वीरगन्ज । पाँच दलीय गठबन्धनलाई ‘अपवित्र गठबन्धन’को संज्ञा दिंदै नेपाली कांग्रेस वीरगन्ज महानगरका अधिकाश समितिले गठबन्धनको उमेद्वारलाई साथ नदिने बताएका छन् । वीरगन्जका संचारकर्मी सामु बुधबार समितिका सभापतिहरु उपस्थित भई यस्तो बताएका हुन् । सहभागी मध्ये केही नेताहरुले ‘हामी सेरबहादुर देउवाको रैती हैनौ भन्दै बिद्रोह गर्ने चेतावनी समेत दिए ।
‘आफैमा ऐतिहासिक पार्टी नेपाली कांग्रेस कसैको बैशाखी टेकेर निर्वाचनमा जाँदैन ।’ सहभागीले भने । नेपाली काँग्रसको महानगर समिति, क्षेत्रीय समिति, जिल्लाको क्षेत्र नम्बर १ र २ दुवै प्रदेशका सभापतिहरु सहभागी कार्यक्रममा केन्द्रको अपवित्र गठबन्धनलाई स्वीकार्न नसकिने बताए । आफुहरुको सुझावलाई पार्टीले अटेर गरी अगाडी बढे विद्रोह गरेर जाने उनीहरुको दावी छ ।
मधेश प्रदेशको एकमात्र महानगर वीरगन्जका ३२ वटै बुध कमिटिका सभापतिहरुले समेत महानगर कमिटिलाई लिखित सुझाव दिंदै गठबन्धनकापछि नलाग्न भनेको छ । ‘त्यो सुझाव समेत सम्बन्धित कमिटिमा पठाइसक्यौं ।’ महानगर नगरकमिटिका सभापति मणिन्द्रलाल नेपालीले भने ‘यदि काँग्रस महानगरनगर कमिटी लगायत तल्लो तहका सुझाव केन्द्रले सुनेन भने हामी केन्द्रको निर्णयलाई पनि मान्न बाध्य हुँदैनौें ।’ आन्तरिक रुपमा सुझाव पेश गर्ने ठाउँहरु सबैतिर पठाइएको बताउदै पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरविन्द कुमार गुप्ताले ती सुझाव काम नलाग्ने भए गठबन्धनको कुरा पनि मान्न बाध्य नहुने बताए ।
बिसं २०४८ पछि यसपाली पार्टीको अवस्था राम्रो रहेको वीरगन्ज महानगर कमिटि सभापति नेपालीले बताए । वीरगन्ज महानगरमा गठबन्धनका नाममा अपवित्र गठबन्धनका उमेद्वार बोकेर हिड्न नेपाली कांग्रेस बाध्य नहुने नेपाली काँग्रेस वीरगन्ज महानगर कमिटिका उप सभापति सन्तोष गुप्ताको भनाई छ ।
‘यो पटक नेपाली काँग्रेसको उमेद्वार एक्लैले जित्नेमा हामी विश्वास छौं । यस्तो समयमा गठबन्धन गरी गलत बाटोबाट हिड्न सकिन्न ।’ कांग्रेसका पर्सा क्षेत्र नम्बर १ र २ का प्रदेश कमिटि सभापतिहरुले तर्क गरे । नेपाली काँग्रेसका पुराना नेता राजकृष्ण अमात्यले स्थानीय चुनाव जस्तो चुनावमा गठबन्धन गरेर पार्टी अगाडी बढ्नु प्रजातान्त्रिक मूल्य मान्यता विपरित हुने बताए । उनले भने ‘हरेक पार्टीको हैसियत मापन हुने अधिकार कुण्ठित हुने बाटोमा कांग्रेसले हिड्नु हुँदैन । यो निर्वाचन एक्लाएक्लै हिड्न पर्छ ।’






