काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेस र नेकपा (एमाले) एउटै सिक्काका दुई पाटा जस्तै रहेको टिप्पणी गरेका छन् ।
जसपाबाट विभाजन भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र मधेसको अर्को पार्टी जनमत पार्टी विचार र सिद्धान्त प्रस्ट नभएको पार्टी भएको टिप्पणी गर्दै भट्टराईले राप्रपालाई रुढीवादी पार्टी भएको उल्लेख गरेका छन् ।
जसपाको शनिबार काठमाडौंमा बसेको संघीय परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । अन्य पार्टीलाई विभिन्न आरोप लगाएका भट्टराईले समाजवादी समाज निर्माण तथा मुलुकको समृद्धिका लागि जसपा सशक्त रूपमा अगाडि बढ्ने निष्कर्षसमेत निकालेका छन् ।
कांग्रेस र कम्युनिस्टको ‘ब्रान्ड नेम’बाहेक कांग्रेस र एमालेको नीतिमा कुनै भिन्नता नभएको उनको निष्कर्ष छ । कांग्रेस र एमाले एउटै सिक्काका दुई पाटाजस्तै रहेको टिप्पणी गर्दै उनले दुवै दलले वर्तमान संविधानलाई संसारको उत्कृष्ट संविधान भन्दै दीपावली गरेको उल्लेख गरेका छन् ।
‘दुवै दल संघीयता, समावेशिता, प्रत्यक्ष, सहभागितामूलक लोकतन्त्र, समानुपातिकता, सकारात्मक विभेद, सामाजिक न्याय, सीमान्तकृत समुदायको आरक्षण, उत्पीडित राष्ट्रियताको पहिचान, अधिकार र मुक्तिको प्रश्नमा उस्तै र उत्तिकै अनुदार देखिएका छन् । कांग्रेसले अभ्यास गरिरहेको नवउदारवादी अर्थनीतिभन्दा फरक एमालेले कुनै तात्विक भिन्नता भएको अर्थनीति प्रस्तुत गर्न सकेको छैन,’ भट्टराईले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
उत्पीडित राष्ट्रियताको पहिचान, अधिकार र मुक्तिको प्रश्नमा, शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तनको प्रश्नमा नेकपा माओवादी केन्द्र कांग्रेस र एमालेभन्दा थोरै लचिलो र उदार देखिएको उल्लेख गर्दै अध्यक्ष भट्टराईले यी सवालमा पनि माओवादी केन्द्रले अवसरवादी नीति अख्तियार गर्ने गरेको उल्लेख गरेका छन् ।
‘एमालेसँग एकताको अवधिमा माओवादी केन्द्रले यी सबै सवाल छोडेको थियो र एमाले जस्तै भएको थियो । बाँकी प्रश्नमा भने माओवादी झनै अनुदार, संकीर्ण, शास्त्रीय र अवसरवादी वामपन्थी समूहका रूपमा देखिएको छ । नेकपा (एकीकृत समाजवादी) को विचार, सिद्धान्त र एजेन्डा के हो, त्यो एमाले र माओवादी केन्द्रसँग के कति कारणले समान वा फरक भन्ने अझै प्रस्ट छैन,’ भट्टराईले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको संसद् विघटनसँग विमति राखेको एमालेबाट फुटेको दल भएको हुँदा एकीकृत समाजवादीको विश्लेषण पद्धति आधारभूत रूपमा एमालेको जस्तै रहेको उल्लेख गर्दै उनले यो दलले कुन बाटो रोज्छ, यसको राजनीतिक भविष्य के कस्तो हुन्छ अझै केही समय पर्खेर हेर्नुपर्ने अवस्था रहेको उल्लेख गरेका छन् ।
