गीत संगीतमा पोखिन थाल्यो होली

काठमाडौं । यस वर्षको फागुपूर्णिमा नजिकिएसँगै चहलपहल पनि सुरु भएको छ । गीत बज्न थालेका छन् । फागुपर्व नेपाली गीतसंगीतमा यतिबेला पोखिन थालेको छ । सोही कारण यो वर्षको फागुपूर्णिमालाई लक्षित गरेर नयाँ गीत बजारमा आएका छन् ।

विगतको तलुनामा यो वर्ष होलीका नेपाली गीत कमै बजारमा आएका छन् । तथापि आधा दर्जन नयाँ गीत बजारमा ल्याइएको छन् । तीमध्ये केही गीत अहिले चर्चामा समेत छन् ।

गायक भुपु पान्डेले नयाँ होली गीत ‘ह्याप्पी होली…’ बजारमा ल्याएका छन् । गीतमा पान्डेको संगीत र संगीत संयोजन रहेको छ । राजेश अर्यालले लेखेको यो गीतको भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा बिजु पार्की, कविता नेपाली, बिना राउत, सरोज प्रजा, उषा उप्रेती, डिमोन क्षत्री, गरिमा शर्मा, प्रिनस विश्वकर्मा, ऋचा थापाजस्ता कलाकारले रंगमा रंगिएर आकर्षक नृत्य गरेका छन् ।

यस्तै, यो वर्षको होलीलाई लक्षित गरेर संगीतकार राजेन्द्र बजगाईं र गायिका सुजता केसीले पनि नयाँ फागु गीत ‘खेलौं होली….’ को भिडियो दुई दिन अघि सार्वजनिक गरेका छन् । गीतको शब्द संगीत र संगीत संयोजन पनि राजेन्द्रले नै तयार गरेका हुन् । जसमा उनीसँगै सुजाता र सविन सुवेदीको स्वर रहेको छ ।

यो गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ । मदन खड्काको निर्देशनमा तयार यो गीतको भिडियोमा गायक राजेन्द्र बजगाईं, गायिका सुजना केसीसहित श्रीदेव भट्टराई, युनिसा बस्नेत, मोनिका श्रेष्ठ, रोयल प्रिन्स सिंहसहित कलाकारले होली खोल्दै नृत्य गरेका छन् । विभिन्न कलाकारको अभिनय रहेको छ । गायक तथा संगीतकार राजेन्द्र बजगाई र गायिका सुजाताले पनि यो भिडियोमा मुख्य भूमिका निर्वाह गरेका छन् । गीत जस्तै भिडियो पनि निकै आकर्षक बनेको छ ।

‘वर्षमा एकपटक आउने यो पनि हाम्रो मौलिक चाड पर्व हो । यो पर्वले वसन्त ऋतुको रौनकतासँगै सबैतिर उल्लास ल्याउने भएकाले फागुपूर्णिमाको माहोल अझ बढाउन हामीले यो होली गीत ल्याएको हौं,’ संगीतकार तथा गायक राजेन्द्र बजगाईंले राजधानीसँग भने ।

यस्तै, गायक रोशन शाहले आफ्नो स्वरमा फागुपूर्णिमासम्बन्धी नयाँ गीत ‘फागुनको चिसो हावाले…’ यसै साता बजारमा ल्याएका छन् । राजेश शर्माले लेखेको यो गीतमा वसन्त ऋतुको चर्चा गरिएको छ । गीतको भिडियोमा कलाकारहरू विभिन्न रङमा रंगिएर नाचगान गरेका छन् । गीतलाई सुशन लिम्बुले संगीत गरेका हुन् ।

भिडियोमा विकास शर्मा, एलिसा घिमिरे, सुहाङ लिम्बु, सुस्मिता श्रेष्ठ, रमेश रायमाझी, रिया श्रेष्ठलगायतले अभिनय गरेका छन् ।

यता गायक कपिल आरके मगर, विमल तामाङ, पार्वती मगर र सुसिशा मगरले पनि यसै साता यो वर्षको होलीलाई लक्षित गरेर नयाँ नेपाली फागुगीत ‘होली रे होली रे…’ को भिडियो बजारमा ल्याएका छन् । विराज पौडेलले लेखेका यो गीतमा कपिलकै संगीत छ । गीतमा विभिन्न कलाकारहरूले रङमा रंगिएर आकर्षक नृत्य गरेका छन् ।

यी त प्रतिनिधिमूलक गीत मात्र हुन् । यो वर्षको होलीलाई लक्षित गरेर अन्य गीत पनि बजारमा आएका छन् । मूलतः यस्ता गीत फागुपूर्णिमा सकिएपछि नबज्ने भएकाले विगतको तुलनामा यस वर्ष होलीगीत कमै आएको संगीतकार बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 440 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्वअर्थमन्त्री पाण्डेको निधन