अहंकार दुख्छ

‘म’ भाव अत्यन्त नाजुक घाउ हो । यस्तो सवेदनशील र मर्मान्तक कि छोयो कि दुख्यो । कसैले कसैलाई निन्दा या उपहास गर्नु गालीकर्ताकै वाणीको विकार हो । किन्तु त्यसबाट निन्दा या उपहास पाउनेको अहंकारमा चोट लाग्छ । उसको चेतनाको मर्मस्थलमा पीडा हुन्छ । धन, शक्ति र सम्मानले परिपूर्ण कार्यकाल बिताएका एक उच्चपदीय प्रशासक सेवाबाट अवकाश भए । अवकाश भएको दोस्रो दिनको कुरा हो । सधैं उनको गुणानुवाद र स्तुतिगान गर्ने सहयोगीले नमस्ते पनि गरेन । उसको हाउभाउले भूतपूर्व हाकिमको उपहास गरिरहेको प्रस्ट बुझिन्थ्यो । इन्द्रचोकको भीडभाडमा त्यो उपहास देख्ने र बुझ्ने कोही पनि थिएन । त्यो उपहासलाई बेवास्ता गरेर बिर्सन पनि सकिन्थ्यो । तर, उनलाई अपमानरूपी चोट लाग्यो । पूर्व हाकिम घाउ दुखेर रातभर रन्थनिँदै छपटाइरहे ।

सम्मान र सत्कार प्रायः तत्कालीन र तदर्थ हुन्छन् । प्रयोजन सकियो सम्मान सकियो । कुर्सी छुट्यो नमस्कार छुट्यो । जीहजुर छुट्यो, झुकाइहरू छुटे, स्तुति र प्रशंसा छुटे । जीवनको कटु वास्तविकता थियो त्यो । यो संसारमा बरु असाधारण बन्न बडो सहज छ । साधारण बन्न असहज हुँदा मनमा चोट लाग्यो । आफ्नै अहंकारले पैदा गरेको घाउ दुख्यो । हिजोसम्म आफ्नो अहंकारले अरूलाई हान्थ्यो । आज अर्कोको तिरस्कारले आफंैलाई घोच्यो । कुर्सी तत्कालीन र म्यादी थियो । शक्ति, सान र शेखी तत्कालीन थियो । कुर्सी छाडेर सिंहदरबारबाट बिदा हुँदा त्यसबाट सृजित तदर्थ अहंकार पनि उतै छाड्नुपथ्र्यो । तत्कालीन पदीय बर्कतलाई सार्वकालीन निजी बर्कत र तदर्थ सम्मानमाई स्थायी सम्मान मान्दा पछि घाउ बनेर दुख्यो । मनुष्य जीवन बडो कठिन चीज हो । मौन अवस्थामा पनि अहंकार चिच्याइरहन्छ, घाउ दुखिरहन्छ । सुदूरअन्तरिक्षको कुनै बस्तीको जीवले पृथ्वीतिर हे¥यो भन्ने छ, पृथ्वी स्वपीडक पागलहरूको बस्ती हो ।

तत्कालीन पदीय बर्कतलाई सार्वकालीन निजी बर्कत र तदर्थ सम्मानलाई स्थायी सम्मान मान्दा पछि घाउ बनेर दुख्यो

तमोगुणी मनुष्य स्वभावैले झगडालु, लोलुप र अहंकारी हुन्छ रे । श्रीमद्भागवत भन्दछ, ‘भिद्यन्ते भ्रातरो दाराः पितरः सुन्दस्थता एकास्निग्धाः काकिणिना सद्यः सर्वेरयः कृताः’ आपसी कोमल सम्बन्ध र स्नेहभावमा निमग्न भाइबन्धु, स्त्री, पुत्र, माता, पिता र अन्य सबै कौडीका लागि एक अर्कोका शत्रु बन्दछन् । पुराणअनुसार तमोगुणका विशेषता क्रोध (असहिष्णुता), दम्भ, लोभ, मिथ्याभाषण, हिंसा, याचना, पाखण्ड, भय र आलस्य हुन् । रजोगुणी व्यक्तिमा असन्तोष तृष्णा, अहंकार, भेदबुद्धि, भोग, मद, यशको लोभ र जिद्दीपनाको बाहुल्य हुन्छ । सŒवगुणका वृत्तिहरू शम (मानसिक संयम), दम (इन्द्रिय संयम), तितिक्षा (सहिष्णुता), विवेक, सत्य, करुणा, सन्तोष, त्याग, लज्जा दान र सरलता हुन् । मन प्रसन्न, इन्द्रिय शान्त, देह निर्भय, चित्त अनासक्त र मति स्थिर रहनु नै सŒवगुणतर्फ अभिमुख हुनु हो । लाभ–हानि, सुख–दुःख, जय–पराजय, मान–अपमान र निन्दा–स्तुति सबै अवस्थमा स्थिर रही स्थितप्रज्ञता हासिल गरेको मनुष्य मात्र पूर्णरूपमा निरहंकारी बन्न सक्दछ । जीवनमा यस्तो अवस्था प्राप्त गर्न अत्यन्तै कठिन छ । परन्तु निरन्तर अभ्यास, कर्मशीलता र आत्मबोधको माध्यमबाट स्थितप्रज्ञताको नजिक पुगेका मानिस प्रशस्तै भेटिन्छन् ।

