आठ महिनामा ३ सय १५ उजुरी
काठमाडौं । प्रविधिको विकास र बढ्दो सुविधासँगै अनलाइन माध्यमबाट हुने ठगीका घटना बढ्न थालेको छ । नेपाल प्रहरीमा पछिल्लो समय अनलाइन माध्यममार्फत ठगिएको भन्दै उजुरी आउने क्रम बढ्दै गएको छ ।
महानगरीय अपराध महाशाखाका अनुसार चालू आर्थिक वर्ष २०७८÷७९ को फागुनसम्म महाशाखामा अनलाइन माध्यममार्फत ठगिएको भन्दै ३ सय १५ जनाको उजुरी परेको छ ।
महाशाखाका अनुसार पीडितले सामाजिक सञ्जालमार्फत चिठ्ठा परेको भन्दै ठगिएको, सामान पार्सलमा ठगीमा परेको, मोबाइल खरिद बिक्रीमा ठगिएको, फेसबुक आइडी ह्याक गरी ठगीमा परेको, ई–सेवा/ओटीपी कोडबाट ठगीमा परेको तथा अन्य माध्यममार्फत ठगीमा परेको भन्दै महाशाखामा उजुरी गरेका हुन् ।
गत आर्थिक वर्ष २०७७/७८ मा भने एक वर्षको अवधिमा अनलाइन माध्यममार्फत ठगिएको भन्दै महाशाखामा २ सय ४४ जनाले उजुरी गरेका थिए । चालू आर्थिक वर्षको आठ महिनामा नै सो संख्या नाघिसकेको छ ।
महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले अनलाइन माध्यमको बढ्दो प्रयोगसँगै सुरक्षा सतर्कतामा ध्यान कम हुँदा ठगीका घटना बढ्दै गएको बताए ।
‘अनलाइन माध्यमबाट हुने सेवासुविधाको उपयोग बढी भयो, सतर्कता कम भयो, सामाजिक सञ्जालको प्रयोगमार्फत पनि ठगीका घटना बढेको देखिएको छ,’ अपराध महाशखाका प्रमुख एसएसपी कुँवरले राजधानीसँग भने ।
चालू आर्थिक वर्षको यो अवधिमा महाशखामा चिठ्ठा परेको भनी ठगिएका ६१ जना पीडितले उजुरी गरेका छन् । यसैगरी, सामान पार्सलमा ठगीमा परेको भन्दै ३८ जना र मोबाइल खरिद बिक्रीमा ठगिएको भन्दै २५ जनाले महाशाखामा उजुरी दिएका छन् ।
यसैगरी, फेसबुक आईडी ह्याक गरी ठगीमा परेको भन्दै ३८ जनाको उजुरी परेको छ । यस्तै, ई–सेवा÷ओटीपी कोडबाट ठगीमा परेका ४४ जना छन् भने अन्य प्रकारका अनलाइन ठगीमा परेका १ सय १० जनाको उजुरी चालू आर्थिक वर्षमा महाशाखामा परेको छ ।
महाशाखाका प्रमुख कुँवरका अनुसार सामाजिक सञ्जालमा चिठ्ठा प¥यो भन्दै आउने सन्देशबाट पछिल्लो समय धेरै व्यक्ति ठगीमा पर्दै गएका छन् । यसरी आउने सन्देशमा पहिले सम्बन्धित व्यक्तिलाई केही रकम ठगी गर्नेहरूले पठाउने र पछि थप रकम जम्मा गर्न ओटीपी कोड आवश्यक पर्ने भन्दै माग्ने तथा सो कोड प्राप्त गरेपछि बैंक तथा डिजिटल वालेट आफैं सञ्चालन गरी भएको रकमसमेत पीडितको खाताबाट अन्य खातामा पठाउने गरेका छन् ।
यसरी ठगी गर्दा उनीहरूले चिठ्ठाबापत पर्ने करका लागि रकम पठाउनुपर्ने भन्दै विभिन्न बैंकका फरकफरक खाता नम्बरमा रकम जम्मा गर्न लगाउने गरेका छन् ।
यसैगरी, पछिल्लो समय बैंक कारोबारमा हुने अनलाइन प्रविधिको प्रयोगबाटसमेत बैंक खातामा भएको रकम सम्बन्धित खातावालाले जानकारी नै नपाई अर्काले झिक्ने गरेको उजुरी प्रहरीमा पर्न थालेको छ ।
बैंकमा रकम रहेको व्यक्तिको कागजात अर्को कुनै व्यक्तिले प्रयोग गरी बैंक खातालाई अनलाइनमाध्यमबाट प्रयोग गर्ने र अन्य खातामा रकम पठाउने घटना बढ्दै गएको हो ।
यसैगरी, ई–सेवा, खल्ती, आईएमईजस्ता मोबाइल वालेटमा प्रयोग गरिएका मोबाइल नम्बर ठगी गर्ने व्यक्तिले प्रयोग गरेरसमेत त्यस्ता वालेटबाट बैंक खातामा रहेको रकम अन्य खातामा पठाउने गरेको पाइएको छ ।
महाशाखाका अनुसार सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, भाइबरमा चिठ्ठा परेको भनी भ्वाइस कल गरी पीडितलाई फोटो, नागरिकता, फोन नम्बर, बैंक खाता पठाउन लगाई ठगी गर्ने समूहले नक्कली डकुमेन्ट बनाएर ठगी गर्ने गरेका हुन् ।
यस्तै, विदेशबाट सामाजिक सञ्जालमा फ्रेन्ड रिक्वेस्टसमेत पठाई साथी बन्दै लोभ प्रलोभन देखाएर महँगो मूल्यका सामानका फोटो पठाउने र भारतीय नम्बरबाट फोन गरेर भन्सारमा तिर्नुपर्ने रकम आवश्यक पर्ने भन्दै विभिन्न व्यक्तिका खातामा रकम पठाउन लगाउने गरेका छन् ।
महाशाखाका प्रमुख कुँवर यसरी हुने ठगी कम गर्न पहिले सामाजिक सञ्जालको प्रयोगमा सम्बन्धित व्यक्ति आफैं सचेत हुनुपर्ने बताउँछन् । यस्तै, व्यक्तिले रकम जम्मा गरेका बैंकहरूलेसमेत सम्बन्धित व्यक्तिलाई जानकारी गराएर मात्रै कारोबारलाई पूर्णता दिनुपर्ने बताउँछन् ।
‘अनलाइनमार्फत हुने ठगी न्यूनीकरण गर्न सामाजिक सञ्जालको प्रयोगमासमेत व्यक्ति स्वयं चनाखो हुनुपर्ने आवश्यकता छ, व्यक्तिले पैसा राखेका बैंकलेसमेत सम्बन्धित व्यक्तिलाई जानकारी दिने वा गराउने प्रणाली राख्दा अनलाइन ठगी न्यूनीकरण गदै जान सकिन्छ,’ महाशाखाका प्रमुख कुँवरले अघि भने ।
उनका अनुसार मोबाइल सेवा प्रदायक कम्पनीलेसमेत नागरिकता वा कुनै कागजातका भरमा एक व्यक्तिको नाममा रहेको सीमकार्ड अर्को व्यक्तिलाई उपलब्ध गराउँदा निजले पहिले उपलब्ध गराएको सम्पर्क नम्बरमा कागजात परीक्षण गर्दा अनलाइन प्रणालीमार्फत हुने अपराध कम गर्न सकिने बताए ।






