अग्रज भन्छन्, ‘समाजमा अनुशासन हराउँदै गएको छ । पढेलेखेका नै भ्रष्टाचारमा संलग्न भएको अवस्था छ । यसो हुनु दुःखको कुरा हो । समाजमा आधुनिकताको नाममा भौतिकवादी आचरणको हाबी हुँदा विश्वास एवं सदाचार पातलिँदै गएको छ ।’ अग्रजको उल्लेखित कथन र वर्तमान समाजको चरित्रमा कतै न कतै मेल खाएको अनुभव हुन्छ । यसरी हेर्दा राज्यले अवलम्बन गरेको शिक्षाले चरित्रवान, नैतिकवान, एवं परोपकारी नागरिक उत्पादन गर्न नसकेको देखिन्छ ।
हाम्रा अग्रजहरू
समयमा अहिले जस्तो आधुनिक शिक्षालय थिएनन् । तर, उनीहरू धार्मिक ग्रन्थका निर्देशनबाट ‘गाइडेड’ थिए । ज्ञानका माध्यम कथा, दन्तकथा, मान्यजनको दीक्षा, जीवनको भागाइ एवं अनुभवहरू विश्वविद्यालय थिए । समाज नैतिक चेतनाले प्रशिक्षित थियो । समाजमा स्वर्ग र नर्क’bout चर्चा हुने गर्दथ्यो । व्याख्या विश्लेषण हुने गर्दथ्यो । पाप र धर्मको गहन संवाद हुने गर्दथ्यो । यसरी अग्रज पुस्ताले निर्माण गरेको समाज परोपकारी चिन्तनबाट प्रशिक्षित थियो । समाजमा इमानदारिता र बसुधैव कुटुम्बकम्को चिन्तन प्रबल थियो ।
हजुरबुबा, हजुरआमा उमेरका अग्रज पुस्ताको कथन छ, ‘अहिलेको समाजभन्दा पहिलेको समाज नीतिवान, आदर्शवान, परोपकारी थियो रे ।’ कस्तो अचम्म † ऊ बेलामा विद्यालय, विश्वविद्यालय थिएनन् । शिक्षा सबैको पहुँचमा थिएन । समाजमा साक्षरता प्रतिशत आजको तुलनामा अत्यन्त न्यून थियो । यस्तो अवस्थामा पनि समाज अहिलेभन्दा कसरी उन्नत भयो होला ? अहिले मुलुकमा दर्जनांैको संख्यामा विश्वविद्यालय छन् । हजारौंको संख्यामा विद्यालय छन् । यदि, अग्रजको कथनलाई मान्ने हो भने शिक्षितमा अनुशासन नभएको ठहर्छ । राज्यले किन अब्बल चरित्र भएका नागरिक उत्पादन गर्न सकेन ?
हजारौंको संख्यामा विद्यालय भए पनि राज्यले अब्बल चरित्र भएका नागरिक उत्पादन गर्न सकेन
अहिले ठूलो संख्यामा शिक्षार्थीले विभिन्न विषयमा उच्चशिक्षा अध्ययन गरेका छन् र गर्दै छन् । शिक्षालयहरू डाक्टर, प्राध्यापक, विज्ञ, विशेषज्ञको नेतृत्व पाएका वौद्घिक क्षेत्रहरू हुन् । तर, विडम्बना † यी प्राज्ञिक ठाउँहरू अहिले लथालिंग भएका छन् । शैक्षिक विसंगतिका स्रोत बनेका छन् । मुलुकमा कसरी यस्तो अवस्थाको सिर्जना हुन पुग्यो ? यी प्राज्ञिक ठाउँहरू किन विसंगतिका क्षेत्र बने ? यसको समीक्षा कसले गर्ने ? राज्य राजनीतिक झगडामा नै व्यस्त छ । विज्ञहरू असन्तोष व्यक्त गर्दै बसेको अवस्था छ । शिक्षाको सुधारका उपायहरू खोजी गर्ने क्रममा विज्ञसँग सहकार्य गर्दैन । त्यसैले राज्य यहीं चुक्यो ।
