जनकपुरधाम । जनकपुरधाममा रेल आएपछि हजारौं व्यक्तिले ताली बजाएर स्वागत गरेका छन् । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा रेल्वे उदघाटन गरेपछि आजबाट रेल सेवा सुरु भएको छ । जनकपुरधाममा रेल आइरहेको दृश्य हेर्न हजारौं व्यक्ति रेल्वे स्टेशन पुगेका थिए । ‘यति धेरै भिड होला भनेर अनुमानै गरेको थिइन ।’ नेपाल रेल्वेका महाप्रवन्धक निरञ्जन झाले भने ।
रेलको स्वागतका लागि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र संघिय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनु यादव पनि जनकपुरधाम रेल्वे स्टेशन पुगेका थिए । दर्जनौं सांसदहरु त्यहाँ थिए । प्रदेश सांसद रामअशिष यादवले रेल सेवा शुरु हुँदा जनकपुरधाम मात्रै नभइ यो क्षेत्रकै विकासमा टर्निगं प्वान्ट हुने वताए ।
अभिनन्दनका लागि हरेक स्टेसनमा छात्र–छात्राहरू नेपाल र भारतको झण्डासहित स्वागतमा थिए । भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३४ दशमलव ९ किलोमिटरसम्म दैनिक रेल सेवा चल्ने छ । आइतबारदेखि दैनिक रूपमा दुई पटक आउने जाने गरी रेल सञ्चालन हुने महाप्रबन्धक झाले बताए ।
जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्बु प्रसाद साहले जनकपुरधामको उद्योग व्यवसाय र पर्यटनको विकास हुने बताए । नेपाल सरकारले खरिद गरेको दुई सेट रेल फागुन १ गते देखि ‘ड्रायरन’ गर्दै आएको थियो । सुरुमा दिनहुँ एक पटक चलाए पनि चैत १ गते देखि एक दिनको अन्तरालमा यात्रुबिना सञ्चालन हुँदै आएको थियो ।
रेल्वे अध्यादेश निष्क्रिय भएपछि उदघाटन मिति तय हुन सकिरहेको थिएन । केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश पुनः जारी गरेकी थिइन् । रेल चालु भएपछि स्थानीयवासीहरु पनि निकै खुशी भएका छन ।

भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण भइरहेको जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर–जनकपुरधामसम्म ३२ किलोमिटर रेल सञ्चालन भएको छ । नेपाल रेल्वे कम्पनीले जनकपुरधामदेखि जयनगरसम्मको भाडा ७० रुपैयाँदेखि ३५० रुपैयाँसम्म निर्धारण गरेको छ ।
जनकपुरधामदेखि जयनगरसम्मको सामान्य कोचको ७० र एसी कोचको ३५० रुपैयाँ भाडा निर्धारण गरिएको छ । त्यस्तै, जनकपुरधामदेखि परवाहा र कुर्थाको सामान्य कोचको २० र एसी कोचको १००, वैदेहीको सामान्य कोचको २५ र एसी कोचको १२५, महिनाथपुरको सामान्यको ३५ र एसीको १७५, खजुरीको सामान्य कोचको ५५ र एसी कोचको २७५, इनर्वाको सामान्य कोचको ६० र एसी कोचको ३०० रुपैयाँ भाडा निर्धारण गरिएको बताइएको छ ।
अनलाइनबाट टिकट काटन पाइने
कुर्थादेखि जयनगर सम्म ५ स्टेसन र ३ वटा हल्ट रहेको छ । रेल्वेको टिकट स्टेसन र हल्ट दुवै स्थानमा उपलब्ध हुने महाप्रबन्धक झाले बताए ।
