प्रहरी र जनसम्पर्क एक सिक्काका दुई पाटा

जनताको निकटतम सम्पर्कमा रही अहोरात्र जनताकै सेवा र सुरक्षामा खाटिने प्रहरीले जनतासँग सधैं नजिकको हेलमेल एवं सुमधुर सम्बन्ध कायम गर्नुपर्दछ । एकले अर्काको पीरमर्का बुझ्ने, आफूबाट हुन गर्न सक्ने सहयोग पु-याउने तथा आपत् विपतको अवस्थामा सहारा बनिदिए प्रहरी र जनताबीचको सम्बन्ध सुदृढ भएको ठानिन्छ । जनसम्पर्क घनिष्ट हुँदा प्रहरी सरकारको प्रतिनिधिको रूपमा मात्र होइन समाजकै अभिन्न सदस्यका रूपमा परिणत हुन्छ । तर, यो हदसम्मको जनसम्पर्क सुदृढ बनाउन जनताले भन्दा प्रहरीले नै बढी चासो दिनुपर्दछ । जनता र प्रहरीबीचको निकतम पारस्परिक सम्बन्धलाई निरन्तरता प्रदान गर्न सकियोस् भन्ने कुरा कहिल्यै बिर्सनुहुँदैन । जनसम्पर्क सुदृढ बनाउने कुरा प्रहरीको व्यवहार र कर्यासम्पादन प्रणालीले निर्धारण गर्दछ । स्वच्छ र पारदर्शी कार्य, पक्षपातरहित भावना, छिटोछरितो सेवासुविधा र शिष्ट व्यवहार प्रहरीको जनसम्पर्क विस्तारको प्रमुख आधार हो ।

प्रहरी र जनसम्पर्कः
सर्वसाधारण नागरिकलगायत समाजको शान्तिसुरक्षा तथा सेवाका लागि नै राज्यले प्रहरीको व्यवस्था गरेको हो । प्रहरीको कार्य प्रकृति नै जनसेवामा आधारित रहने भएकाले जनताको सेवा र सुरक्षाका लागि प्रहरीले जनतासँगै सम्बन्ध राम्रो बनाउन सकेन भने प्रहरीको औचित्य हुँदैन । जनसम्पर्क प्रगाढ नभए प्रहरीले आफ्नो काम कर्तव्य नै पूरा गर्न सक्दैन । समाजमा घट्ने सामान्य घटनाकै जानकारीदेखि संवेदनशील घटनाकै अनुसन्धान गर्न प्रहरीलाई जनसहयोग अपरिहार्य हुन्छ । एकातिर जनसहयोगबेगर प्रहरी घटनास्थलदेखि अपराधीसम्म आफैं पुग्न सक्दैन भने अर्कोतर्फ जनताकै सेवा र सुरक्षाका लागि स्थापित संगठन भएकैले जनताकै नजिक बन्न सकेन भने प्रहरी महŒवहीन बन्छ । यसैले जनतालाई सेवा पु-याउने क्रममा होस् वा घटित अपराधको सफल अनुसन्धान गरी कसुरदारलाई कानुनअनुसारै दण्ड सजाय दिलाउन, प्रहरीले सर्वसाधारणकै सहयोग लिनुपर्दछ ।

जनसम्पर्क बेगरको प्रहरी कार्य अधुरो र प्रभावहीन बन्छ । शान्ति र अपराध अनुसन्धानमा देखापर्ने चुनौती पहिचान गर्न, तत्सम्बन्धी समाजको अवधारणा बुझी प्रभावकारी कार्य गर्न सर्वसाधारण नागरिकले प्रहरीलाई प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग पु-याइरहेका हुन्छन् । जनसम्पर्क बेगर प्रहरीको एकल प्रयासले मात्र प्रभावकारी प्रहरी कार्य सम्पन्न पार्न, प्रहरीले हरेक नागरिक पछि लाग्नुपर्ने हुन्छ । यो अवस्थामा प्रहरी परिचालित हुन प्रहरी जनशक्ति पनि सोहीअनुरूपमै व्यवस्थित गरिनुपर्दछ । तर, जनशक्तिको अभावका कारण त्यसो गर्न सकिने अवस्था छैन । नेपाल प्रहरीको करिब ८० हजार जनशक्तिले ३ करोड नेपालीको शान्तिसुरक्षा गर्नुपर्ने विद्यमान अवस्थामा व्यक्तिपिच्छे प्रहरी खटाउने कुरा असम्भव छ । यसैले जनसहयोगकै भरमा प्रहरीले आफ्नो कार्य गर्नुपर्ने भएकाले जनसम्पर्क सुदृढ बनाउन प्रहरीले सधैं विशेष ध्यान दिनुपर्दछ । प्रहरी र जनसम्पर्क एकै सिक्काका दुई पाटा हुन् भन्ने ठानेर नजिकको हेलमेल बढाउनुपर्दछ । प्रहरीलाई निम्न कारणले जनसम्पर्क अपरिहार्य छ ः