लामो समय शिक्षण पेसामा बिताएका अवकास प्राप्त गुरुको कथन छ, ‘विशेष गरेर माओवादीको जनयुद्ध शिक्षाको नैतिक एवं चरित्रवान नागरिक उत्पादन गर्ने जगमा प्रहार भयो । जनयुद्ध कालमा नैतिक शिक्षाका पुस्तक जलाइयो । संस्कृत शिक्षालाई उपेक्षा गरियो । विद्यालयमा अध्ययन गरिरहेका कलिला बालबालिकालाई बन्दुक थमाइयो । हत्या, हिंसा, लुटपाट गर्ने कला सिकाइयो । पण्डितको टुप्पी काटियो । शिक्षकलाई गोली हानेर मारियो । सामाजिक मनोविज्ञानमा जात, जाति, र वर्गीय चिन्तनको मनोविज्ञान सिर्जना गरियो । अनि समाज कसरी आदर्शवादी बन्न सक्छ ? इमानदार बन्न सक्छ ?’ गम्भीर मुद्रामा अभिव्यक्त भएको गुरुको विचारलाई सत्य मान्ने हो भने जनयुद्धभन्दा पूर्वकालीन समाज पूर्णरूपमा नैतिकवान थियो त ? भन्ने प्रश्न उठ्न सक्छ । तथापि, गुरुले समाजलाई हेर्ने उल्लेखित दृष्टिकोणलाई नकार्न सकिँदैन ।
त्यसो त अहिले राजनीति, प्रशासन, व्यापार, व्यवसाय, अड्डा, अदालतलगायतका हरेक क्षेत्रहरू विवादित छन् । यस क्षेत्रमा संलग्न व्यक्ति व्यक्तित्वहरू माओवादी जनयुद्धको प्रत्यक्ष प्रशिक्षण नभएकाहरू नै धेरै होलान् । लोक सेवा परीक्षा पास गरेर अथवा जागिर खाने प्रक्रिया र पद्घति पु¥याएर योग्य साबित भई पदमा पदस्थापन भएका कर्मचारी पढेलेखेका शिक्षित जमात हुन् । उच्चशिक्षा हासिल गरेका प्रमाणपत्रधारी व्यक्तिहरू हुन् । तर, यिनी शिक्षित वर्ग संलग्न कर्मचारी तन्त्रमा भ्रष्ट आचार–विचार व्याप्त छ । समाजमा राष्ट्र सेवक हँसिला, मिजासिला, जनसेवामुखी र इमानदार नभएको जनगुनासो छ । कार्यालयको काममा भोलिवादी प्रवृत्ति छ । प्रशासनिक ढिला सुस्तिकै कारण कुनै पनि विकास निर्माणका कार्य समयमा सम्पन्न हुन सकेका छैनन् । यसरी हेर्दा देशका शिक्षालयबाट उत्पादित जनशक्ति किन इमानदार बन्न सकेन ? किन कर्तव्यनिष्ठ हुन सकेन ? शिक्षामा प्रजातान्त्रिक चरित्रवान नागरिक उत्पादन गर्ने उद्देश्यमा राखिएको छ । तर, शिक्षाको उद्देश्य किन पूरा हुन सकेन ? उद्देश्य पूरा गर्ने पाठ्यक्रम, पाठ्यपुस्तक एवं शिक्षण सिकाइमा कमीकमजोरी रह्यो कि ? राज्यले ग्रहण अनुसन्धान गरेन र गर्दैन । यहीनेर राज्य चुक्यो ।
आधुनिक शिक्षाबाट उत्पादित जनशक्ति भौतिकवादी चिन्तनबाट ‘गाइडेड’ रहेको आध्यात्मक व्यक्तिको भनाइ छ । आत्ध्यात्मिक गुरुको भनाइलाई इतिहासले प्रमाणित गर्दछ । ’cause, अहिलेको शिक्षित नयाँ पुस्ता आयआर्जनका लागि विदेशतिर पलायन भएको छ । पाश्चात्य जीवनशैलीबाट प्रभावित छ । अग्रजहरू औपचारिक शिक्षालयमा अध्ययन गर्न वञ्चित भए तापनि इमानदार थिए । देशभक्त थिए भन्ने दृष्टान्तका लागि भक्ति थापा र अमरसिंह थापाको इतिहास ताजै छ ।
आफ्नो देश, धर्म, संस्कृति, रहनसहन, भेषभूषाप्रतिको माया र भिन्न धार्मिक, सांस्कृतिक सम्प्रदायका मूल्य र मान्यताप्रति सहानुभूति राख्न सक्ने स्वदेशीपनको शिक्षा अनिवार्य सर्त हो
देश भक्तिभावले भरिपूर्ण समाज निर्माण गरेको श्रेय हाम्रा पुर्खालाई जान्छ । उनीहरूले समाजलाई भगवानका कथा सुनाएर धार्मिक बनाउने काम गरे । नैतिक शिक्षामा आधारित दन्त्यकथाका माध्यमबाट चरित्रवान बनाउन भूमिका खेले । पाहुनाहरूलाई अतिथि देवो भनेर मानवताको व्यवहार गर्ने संस्कृतिको विकास गरे । बटुवालाई बास बस्नका लागि पाटी पौवा एवं धर्मशाला निर्माण गरे । पशु र चराचरुंगीको पानी पिउने व्यवस्थाका लागि गाउँमा पोखरी खनी वर्षाको पानी सञ्चय गर्ने प्रबन्ध मिलाए । किसान, गोठाला, भरिया, बटुवा, जन्तीका लागि उकाली ओराली गर्दा आराम गर्न ठाउँठाउँमा चौतारीहरू निर्माण गरे । यसरी आप्mनो गाउँ, ठाउँ समाज र सिंगो देशलाई माया गर्ने समाज निर्माण भएको थियो ।
