कांग्रेस राजनीति : सभापति र महामन्त्रीबीच द्वन्द्व बढ्यो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस जहिल्यै गुट राजनीतिमा फस्दै आएको छ । कांग्रेसमा नेता र पार्टीभन्दा हरेक निर्णयमा गुट हावी देखिँदा हरेकजसो निर्णयमा किचलो उत्पन्न हुँदै आएको छ । नेपाल विद्यार्थी संघको तदर्थ समिति बनाउँदा भागबण्डामा सहमति गर्न एक ठाउँ उभिएका नेताहरू पछिल्लो समय सभापति शेरबहादुर देउवाले आफू अनुकूल रिक्त विभाग गठन गर्दै अघि बढेपछि कांग्रेसभित्रको विवाद सतहमा देखिएको थियो ।

पछिल्लो समय सो विवादको अन्त्य नहुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को जिल्ला नेतृत्वको विवादले सभापति देउवा र महामन्त्री डा. शशांक कोइरालाबीचको द्वन्द्व सतहमा देखिएको छ । कांग्रेस जिल्ला नेतृत्वको विषयमा सभापति देउवाले कार्यवाहक सभापति रहिरहेका अर्जुन पोखरेललाई हटाएर विष्णुप्रसाद पौडेललाई सभापति बनाएपछि सभापति देउवा र महामन्त्री कोइरालाबीच द्वन्द्व बढेको हो ।

सो विषयलाई लिएर महामन्त्री कोइरालाले देउवालाई ध्यानाकर्षणपत्र बुझाउँदै पार्टीमा केन्द्रीय समितिबाट भएको निर्णयविपरीतको निर्णय लिएर एकताको वातावरण बिथोलेको आरोप लगाएका छन् । यसअघि हरेक विषयमा महामन्त्रीले सभापतिलाई सघाउने गरेको आरोप लाग्ने गरेको थियो । देउवाले २३ फागुनमा पौडेललाई जिल्ला सभापतिको जिम्मेवारी दिएका थिए ।

कोइरालाले महाधिवेशनको मिति तय भइसकेको अवस्थामा भएका एकलौटी निर्णयले महाधिवेशनको निस्पक्षतासमेत प्रभावित हुने भन्दै पोखरेललाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को कार्यबाहक सभापति कायम राख्न र विधानअनुसार पार्टी चलाउन आग्रह गरेका हुन् ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले कांग्रेसभित्रको हरेकजसो किचलोमा लिडरसिप नै असक्षम देखिएको बताए ।
‘कांग्रेसभित्र लिडरसिप नै असक्षम देखियो, सभापति मात्रै लिडरसिप होइन, कसैले पनि नेतृत्वको जिम्मेवारी देखाउन सकेनन्, सभापति पनि चुके महामन्त्री पनि चुके,’ राजनीतिक विश्लेषक आचार्यले राजधानीसँग भने ।

किन चुक्दै छ कांग्रेस ?

नेपाली कांग्रेस यतिबेला प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ । सत्ताको अनुभवी कांग्रेससँग प्रतिपक्षमा रहँदाको अनुभवसमेत उत्तिकै छ तर यतिबेला आफ्नो अनुभव देखाउन कांग्रेस चुकिरहेको छ । कारण कांग्रेस आफ्नै आन्तरिक गुटगत राजनीतिको किचलोमा छ । मुलुकलाई प्रजातन्त्रको बाटोमा ल्याउने, सशस्त्र द्वन्द्वमा रहेका माओवादीलाई शान्ति प्रक्रियामा भिœयाउने, राजालाई बाटो लगाएर गणतन्त्र स्थापना गराउनेदेखि संविधान निर्माणसम्ममा नेतृत्वको जस लिने काम विगतमा कांग्रेस नेतृत्वबाट भएको छ ।