१. आपराधिक गतिविधि पहिचान गर्न प्रहरीलाई जनसम्पर्क अत्यावश्यक छ ।
२. जनसम्पर्कबेगर प्रहरीको एकल प्रयासले मात्र प्रहरी कार्य छिटोछरितो हुँदैन ।
३. अनुसन्धानको तथ्य पहिल्याउन प्रहरीलाई जनसहयोग अपरिहार्य हुन्छ ।
४. जनसम्पर्क बेगर समाजको सुरक्षा व्यवस्था प्रभावकारी बन्दैन ।

प्रहरीलाई जनसम्पर्कको महत्व
सहयोग आदान–प्रदान हुने हदसम्मको मर्यादित सुमधुर सम्बन्ध, प्रहरी कार्यमा सर्वसाधारणलाई सरिक गराउने माध्यम नै हो । जनतासँग प्रहरीको सम्बन्ध घनिष्ट भए प्रहरीले गर्ने ५० प्रतिशत कार्य जनताबाटै सम्पन्न हुन्छ । अपराधिक घटनाकै कुरा गर्ने हो भने अपराध कहिले भयो ? कसरी भयो ? संलग्न व्यक्तिको पहिचान भए कोद्वारा भयो ? पहिचान नभए शंकास्पद व्यक्ति को हो ? अपराध सम्बद्ध दसीप्रमाण कुन स्थानमा कस्तो अवस्थामा छ ? कसुरदारले अपराध गर्नुको कारण के हो ? कसुरदार कहाँ हुन सक्छ ? भन्ने अपराध सम्बद्ध महत्वपूर्ण तथ्य प्रहरीलाई पहिले सर्वसाधारणबाटै प्राप्त हुन्छ । प्राप्त तथ्यलाई विविध कोणबाट छानबिन गरी अनुसनधान अगाडि बढाएर प्रहरीले सफलता पाउँछ । यसको निम्ति समाजले आफूले जाने बुझेको र थाहा पाएको तथ्ययुक्त सूचना मात्रै प्रहरीलाई दिए पुग्छ ।

जनसम्पर्कबेगर एकल प्रयासले प्रहरीकार्य सम्पन्न गर्न नसकिने भएकाले प्रहरी नागरिककै पछि लाग्नुपर्ने हुन्छ

सर्वसाधारणले अनुसन्धान कार्यमा प्रहरीसँगै खटिइरहनै पर्दैन । सुमधुर सम्पर्कबाट प्रहरीले पाउने सहयोग भनेकै घटना’bout तथ्ययुक्त जानकारी नै हो । यसैले प्रहरी र जनसम्पर्क राम्रो भएको अवस्थामा कार्य क्षेत्रमा आइलाग्ने बाधा अवरोध स्वतः हल हुँदै जान्छ । जनसहयोगले प्रहरीलाई सफल बनाउँछ । कार्य सफलताले प्रहरीको मनोबल उच्च गराउने भएकोले काम गर्ने प्रेरणा र उत्साह बढाउँछ । प्रहरी कार्य पनि स्वच्छ र पारदर्शी हुन्छ । प्रहरी समाजमा लोकप्रिय बन्छ । यसैले प्रहरीलाई जनसम्पर्कको विशेष महत्व हुन्छ ।

जनसम्पर्कमा असर पार्ने कुराः
सर्वसाधारण नागरिकसँग कस्तो सम्बन्ध स्थापित गर्ने भन्ने कुरा प्रहरीको कार्य र व्यवहारले नै निर्धारण गरिदिन्छ । प्रहरी शान्ति सुरक्षाकै क्रममा गाउँ टोलमा निस्कँदा होस् वा प्रहरी कार्यालयमा रहेको अवस्थामा भेटघाट हुने सर्वसाधारणसँग वा प्रहरी सेवाको अपेक्षा गर्दै प्रहरी कार्यालयमा पुग्ने नागरिकप्रति प्रहरीले अपनाउने व्यवहार, नागरिकलाई गर्ने आदर सम्मान तथा सर्वसाधारणले अपेक्षा गरेको कार्य पूरा गर्ने, गरिदिने क्रममा प्रहरीले देखाउने तत्परता एवं आकर्षक कार्यले जनसम्पर्कमा सकारात्मक प्रभाव पार्दछ । यस अतिरिक्त व्यक्ति विशेषको बानी, आचरण र व्यवहारले नै जनतालाई प्रहरीको नजिक वा टाढा बनाउने भएकोले जनतासँगको सम्पर्कमा जाँदा प्रहरीले यस्ता कुराप्रति विशेष ख्याल गर्नुपर्दछ ।