डिग्री हासिल गर्नु मात्र शिक्षाको लक्ष्य होइन । शिक्षाले चरित्रवान नागरिक उत्पादन गर्नुपर्छ । राज्यले अवलम्बन गरेको शिक्षाले, ठूलालाई इज्जत, सानोलाई माया, सहिष्णु आचरण, लोककल्याणकारी चिन्तन, परोपकारी अभ्यास, सकारात्मक साेंच र सिर्जनशीलता जास्ता गुणहरूको विकास गराउनु अविार्य ठानिन्छ । जननी जन्म भूमिश्च स्वर्गादपि गरियसीको भावले प्रशिक्षित नागरिक उत्पादन गर्न वाञ्छनीय मानिन्छ । आफ्नो देश, भाषा, संस्कृति, धर्म, परम्परालगायत सामाजिक मूल्य र मान्यतालाई माया गर्ने, यिनीको अभ्यासलाई समयसापेक्ष बनाउने कार्य शिक्षाको हो । हाम्रो शिक्षा प्रणाली यहीं चुक्यो ?
शिक्षा व्यक्तिको सर्वांगीण विकासको साधन हो । सर्वांगीण विकासअन्तर्गत कुनै पनि व्यक्ति अध्यात्मिक, सांस्कृतिक, नैतिक, बौद्घिक, सामाजिक, भाषिक एवं मानवीय गुणले सुसज्जित हुन आवश्यक ठानिन्छ । अहिले स्वदेशभन्दा विदेशको झिलिमिली प्यारो लाग्ने शिक्षितको संख्यामा वृद्घि भइरहेको अवस्था छ । शिक्षाले स्वदेशीपनको सुगन्ध बोक्नुपर्छ । यसो हुन सकेको छैन । शिक्षामा स्वदेशीपन भन्नाले देशको माटोलाई भावनात्मक रूपले माया गर्ने नागरिक उत्पादन गर्ने भन्ने अर्थ लाग्दछ । इमानदार एवं सभ्य समाज निर्माणका लागि समाजका हरेक व्यक्तिमा देशलाई माया गर्ने इमानदार हुन जरुरी हुन्छ ।
दोस्रो विश्वयुद्घ पछाडि एसिया र अफ्रिकी देशहरू बाह्य र आन्तरिक निरञ्कुसता वा उपनिवेशबाट स्वतन्त्र हुँदै गए । स्वतन्त्र भएका देशले शिक्षामा स्वदेशीपनको आवश्यकता महसुस गरे । उनीहरूले शिक्षाको माध्यमबाट देश बनाउन कम्मर कसेर लागे । स्वदेशीपनमा आधारित वैज्ञानिक एवं गुणस्तरीय शिक्षाको स्थापना गर्न सफल पनि भए । हाम्रो जस्तो देशमा शिक्षाले हरेक सम्प्रदायमा भाषा, संस्कृति, चाड, पर्व, भेषभूषा आदिलाई स्वीकार गर्न सक्ने सहिष्णु व्यवहार भएका नागरिक उत्पादन गर्नुपर्छ । आफ्नो देश, धर्म, संस्कृति, रहनसहन, भेषभूषा प्रतिको माया र अरू भिन्न धार्मिक, सांस्कृतिक सम्प्रदायका मूल्य र मान्यताप्रति सहानुभूति राख्न सक्ने स्वदेशीपनको शिक्षा अनिवार्य सर्त हो ।
शिक्षामा नागरिकलाई स्वदेशीपनको आत्मानुभूति गराउन सफल व्यक्ति एवं व्यक्तित्वमा भारतमा महात्मा गान्धी, मिश्रमा अब्दुल नासिर, युगोस्लोभियामा मार्सल टिटो, तान्जिनियाँमा जुलियस नेरेर र चीनमा माओत्सेतुङको भूमिका प्रशंसनीय देखिन्छ । हाम्रो देशको सन्दर्भ शिक्षालाई स्वदेशको माया गर्ने, इमानदार एवं असल आचरण भएका दक्ष जनशक्ति उत्पादन गर्न सक्ने व्यक्ति वा नेतृत्व मुलुकले कहिले पाउला ?






