काठमाडौं । उपत्यकामा सादा पोसाकमा खटिँदै आएका सबै प्रहरी जिम्मेवारीबाट हटाइएका छन् । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले अनैतिक गतिविधिमा संलग्न रहेको आरोपपछि महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरमा सादा पोसाकमा खटिँदै आएका ७४ जना प्रहरीलाई एकसाथ जिम्मेवारीबाट हटाएको हो । जिम्मेवारीबाट हटाइनेमा १० वर्षदेखि एकै स्थानमा घुमुवाका रूपमा कार्यरत प्रहरीसमेत छन् ।
यसरी हटाइनेमा १८ वटा महानगरीय प्रहरी वृत्त र प्रभागबाट गरी १७ जना अधिकृत र ५७ जवान छन् । सबै घुमुवा प्रहरीलाई एक साथ जिम्मेवारी परिवर्तन गरिएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले जानकारी दिए ।
घुमुवा प्रहरीलाई सादा पोसाकमा सूचना संकलनका लागि खटाइँदै आइएको थियो । उनीहरूमाथि ‘हप्ता असुली’सहितका अनैतिक गतिविधिमा संलग्न रहेको आरोपसमेत लाग्दै आएको थियो । डीआईजी पोखरेलले लामो समयदेखि एकै स्थानमा रहेर काम गर्दासमेत काममा प्रभावकारिता नदेखिएको भन्दै उनीहरूलाई एकसाथ परिवर्तन गरिएको बताए ।
‘लामो समयदेखि एकै स्थानमा रहेर काम गर्दासमेत काममा प्रभावकारिता देखिएन, सूचना संकलन क्षमताको प्रभावकारिता नदेखिएकाले सेटै फेरिएको हो,’ उनले राजधानीसँग भने ।
डीआईजी पोखरेलले यो अभियान निस्पक्ष, पारदर्शी र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि भएको र अभियानमार्फत प्रहरी संगठनमा सुशासन कायम हुनेसमेत जनाए ।
‘यो अभियान निस्पक्ष, पारदर्शी र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि हो, अभियानमार्फत प्रहरी संगठनमा सुशासन कायम हुने विश्वास छ,’ डीआईजी पाखरेलले भने ।
सादा पोसाकको जिम्मेवारीबाट हटाइएका प्रहरीलाई महानगरीय सशस्त्र प्रहरी गण महाराजगन्जमा पठाइएको छ । हटाइएका घुमुवाको विकल्पमा उच्च व्यावसायिकता र इमानदारिता भएका नयाँ टोली राख्न मातहतका अधिकृतलाई निर्देशन दिइएको पोखरेलले जानकारी दिए ।
जिम्मेवारी परिवर्तनपछि प्रहरीको आचरण व्यवहार सुधार गर्ने तथा प्रहरीप्रति लागेको लान्छना मेटाउने र जनविश्वास अभिवृद्धि गर्ने उद्देश्य रहेको डीआईजी पोखरेलले जनाएका छन् ।
आचरण र व्यवहार सुधार गर्न उनीहरूलाई महानगरीय प्रहरी शिक्षालय महाराजगन्जमा सात दिने सुधारात्मक तालिमसमेत दिइनेछ ।
सो जिम्मेवारीमा नयाँ खटाइने प्रहरी अधिकृत तथा जवानहरू मूलतः प्रतिबन्धित समूहको गतिविधि नियन्त्रण तथा जघन्य प्रकृतिका अपराध नियन्त्रण, रोकथाम र अनुसन्धानमा मात्र परिचालित हुने बताइएको छ ।