यस्तै एमसीसी प्रकरणमा एमाले, माओवादी, र एकीकृत समाजवादी पार्टीले चरम अस्थिरता, अवसरवाद र द्वैध चरित्र प्रदर्शन गरेको आरोप लगाउँदै भट्टराईले देशको अन्तर्राष्ट्रिय सम्बन्ध, राज्यको विश्वसनीयता र प्रतिष्ठा, भूराजनीति र विकासजस्तो गम्भीर र संवेदनशील विषयमा समेत सस्तो राजनीति गरेको टिप्पणी गरेका छन् ।
साना वामपन्थी वा कम्युनिस्ट समूहमा कुनै उल्लेखनीय नयाँ विचार र सृजनशील क्षमता देखिएको छैन । तिनीहरूसँग देशको राजनीतिक कार्यदिशालाई प्रभावित गर्न सक्ने क्षमता नदेखिएको उल्लेख गर्दै उनले पुरानै वैचारिक आग्रह छोड्न नसकेको कारणबाट उत्पन्न कुण्ठा, निराशा, हतास, विभ्रम र उद्विग्नताबाहेक साना वामपन्थी समूहसँग थप कुनै गुण नदेखिएको टिप्पणी गरेका छन् ।
नेपालको कम्युनिस्ट आन्दोलन कुहिरोको कागजस्तो बन्न पुगेको उल्लेख गर्दै उनले एकातिर उनीहरूले माक्र्सवाद–लेनिनवाद–माओवादप्रति शाब्दिक निष्ठा व्यक्त गर्न छोडेका छैनन् भने अर्कोतिर यी विचारको विश्व सान्दर्भिकता, व्यावहारिक प्रयोग र प्रयोजनशीलता’bout व्यापक अन्योल, अविश्वास, निराशा र हिनताभाष व्याप्त रहेको टिप्पणी गरेका छन् ।
नेपालका कम्युनिस्ट समूहसँग अब कुनै आशा, अपेक्षा र भरोसा राख्न नसकिने बताउँदै उनले प्रतिवेदनमा लेखेका छन्, ‘आफै भ्रमित व्यक्ति, आन्दोलन र संगठनले देश र जनताको सही नेतृत्व गर्ने कुरै हुँदैन । लोकतन्त्रको विश्वव्यापी मान्यताप्रति पनि उनीहरू प्रतिबद्ध छैनन् ।’
कम्युनिस्ट समूहबाट सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध र भूराजनीतिक जटिलताको सम्बोधन पनि सम्भव देखिँदैन । यिनीहरूसँग कुनै ठोस आर्थिक नीति तथा विकास र समृद्धिको मोडेल नै नभएको उल्लेख गर्दै उनले सरकारमा भएका बेला यिनीहरूले पनि आसेपासे पुँजीवाद, भ्रष्टाचार, कमिसनखोरीकै अभ्यास गर्दै आएको आरोप लगाएका छन् ।
भट्टराईले नेपालका नेपालका कम्युनिस्ट पार्टीलाई एउटै पेन्सिलका फरक फरक टुक्रा भएको टिप्पणी गरेका छन् । ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा नेपालमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, ठूला कम्युनिस्ट समूह रहेको र नेमकिपा, नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेकपाका अन्य घटक बैठक, विप्लव, आहुति, माले आदि अनेक समूह रहेको र यी सबै समूहको विचार र उत्पत्तिको आधार एउटै रहेको जिकिर उनले गरेका छन् ।
यी सबै समूह रुसी अक्टोबर क्रान्ति, सोभियत प्रणाली, चिनियाँ ‘नयाँ जनवादी क्रान्ति’ र माओ त्से–तुङ विचारधारा÷माओवादबाट प्रभावित रहेको उल्लेख गर्दै उनले सन् १९९० को दशकमा सोभियत संघको पतनपछि एमालेले ‘जनताको बहुदलीय जनवाद’मार्फत ‘संसदीय प्रणाली’को बाटो समातेको उल्लेख गरेका छन् ।
