अछाम । विवाहकाे कुरा गर्न घरमै आएका पाहुनासँग सहमतिमा यौनसम्बन्ध राखेपछि बलात्कार आरोप लगाउने एक किशोरीलाई साढे तीन वर्षको जेल सजाय भएको छ ।
अछामको कमलबजारकी १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले साढे तीन वर्ष जेल सजायको फैसला सुनाएको हो ।
किशोरीले बिहे प्रस्ताव लिएर घरमा आएका रामारोशन गाउँपालिका निवासी २० वर्षीय पुरुषमाथि बलात्कार आरोपसहित गत माघ १७ गते जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी दिएकी थिइन् ।
यसअघि ती पुरुष माघ १५ गते बिहेका लागि माग्न आएका थिए । त्याे रात त्यही घरमा बस्ने क्रममा किशोरीसँग सहमतिमै यौनसम्बन्ध भएको पुरुषले बताएका छन् । तर किशाेरीले आफूमाथि बलात्कार गरेको आरोपसहित जबर्जस्ती करणीमा जाहेरी दिएकी थिइन् ।
बिहेको प्रस्ताव लिएर आएका ती पुरुष र आफू रातको समयमा एउटै कोठामा सुतेको अवस्थामा बलात्कार गरेको दाबी उनले गरेकी थिइन् । एउटै कोठामा अलग अलग सुते पनि राति आफूलाई जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् ।
तर जिल्ला सरकारी वकिलसँगको बयानमा किशोरीले सुरुमा बलात्कार गरेको बताए पनि बिहे नगर्ने त्रासले त्यस्तो आरोप लगाएको उल्लेख गरेकी थिइन् । अर्कातिर ती पुरुषले जबर्जस्ती करणी नगरेको बरु किशोरीले नै बोलाएपछि सहमतिमै शारीरिक सम्बन्ध राखेको बयान दिएका थिए ।