलोत्तमाबासीका लागि सुखद् रहेको बताए ।
प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले तिलोत्तमाबाट सुरु भएको शुन्य पोलिथिन अभियान राष्ट्रव्यापी हुने विश्वास व्यक्त गर्दै यो घोषणा ऐतिहासिक रहेको बताए । जिल्ला समन्वय समितिका प्रमुख एकराज विश्वकर्माले लुम्बिनीलाई पर्यटकीय केन्द्रको रुपमा प्रख्यात बनाउन शुन्य पोलिथिन अभियान रुपन्देहीका सबै स्थानीय तहहरुमा सञ्चालन गर्नुपर्ने बताउँदै यसमा आफूले अग्रसरता लिने प्रतिबद्धता जनाए । तिलोत्तमामा शुन्य पोलिथिनलाई स्थायित्व दिन विभिन्न सार्वजनिक स्थान, घर, पसलमा डष्टबिन राखिएको छ । नगरका सार्वजनिक स्थानमा कम्तिमा एक हजार डष्टबिन राख्ने नगरपालिकाको योजना छ । फोहोर संकलन कार्यसँगै संकलित फोहोरको व्यवस्थापनका लागि जनसहभागिता वास सहकारीसँगको सहकार्यमा एकीकृत फोहोर प्रशोधन केन्द्र निर्माण थालिएको छ ।
बालबालिकालाई पोलिथिन जथाभावी फाल्नु हुँदैन भन्ने सिकाउन स्थानीय पाठ्यक्रममा समेत यो विषयलाई समेटिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । यहाँका विद्यालय तथा टोल–टोलमा माई पकेट, माई फष्ट डष्टबिन अर्थात् मेरो खल्ती, मेरो पहिलो डष्टबिन भन्ने कुराको प्रचार गरिएको छ । सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरिएको छ भने जथाभावी फोहोर फ्याक्नेलाई कारवाही गर्न आवश्यक स्थानीय कानुन निर्माण गरिएको छ ।
नगर प्रमुख घिमिरेले नगरबासीको सक्रिय सहभागिताका कारण शुन्य पोलिथिन अभियानले मूर्त रुप लिएको बताउँदै यो अभियानमा झण्डै एक लाख नगरबासी सहभागी भएको बताए ।