अहंकार खराब हो भनेर बुझ्ने चेतनाको हिस्सा र अहंकार गर्ने हिस्सा फरक हुन्छ । अहंकार नगर भनेर बुझाउन खोजिएको हिस्सासम्म त्यो खबर नै पुग्दैन । खण्ड खण्ड र पत्र पत्रमा बाँडिएको हुन्छ मानवीय चेतना । कामवासनाको दुरुपयोग गर्नुहुँदैन भन्ने चेतना एक खण्डमा बस्छ भने कामवासना अर्को खण्डमा । चोरी गर्नुहुँदैन भन्ने हिस्सा बाहिर सतहमा बस्छ भने चोरी गर्न उक्साउने हिस्सा कतै गहिराइमा । चोरी गर्न प्रेरित गर्ने हिस्सा जागेको बखतमा साधु हिस्सा सुतिदिन्छ । कामवासनाले उन्मत्त भई सभ्यता, कानुन र प्रकृतिविरुद्ध कुकर्म गर्न प्रेरित गर्ने हिस्सा जागेको बखतमा मर्यादाको हिस्सा सुषुप्त बनिदिन्छ । होस आउँदासम्म आफूले आफैंलाई धिक्कार्ने परिस्थिति पैदा भइसकेको हुन्छ ।

काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य सिकाउन कुनै विद्यापीठको दरकार पर्दैन । इष्र्या, दम्भ र द्वेष सिकाउन कुनै तालिमको जरुरत पर्दैन । यी कुराहरू संस्कारका रूपमा स्वतः स्फुरित हुन्छन् । तर, निर्लोभी, अनासक्त र निष्काम हुन प्रशिक्षण र अभ्यास चाहिन्छ । बुद्धले समस्त देशनाहरू लगातार तीनपटक दोहो¥याउने गर्दथे । आफूले भनेको कुरा चेतनाको भित्री परतसम्म पुगोस् र सुषुप्त अचेतनले समेत महसुस गरोस् भन्ने हेतुले नै बुद्धले हरेक कुरालाई बारम्बार भन्ने गरेका हुन् । लोभ, वासना र अहंकार स्वाभाविक भौतिक घटना हुन् भने निर्लोभ, निष्काम र निरहंकार आध्यात्मिक प्रक्रिया । बुद्धि मनुष्य जीवनको कर्ता नभई नियामक हो ।

नाक, कान, मुख, जिब्रो, जनेन्द्रीय, आँखा र हात कार्यकर्ता हुन् । नियामकले चाल नपाउँदै कर्ताले जुलुम गरिसक्ने सम्भावना प्रबल हुन्छ । नियामकलाई छल्न सक्ने कर्ताहरू पाकसाफ मानिएर सम्मानित हुन्छन् । चंगुलमा पर्नेको दशा लाग्छ । यहाँ शालीनता, मर्यादा, अनुशासन, निरहंकार र सभ्यताका नियमको पालना पातमा सिँचाइ गरे जस्तो गरी सतहलाई सुग्घर रख्ने अभिप्रायले गरिन्छ । निरहंकार, निर्लोभ र अनुशासनलाई साकार पार्न जरासम्म सिँचाइ गर्नु जरुरी छ । सतहलाई सुग्घर राख्ने चेष्टा फगत ‘तनका सुकिला मनका मैला’ बन्नु मात्र हो ।

सत्–चित्–आनन्दस्वरूप नित्य सनातन परम सत्यलाई पहिचान र आत्मसाथ गर्न सकियो भने मात्र अहंकारभाव स्वतः तिरोहित भएर जान्छ