प्रहरी उत्कृष्ट आचरणयुक्त भएमा जनसम्पर्कमा नकारात्मक प्रभाव पर्दैन । समाजमा प्रहरी आलोचित बन्नुको मुख्य कारण नै गलत बानी, असिस्ट र अमर्यादित व्यवहार पक्षपातपूर्ण कार्य, लालची प्रवृत्ति, सत्ताशक्तिको आडमा सर्वसाधारणप्रति गर्ने उपेक्षा नै हो । यसले जनसम्पर्कमा नकारात्मक प्रभाव पार्दछ । जनमानसमा आदर्श व्यवहार गर्ने, कार्य निष्पक्ष र पारदर्शी गर्ने र कामकार्यप्रति तत्परता देखाउने हो भने मात्रै पनि प्रहरी आलोचनाबाट मुक्त बन्छ ।

प्रहरीले सर्वसाधारणसँग अपनाउने दुष्ट व्यवहार, लोभ लाचन र प्रलोभनमा पर्ने बानी, विभेदित कार्य, गैरअनुशासित क्रियाकलाप तथा नेता विशेषलाई पछ्याउने प्रवृत्तिले पछिल्लो समयमा जनसम्पर्कमा ह्रास आएको छ । यस पक्षमा प्रहरीले सुधार गरी जनसम्पर्क सुदृढ बनाउनुपर्दछ ।

जनसम्पर्कमा प्रहरीको ध्यानः
प्रहरी र जनताबीचको सम्बन्ध जति सुमधुर र सुदृढ बन्छ उति नै प्रहरी कामकार्य पनि शीघ्र र प्रभावकारी हुन्छ । यो सबैले व्यावहारिक रूपमा अनुभूति गरिसकेको कुरा हो । सुमधुर जनसम्पर्क कायम राख्नका लागि कार्य क्षेत्रमा खटिने सबै तहका प्रहरी कर्मचारीको दायित्व पनि समान हुन्छ । अझ भन्ने हो भने जुनसुकै बेला नागरिक सँगसँगै रहने, कार्य क्षेत्रमै खटिइरहेका जुनियर प्रहरी अधिकृत एवं प्रहरी तथा प्रजको जनसम्पर्क विस्तारमा विशेष भूमिका हुन्छ । यसको कारण काम गर्ने र सेवाप्रवाह गराउने क्रममा तल्लो तहका प्रहरी कर्मचारीले नै निरन्तर सर्वसाधारणको नजिक पुगिरहनुपर्छ । उनीहरूले जनतासँग अपनाउने व्यवहार र सम्पादन गर्ने चुस्तदुरुस्त कार्यबाट सर्वसाधारण नागरिकमा पर्ने सकारात्मक प्रभावले जनसम्पर्क सुदृढ बनाउँछ ।

यसैले कार्य क्षेत्रमा जनसेवामा खटिने तल्लो तहका प्रहरी कार्यालय जस्तो जिल्ला प्रहरी कार्यालय, इलाका तथा वडा प्रहरी कार्यालय एवं प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीको जनसम्पर्क अभिवृद्धि गर्ने भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । प्रहरी कार्यको सिलसिलामा सम्पर्कमा आउने सबै नागरिकसँगको आत्मीय सम्बन्धलाई निरन्तरता दिन प्रहरीले निम्न कुराप्रति विशेष ध्यान पु¥याउनुपर्छ ।

अत्यन्त घनिष्ट पारस्परिक सम्बन्धले मर्यादाको सिमाना नाघ्ने भएकाले जनता र प्रहरीबीचकै दूरी तोडिदिन्छ

बोलीबचन र व्यवहार सधैं सिस्ट राख्ने र स्वच्छ एवं पवित्र मानसिकताले सेवा भावनामा समर्पित रहने । सर्वसाधारणको सेवा र सन्तुष्टिलाई आफ्नो प्रमुख कर्तव्य मान्ने । इमानदरिताप्रति कोही कसैसँग सम्झौता नगर्ने । नागरिकको सहयोग आफ्नो दायित्व हो भने ठान्ने । कामकार्यको सिलसिलामा सम्पर्कमा आउने सबैसँग समान व्यवहार गर्ने, माया ममता र श्रद्धा देखाउने । कसैको लोभलालच र प्रलोभनमा नपर्ने । पोसाक तन्दुरुस्त हालतमा लगाई आकर्षक व्यक्तित्व कायम राख्ने । व्यावसायिक ज्ञान र कौशल बढाई नागरिकउपरको सेवा शीघ्र र तन्दुरुस्त हालतमा गर्ने बानी बसाल्ने । विभेदित व्यवहार कसैसँग नगर्ने । नागरिक सबैलाई सधैं आदर र सम्मानको दृष्टिले हेर्ने । अश्लील र अभद्र व्यवहार कसैसँग नगर्ने । आफूले प्राप्त गर्ने पारिश्रमिक एवं सेवासुविधामा सर्वसाधारणको समान योगदान छ भन्ने ठान्ने । जनसेवाकै निम्ति आफू प्रहरी बनेको कुरा कहिल्यै नभुल्ने । कार्यक्षेत्रमा खटिने सबै प्रहरी कर्मचारीले यिनै कुरालाई ध्यानमा राखी सधैं सावधानीपूर्वक कार्य गर्ने हो भने जनसम्पर्क स्वतः सुदृढ बन्छ । प्रहरी पनि समाजमा लोकप्रिय हुने भएकाले सम्मानित हुन्छ ।

