सार्क राष्ट्रबीच आजको भिडियो संवादमा प्रधानमन्त्री ओली सिंहदबारबाट सहभागी हुने

काठमाडौं । सार्क राष्ट्रबिच कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन आइतबार भिडियो कन्फरेन्स हुने भएको छ । सो भिडियो कन्फरेन्समा प्रधानमन्त्री केपी शर्मा ओली नै सहभागी हुने भएका छन् । आइतबार साँझ ५ बजे हुने सो कन्फरेन्समा प्रधानमन्त्री सहभागी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए ।

‘सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेको एक्सन रुमबाट प्रधानमन्त्री भिडियो संवादमा सहभागी हुनुहुने कार्यक्रम छ,’ थापाले राजधानीसँग भने । प्रधानमन्त्री शुक्रबार साँझ दोस्रो पटक मिगौला प्रत्यारोपण गरेर १२ दिनपछि त्रिभुवन शिक्षण अस्पतालबाट प्रधानमन्त्री निवास बालुवाटार फर्केका हुन् । उनले शनिवारसमेत बालुवाटारमा विभिन्न राजनीतिक भेटघाट गरेको थापाले बताए । सो कन्फरेन्समा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने भारतले जनाइसकेको छ । भातरका विदेश मन्त्रालयका रविश कुमारले भिडियो संवादमा भारतबाट प्रधानमन्त्री मोदीले लिड गर्ने बताएका छन् । सबैका हितका लागि सँगै हिडौं भन्ने सो भिडियो संवादमा प्रधानमन्त्रीले नै नेतृत्व गर्ने भनेर उनले ट्वीट गरेका छन् । सो कन्फरेन्समा पाकिस्तानको समेत सहभागीता हुने निश्चित भएको बताइएको छ ।

शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै महामारीका रुपमा फैलिएको कोरोना भाइरस विरुद्ध लड्नका लागि सार्कले संयुक्त पहल गर्नुुपर्ने भन्दै साझा रणनीति बनाउन प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई प्रधानमन्त्री ओलीले शुक्रबार नै स्वागत गर्दै सहमति जनाएका थिए ।

सार्क राष्ट्रमा नेपाल, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, र श्रीलंका रहेका छन् । सबै राष्ट्रले मोदीको प्रस्तावमा समर्थन गरेका थिए । पाकिस्तानले समेत शुक्रबार अवेर राती सकारात्मक प्रतिक्रिया दिएपछि भिडियो संवाद आइतबार नै सम्भव भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

पाकिस्तान परराष्ट्र कार्यालयका प्रवक्ता आयसा फारुकीले ट्वीट गर्दै भिडियो संवादमा सहभागी हुने बताएकी हुन् । पाकिस्तानका प्रधानमन्त्रीको स्वास्थ्य सम्बन्धी प्रमुख सल्लाहकार जाफर मिर्जाले भिडियो संवादमा सहभागि हुने उनले बताएकी छन् । मिर्जाले पाकिस्तानमा कोरोना भाइरसविरुद्धको अभियानमा नेतृत्व गरेका छन् । अन्य राष्ट्रले तत्काल मोदीको ट्वीटमा प्रतिक्रिया दिएको भए पनि पाकिस्तानले भने मध्य रातमा प्रतिक्रिया दिएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल ट्वीट गर्दै सहमति जनाएका थिए । त्यसपछि भुटान, माल्दिभ्स, श्रीलंकाले समेत सहमति जनाएका थिए । भुटानका प्रधानमन्त्रीले त भिडियो संवादको प्रतिक्षा गरिरहेको बताएका थिए ।

अहिलेसम्म भारतमा कोरोना भाइरसबाट ८२ जना संक्रमित भएका छन् भने २ जनाको ज्यान गएको छ । नेपालमा १ जना संक्रमित भएकोमा उनी उपचारपछि निको भइसकेका छन् । अन्य देशमा पनि संक्रमितको उपचार भइरहेको छ । तर भारतमा बाहेक अन्य सार्क देशमा कोरोना भाइरसको संक्रमणका कारण कसैको मृत्यु भने भएको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

epaper

ताजा समाचार

१३ असार २०८३