तर, कुनै समय देशलाई ‘लिड’ गरेको कांग्रेसले यतिबेला प्रतिपक्षको भूमिकामा दह्रो देखिँदै आफ्नै संगठनलाई भने चलायमान बनाउन सकेको छैन । कांग्रेसभित्र पार्टीको साटो विभिन्न खेमामा रहेका गुट सक्रिय भूमिकामा देखिएका छन् । सांगठनिक रूपमा यतिबेला कांग्रेस आफैं बन्धकजस्तै छ । कांग्रेसमा हाल देखिनेगरी तीन गुट सक्रिय छन् ।

पार्टीको १३औं महाधिवेशनपछि कांग्रेसमा विभिन्न समूहमा तीन गुट देखा परे । महाधिवेशनका समयमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले सभापति पदका लागि उमेदवारी दिएपछि कांग्रेसभित्र त्यसैबखत अर्को समूहको नेतृत्व गर्दै नेता कृष्णप्रसाद सिटौलाले बैचारिक समूहका रूपमा तेस्रो धारको नेतृत्व गर्दै आफ्नो उम्मेदवारी घोषणा गरे । १३औं महाधिवेशनबाटै कांग्रेसभित्र तीन समूह स्थापित भयो ।

हाल आएर कांग्रेसभित्र कांग्रेसको इतिहाससँग जोडिएको कोइराला परिवारसमेत आफ्नो स्थानलाई दरिलो बनाउन सक्रिय रूपमा देखिएको छ । कांग्रेसभित्र नेता डा. शेखर कोइरालाले आफ्नो भूमिकालाई यो समूहबाट अगाडि देखाइरहेका छन् । उनीसँगै कांग्रेस महामन्त्री डा. शशांक कोइराला र नेतृ सुजाता कोइरालासमेत देशका विभिन्न भागमा हुने कार्यक्रमहरूमा एउटै मालामा जोडिन पुगिरहेका छन् ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कांग्रेस सांगठनिक, नेतृत्व र वैचारिक रूपमा समेत प्रतिपक्षका रूपमा कमजोर देखिएको बताए । ‘सभापति पनि देउवा, संसदीय दलको नेता पनि देउवा, प्रतिपक्षको नेता नै सत्ता पक्षको अंसियारजस्तो हुँदा कांग्रेस सांगठनिक, नेतृत्व र वैचारिक रूपमा कमजोर भयो,’ राजनीतिक विश्लेषक आचार्य भन्छन् ।

उनले सभापति र संसदीय दलको नेतामा हुनुपर्ने ऊर्जा सभापति देउवाले प्रधानमन्त्रीसँग लेनदेनमा साटेकाले समेत कांग्रेस प्रतिपक्षी भूमिकामा चुक्दै आइरहेको आरोप लगाए ।

‘सत्ता पक्ष मनलाग्दी ढंगबाट अघि बढिरहँदा प्रतिपक्ष विश्वविद्यालयका भागबन्डा र नियुक्तिमा अल्झियो, प्रतिपक्ष जनतासँग संवादविहीनताको स्थितिमा छ, कांग्रेसको स्थिति भोलिका दिनमा पनि आश लाग्दो छैन,’ आचार्य भन्छन् ।
कांग्रेसभित्र हाल संस्थापन समूहको नेतृत्वमा सभापति शेरबहादुर देउवा छन् । यस्तै, पूर्वसंस्थापन पक्ष दुई भागमा विभाजित छ । जसको नेतृत्व एउटा समूहको वरिष्ठ नेता पैडेलले गरिहरहेका छन् भने अर्को समूहको नेतृत्व सिटौलाले गर्दै आएका छन् ।

यस्तै, हाल आएर कोइराला परिवारको स्थानलाई स्थापित गर्न भन्दै डा. शेखर कोइरालासहित महामन्त्री शशांक कोइराला र नेतृ सुजाता कोइरालासमेत सक्रिय भूमिकामा अघि बढिरहेका छन् ।

गुटका कारण कांग्रेसको केन्द्रीय समिति बैठकसमेत धेरैजसो अनिर्णयको बन्दी बन्दै आइरहेको छ भने पार्टीका हरेक जसो निर्णयमा नेताहरूको असन्तुष्टि बढ्ने गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 279 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा ५ मात्र महिला वडाध्यक्ष