अहंकारको गाथा वर्णनातीत छ । निरीह बाल्यकालमा स्तनपान गराएर शिशुको पालनपोषण गरेकी जननीलाई हुर्केर बलियो भएपछि त्यही शिशुले ‘सानी’ देख्छ । पढेर विद्वान भएपछि कखरा चिनाउने गुरु मामुली मान्छे लाग्न थाल्दछ । यहाँ कतिपय अग्रज ‘जंघार तरेपछि लौरो बिर्से’ जस्तै गरी अपहेलित हुन्छन् । अहोरात्र दुःख गरेर छोरालाई पढाएका बाबु हाकिम भएको त्यही छोरो भेट्न जाँदा ‘फाटेका कुर्कुच्चा र चिथरो पहिरनको मान्छेलाई मेरो बा भनी कसरी परिचय गराउने ?’ भन्दै बाबु लुकाउने सुपुतहरू समेत निवास गर्ने समाज हो यो ।

द्रौपदी एक हिम्मती नारीरत्न थिइन् । किन्तु उनमा पाँच महारथीकी रूपवती पत्नी हुँ भन्ने ठूलो घमण्ड थियो । उनी त्यही अहंकारले ग्रस्त भएर दुर्योधनलाई ‘अन्धो बाबुको अन्धो छोरो’ भनेर उपहास गर्न पुगिन् । त्यो एक अहंकारले अर्को अहंकारको मर्मस्थलमा गरेको निर्मम कुठाराघात थियो । महाभारतको संग्राम हुनुमा त्यस उपहासले सर्वोपरि भूमिका खेलेको थियो ।

कृष्ण पाण्डवको स्वाभिमानका रक्षक र तारणहार थिए । तर, उनै कृष्ण दुर्योधनको मार्गका दुर्दान्त कण्टक थिए । महात्मा विदुरको शब्दमा युवराज दुर्योधन महाराज धृतराष्ट्रका दुर्दान्त खटिरो थियो । तर, राजा त्यो खटिरोको शल्यक्रिया गरेर निरोगी बन्न चाहँदैनथे । रोग निचोरेर फालेको भए उनको राजकीय घाउ निको हुन्थ्यो । परन्तु, त्यसले अहंकारमा चोट पार्ने मानसिक घाउ झनै बल्झिने भयो । प्रायः प्रत्येक मनुष्य जीवन एक दुखिरहने धृतराष्ट्ररूपी घाउ हो । मनुष्य आफ्नो अहंकारको रक्षाका लागि जुनसुकै खतरा मोल्न तयार हुन्छ । दुर्योधन, शिशुपाल, रावण र कंस अभिमानका प्रतीक हुन् । तथापि, उनीहरू हार निश्चित हुँदाहुँदै पनि आफ्नो ‘स्वाभिमानको रक्षाका खातिर’ भन्दै ज्यान दिन तयार भए । हिटलर आधुनिक युगका प्रकाण्ड अभिमानी हुन् । परन्तु, उनी आफ्नो हार सुनिश्चित भएपछि पनि शिर झुकाउन तयार भएनन् । उनले ज्यान जोगाउनका खातिर आत्मसमर्पण गरेको भए अत्यन्तै दुष्कर मानसिक घाउ बोकेर जिउन बाध्य हुनुपथ्र्यो । यस जगत्मा उपदेश दिन बहुतै सजिलो छ । किन्तु, अहंकारको घाउ सञ्चो गराउने औषधि दुर्लभ छ । मनुष्य जीवनको यो गाँठो फुकाइदिने महापुरुष कतै जन्मेको थाहा पाइएको छैन ।

अनेकौं महापुरुषका अनन्य गाथा समेत सारा भागवत कथा सुनाएपछि शुकदेव स्वामी परीक्षितलाई सम्बोधन गर्दै भन्दछन्, ‘मैले तिमीलाई ज्ञान र वैराग्यतर्फ प्रेरित गर्न यो अनुपम कथा सुनाएको हुँ । परन्तु यो सारा कथाको प्रपञ्च वाणीको विलास मात्र हो । यसमा पारमार्थिक सत्य केही पनि छैन । मनुष्यले थाहा पाउनुपर्ने सर्वोपरि कुरा परमतŒव हो । सत्–चित्–आनन्दस्वरूप नित्य सनातन परम सत्यलाई पहिचान र आत्मसाथ गर्न सकियो भने मात्र अहंकारभाव स्वतः तिरोहित भएर जान्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 1,221 times, 1 visits today)

epaper

ताजा समाचार

सिंहदरबार दक्षिण गेटमा दुई युवतीमाथि प्रहरीको लछार–पछार