औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म अघोषित लोडसेडिङ

बिराटनगर । औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म अघोषित लोडसेडिङ हुँन थालेको भन्दै पूर्वी नेपालका उद्योगीहरुले यही अवस्था रहिरहे सम्पूर्ण उद्योगहरु बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल उद्योग परिसंघ प्रदेश १, उद्योग संगठन मोरङ र मोरंग व्यापार संघले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी अघोषित लोडसेडिङ अन्त्य गरेर उद्योगहरुमा नियमित विद्युत आपूर्ति हुँने वातावरण मिलाउँन माग गरेका हुन् ।

पूर्वी नेपालका सम्पूर्ण उद्योग बन्द गर्ने उद्योगीको चेतावनी


अघोषित लोडसेडिङ रहिरहे उद्योग व्यावसाय सञ्चालन गर्न नसकिने उद्योगीहरुको भनाई छ । विद्युत प्राधिकरणले अघोषित लोडसेडिङ अन्त्य नगरेमा पूर्वी नेपालका सम्पूर्ण उद्योगहरु बन्द गर्ने उद्योगीहरुले चेतावनीसमेत दिएका हुन् । विगत एक सातायता औद्योगिक क्षेत्रमा प्राधिकरणले दैनिक १२ घण्टासम्म विद्युत कटौती गर्न थालेपछि उद्योगहरु संकटमा परेको नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए । ‘गत मंगलबारदेखि विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा अघोषित रुपमा लोडसेडिङ गरिरहेको छ, यसले ६० प्रतिशत उत्पादन कटौती भएको छ’, घिमिरेले भने, ‘यही अवस्था रहिरहने हो भने उद्योगहरु सञ्चालन गर्न सकिदैछ । सबै उद्योग बन्द गर्नुपर्ने अवस्था आउँछ ।’

उद्योगीहरुका अनुसार गत मंगलबार ४ घण्टा विजुली कटौती भयो । त्यसयता विजुली कटौती बढ्दै गएको छ । अहिले राती दैनिक १२ घण्टासम्म विजुली कटौती हुँने गरेको उद्योगी व्यावसायीले गुनासो गरेका छन् । यही अवस्था रहिरहे सबै उद्योगहरु बन्द गर्न उद्योगीहरु वाध्य हुँने मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले चेतावनी दिए । उनले भने, ‘राज्यले यसरी विद्युत कटौती गर्न मिल्दैन, नियमित विद्युत आपूर्ति गर्ने व्यवस्था मिलाइनुपर्छ, यस्तै समस्या रहिरहे हामी सम्पूर्ण उद्योग बन्द गर्न बाध्य हुन्छौं ।’

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल पनि सरकार र विद्युत प्राधिकरण गैरजिम्मेवार बन्न नहुँने तर्क गर्छन् । ‘विद्युत प्राधिकरणले जुनसुकै मुल्यमा पनि विद्युत खरिद गरेर लोडसेडिङ नगर्ने प्रतिवद्धता जनाएको थियो, तर त्यसको दुई दिन भित्रै दैनिक १२ घण्टासम्म विद्युत कटौती भइरहेको छ, उनी भन्छन्, ‘सरकारले उद्योग व्यवसायको समस्यालाई गम्भीर रुपमा लिनुपर्छ, नियमित विद्युत आपूर्तिको व्यवस्था मिलाइनुपर्छ ।’

काठमाण्डौंको वालाजु औद्योगिक क्षेत्रसहितका अन्य उद्योग प्रतिष्ठानहरुमा यस्तो समस्या नरहेको पूर्वी नेपालका उद्योगीहरुले बताएका छन् । तर, सुनसरी मोरङ औद्योगिक करिडोरमा भने विद्युत प्राधिकरणले विभेदपूर्ण तरिकाले विद्युत कटौति गरेको उद्योगीहरुको गुनासो छ । भारतबाट विद्युत खरिद गर्न नपाएको कारण देखाउँदै प्राधिकरणले विद्युत कटौती गर्ने गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 547 times, 1 visits today)

epaper

ताजा समाचार

विद्यार्थीलाई अनिवार्य ४५ प्रतिशत गाडी भाडा छुट दिन सरकारको निर्देशन