डिजेल ईलेक्टिक मल्टिपल युनिट डिजेल र विद्युत दुवैबाट चल्ने यि दुवै विश्वमै नयाँ मोडेलका रेलको रुपमा तयार गरिएको निर्माण कमपनीले दावि गरेको छ । डिपिसि १९०१ र डिपिसि १९०२ नम्बरको दुवै रेल १६ सय हर्स पावरका हुन् ।
प्रति घण्टा ११० किलो मिटरको स्पीडमा चल्ने सक्ने रेल एक पटकमा १ हजार ३ सय सम्म यात्रिले यात्रा गर्न सक्छन् । एउटै ईन्जिन भएपनि दुबै तर्फबाट चलाउन सकिने रेलको एउट बोगिमा ७० वटा सिट रहेको छ ।
२० मिटर लामो रेलको ईन्जिनवाहेक एक एसि र २ जेनरल बोगि रहेको छ । प्रति किलोमिटर २ लिटर डिजेलको अभरेज दिने रेलमा आवश्कयता अनुसार थप ४ वटा बोगि सम्म जोडन सकिने निर्माण कम्पनीको दावि छ । नेपाललाई लक्षित गरि बनाएको रेल भारतमा सञ्चालनमा रहेको अन्य रेलभन्दा फरक रहेको निर्माण कम्पनीका अधिकारीहरुले बताए ।
यो दुवै रेल अन्य रेलभन्दा फरक र आकर्षक मोडेलका रहेको उल्लेख गर्दै ती अधिकारीले भने, ‘यसको स्पीड, लोड बोक्ने क्षमता धेरै राम्रो छ, नेपालका लागि हामीले स्पेशल डिजाईन गरेका छौ ।’ रेलका बोडिङहरुको यात्रीहरुले आफुसँग ल्याउने झोला ब्याङगहरु राख्ने स्थान बनाईएको छ भने प्रत्येक बोगिमा शौचालयको व्यवस्था गरिएको छ । एसी वाहेक अन्य जेनरेल बोगिमा ठाउँठाउँमा पंखा लगाईएको छ ।
नेपाल सरकारले खरिद गरेको रेल यात्रु वाहेक रेल रहेको रहेको भन्दै उनले भने, ‘यसमा माल ओसारपोसार गर्न मिल्दैन, यो पुर्णत यात्रु ओसोरपोसरको उद्देश्यले निर्माण गरिएको छ ।’ नेपाल सरकारको आग्रहमा कम्पनीले रेललाई नेपालकै झण्डाको रंङगमा पेन्ट गरिएकोले रेलको आकर्षणलाई झन बढाएको उनले बताए ।
भारतीय ब्रिटिस शासकले विक्रम सम्वत १९९४ मा महोत्तरीको जगंगलबाट काठ ढुवानीको लागि ५२ किलोमिटर रेल्वे सञ्चालन गरेको थियो । पछि ती रेललाई नेपाल सरकारको जिम्मेवारी दिइएको थियो । नेपाल सरकारले ती रेलमा यात्रुको लागि सञ्चालन गर्न थाले । २०५९ सालमा महोत्तरीको विग्ही नदिमा आएको बाढीले जीर्ण अवस्थामा रहेको विग्ही नदिको पुल भत्किएपछि जनकपुर जयनगर २९ किलोमिटरमा उक्त सेवा सीमति हुन पुगे ।
मर्मत सम्भारको अभाव र राजनीति दलहरुले कार्यकर्ता भरपोषणको केन्द्र बनाएको रेलमा विस्तार विस्तारै बन्द नै अवस्थामा पुगेका थिए । पटक–पटक लिक छोडने तथा दुर्घटनामा पर्ने न्यारोगेज सेवालाई ब्रोडग्रेज सेवामा स्तरोन्नती गर्न भारत सरकारसँग आग्रह गरिएको थियो । २०७१ साल माघ देखि उक्त सेवाई पुर्ण रुपमा ठप्प गरि स्तरोन्नतीको काम हुदै आएको छ ।
एकातिर जयनगरदेखि जनकपुरधामसम्म रेल सेवा शुर भइसकेको छ भने अर्को तर्फ महोत्तरीको बर्दिवासमा मुआब्जाको समस्या कायमै रहेको छ । बर्दिवासवासीले जनकपुरधाममा आएर मुआब्जाका लागि विरोध जनाएका छन । विरोध जनएका हरुले आफूहरुको समस्या समाधान गर्नुपर्छ वताए ।