‘माओवादी केन्द्र एमालेसँगको एकता, नेकपाको निर्माण र विभाजनपछि झन्डैझन्डै त्यही स्थितिमा पुगेको छ । औपचारिक रूपमा ‘जनताको बहुदलीय जनवाद’ स्वीकार नगरे पनि त्यसभन्दा फरक कुनै मौलिक विचारधारा माओवादी केन्द्रसँग बाँकी छैन । हाम्रो पार्टीको दृष्टिकोणमा एमाले मूलतः बहुदलीय जनवादमार्फत नेपाली कांग्रेसजस्तै उदार संसदीय लोकतन्त्रवादी दलमा रूपान्तरण भएको छ’ भट्टराईले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
यस्तै राप्रपा रुढीवादी धारको प्रतिनिधि दल भएको उनले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । पुराना शासक वर्ग र परिवार– राणा, शाह र पञ्चको विरासतको गर्भबाट यो दलको उदय र अस्तित्व कायम भएको भन्दै उनले जनतामा निहीत धार्मिक भावनाको राजनीतिक दोहन गरेर शक्तिमा फर्किन चाहने यो दल पछिल्लो चुनावमा निक्कै कमजोर भएको टिप्पणी गरेका छन् ।
शक्तिले सानो भए पनि विचारले यो दल सबैभन्दा दक्षिणपन्थी, प्रतिक्रियावादी र पश्चगामी दल रहेको टिप्पणी गर्दै अध्यक्ष भट्टराईले भनेका छन्, ‘यो मूलतः लोकतन्त्रविरोधी, सामन्ती तथा रूढीवादी निरंकुशतावादी विचारको दल हो । यो दल लोकतन्त्र, गणतन्त्र, संघवाद, समावेशिता, समानुपातिकता, सामाजिक न्याय, सीमान्तकृत समुदायको आरक्षण, बहुसाँस्कृतिवाद, समाजवाद र धर्म निरपेक्षताविरुद्ध छ । यो दलले बेलाबेला ‘राजा आऊ, देश बचाऊ’ जस्ता भ्रम फैलाउने गर्दछ । लोकतन्त्र, गणतन्त्र र संघवादलाई बदनाम गर्न अनेक कुतर्क र प्रोपोगन्डा गर्ने गर्दछ । त्यसो हुने कुनै सम्भावना छैन ।’
यस्तै जसपाबाट विभाजन भएर लोसपा गठन गरेका महन्थ ठाकुर नेतृत्वको पार्टीलाई अध्यक्ष भट्टराईले विचार, सिद्धान्त र एजेन्डा प्रस्ट नभएको पार्टी रहेको दाबी गरेका छन् ।
उनले राजपाबाट विभाजित भई गठन भएको लोकतान्त्रिक–समाजवादी पार्टी (लोसपा)’bout भनेका छन्, ‘यो दलसँग विचार, सिद्धान्त र एजेन्डाको प्रस्टता छैन । मूलतः प्रतिगमनकारी ओली सरकारलाई साथ दिने कि नदिने भन्ने प्रश्नमा मतभिन्नता भई यो समूह हामीबाट फुटेको हो । ओली सरकारको दुई÷दुई पटकको असंवैधानिक संसद् विघटन गलत थियो, ओली सरकारमा सामेल हुनु त झनै आत्मघाती थियो भन्ने व्यवहारबाटै पुष्टि भइसकेको सन्दर्भमा यो पार्टी’bout थप विश्लेषण गरिरहन आवश्यक देखिन्न ।’
तराई मधेसका केही जिल्लामा जनमत नामको पार्टीले केही राजनीतिक गतिविधि गरिरहेको पाइएको उल्लेख गर्दै उनले यो पार्टीका वास्तविक राजनीतिक अभीष्ट के हुन भन्ने अझै प्रस्ट नरहेको टिप्पणी गरेका छन् ।