घनिष्ट सम्बन्ध पनि अहितकरः
सरसर्ती हेर्दा प्रहरी समाजको सेवा गर्ने सरकारको प्रतिनिधि हो । जसले सधैं जनताकै नजिक रहेर कार्य गर्नुपर्दछ । सरकारी प्रतिनिधिको हैसियतले सर्वसाधारण नागरिकसँग व्यवहार गर्दा प्रहरीले निश्चित सीमा वा हद कायम राख्नैपर्ने हुन्छ । सीमा नाघी गर्ने प्रहरी व्यवहार प्रहरी आफ्नै लागि हानिकारक हुन सक्छ भन्ने कुरामा प्रहरी सचेत बन्नुपर्दछ । सामान्यतया कुन हदसम्मको सम्बन्ध ठीक र कुन हद नाघेको सम्बन्ध हानिकारक ? भनी सीमा निर्धारण गर्ने कार्य पनि त्यति सजिलो हुँदैन । तथापि आफ्नो आदर सम्मान हुने तथा नागरिक र प्रहरीबीचको पारस्परिक सम्बन्ध यथावत् कायमै रहनेगरी राखिने घनिष्ट सम्बन्ध सीमाभित्रको ठानिन्छ ।

दृष्टान्तको निम्ति अपरिचित व्यक्तिसँग हामी मर्यादित ढंगले व्यवहार गर्दछौं । व्यक्तित्व हेरेर हजुरै भन्छौं वा तपाईं भन्छौं । परिचित भइसकेपछिको हाम्रो व्यवहार अलिक सहज हुन्छ । कुराकानी र उमेर मिल्ने व्यक्तिसँग हामी साथी संगीकै व्यवहार गर्छौं । अत्यधिक निकट साथीसँग हाम्रो व्यवहार ठाडो हुन्छ जुन सुन्ने अरूको निम्ति अडलाग्दो हुन्छ । अत्यधिक घनिष्ट साथीलाई हामी तपाईं, तिमी भन्दैनौं, यस्ता व्यक्तिसँगको हाम्रो सम्बोधन तँ, तँ मा परिणत हुन्छ । आपसी गोप्यता पनि लुक्दैन । असल साथीसँग यो स्तरको व्यवहार भए पनि प्रहरी कर्मचारीको रूपमा सर्वसाधारणसँग गर्ने प्रहरी व्यवहार भने यो स्तरको तँ, तिमी भन्ने अवस्थाको हुनु हुँदैन । यो अवस्थामा प्रहरी आफैंले आफ्नो मर्यादा गुमाउँछ । उल्टै साथीले भनेअनुसार प्रहरीले परिचालित हुनुपर्ने अवस्था आउँछ । राष्ट्रसेवक प्रहरीका रूपमा सीमाबाहिरको व्यवहार भनेको यही हो । यो अवस्थाको व्यवहारले प्रहरीले कार्य गर्न सक्दैन ।

अत्यन्त घनिष्ट पारस्परिक सम्बन्धले मर्यादाको सिमाना नाघ्ने भएकोले जनता र प्रहरीबीचकै दूरी तोडिदिन्छ । जसले गर्दा आदर सम्मान गुम्छ । प्रहरीले सरकारी प्रतिनिधिबाट व्यवहारमा जनताकै हितैषी मात्रै हुनुपर्ने अवस्था आउँछ । यसैले उपरोक्त कुरालाई ध्यानमा राखी आफ्नो मर्यादा नगुमाउने गरी, पारस्परिक सहयोग आदान–प्रदान हुनेसम्मको घनिष्टता अपनाउने हो भने प्रहरी र जनताबीचको सम्बन्ध एकै सिक्काको दुई पाटा झैं प्रगाढ बन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 1,033 times, 1 visits today)

epaper

ताजा समाचार

सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न