‘स्वतन्त्र मधेस’को नाराबाट यसको नेतृत्व चर्चामा आए पनि पछि त्यसले ओली सरकारसँग आत्मसमर्पण गरेको र गान्धी र माण्डेलालाई आदर्श ठान्ने भनिएको जनमत पार्टी भीडतन्त्र र अराजक क्रियाकलाप गर्न थालेको आरोप उनले लगाएका छन् ।
संघीय परिषद्को बैठकमा भट्टराईको प्रतिवेदनमा छलफल गर्दै आइतबार र सोमबार काठमाडौंमै बस्ने केन्द्रीय समितिको बैठकमा थप छलफल हुनेछ । र केन्द्रीय समितिको बैठकमा अध्यक्ष उपेन्द्र्र्र्र यादवले पेस गर्ने राजनीतिक प्रतिवेदनमा छलफल गर्दै बैठक सम्पन्न हुनेछ ।
कांग्रेस-एमाले
कांग्रेस र कम्युनिस्टको ‘ब्रान्ड नेम’बाहेक कांग्रेस र एमालेको नीतिमा कुनै भिन्नता छैन । दुवै दल संघीयता, समावेशिता, प्रत्यक्ष, सहभागितामूलक लोकतन्त्र, समानुपातिकता, सकारात्मक विभेद, सामाजिक न्याय, सीमान्तकृत समुदायको आरक्षण, उत्पीडित राष्ट्रियताको पहिचान, अधिकार र मुक्तिको प्रश्नमा उस्तै र उत्तिकै अनुदार देखिएका छन् । कांग्रेसले अभ्यास गरिरहेको नवउदारवादी अर्थनीतिभन्दा फरक एमालेले कुनै तात्विक भिन्नता भएको अर्थनीति प्रस्तुत गर्न सकेको छैन ।
माओवादी केन्द्र
उत्पीडित राष्ट्रियताको पहिचान, अधिकार र मुक्तिको प्रश्नमा, शासकीयस्वरूप र निर्वाचन प्रणाली परिवर्तनको प्रश्नमा नेकपा माओवादी केन्द्र कांग्रेस र एमालेभन्दा थोरै लचिलो र उदार देखिएको छ । एमालेसँग एकताको अवधिमा माओवादी केन्द्रले यी सबै सवाल छोडेको थियो र एमालेजस्तै भएको थियो । बाँकी प्रश्नमा भने माओवादी झनै अनुदार, संकीर्ण, शास्त्रीय र अवसरवादी वामपन्थी समूहका रूपमा देखिएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी
‘यो दलसँग विचार, सिद्धान्त र एजेन्डाको प्रस्टता छैन । मूलतः प्रतिगमनकारी ओली सरकारलाई साथ दिने कि नदिने भन्ने प्रश्नमा मत भिन्नता भई यो समूह हामीबाट फुटेको हो । ओली सरकारको दुई÷दुई पटकको असंवैधानिक संसद् विघटन गलत थियो, ओली सरकारमा सामेल हुनु त झनै आत्मघाती थियो भन्ने व्यवहारबाटै पुष्टि भइसकेको सन्दर्भमा यो पार्टी’bout थप विश्लेषण गरिरहन आवश्यक देखिन्न ।’
एकीकृत समाजवादी
नेकपा (एकीकृत समाजवादी)को विचार, सिद्धान्त र एजेन्डा के हो, त्यो एमाले र माओवादी केन्द्रसँग के कति कारणले समान वा फरक भन्ने अझै प्रस्ट छैन
राप्रपा
‘यो दल मूलतः लोकतन्त्रविरोधी, सामन्ती तथा रुढीवादी निरंकुशतावादी विचारको दल हो । यो दल लोकतन्त्र, गणतन्त्र, संघवाद, समावेशिता, समानुपातिकता, सामाजिक न्याय, सीमान्तकृत समुदायको आरक्षण, बहुसांस्कृतिवाद, समाजवाद र धर्मनिरपेक्षताविरुद्धमा छ । यो दलले बेलाबेला ‘राजा आऊ, देश बचाऊ’ जस्ता भ्रम फैलाउने गर्दछ । लोकतन्त्र, गणतन्त्र र संघवादलाई बदनाम गर्न अनेक कुतर्क र प्रोपोगन्डा गर्ने गरिन्छ ।






