एमाले पोखरा महानगर : मेयरमा आकांक्षी १२ जना सिफारिस


पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीको उम्मेदवार सिफारिसका लागि तय भएको चुनाव अन्तिम घडीमा आएर स्थगित भएको छ । नेताहरुको शक्ति संघर्षका कारण चुनाव स्थगितसँगै आकांक्षी सबै जनाको नाम माथिल्लो तहमा सिफारिस गर्ने सहमति भएको छ । सो बमोजिम एमालेले मेयरमा १२ र उपमेयरमा ११ जनाको केन्द्रमा पठाउने निर्णय गरेको एमाले पोखरा महानगर कमिटी सचिव जीवन आचार्यले बताए ।

पार्टी कार्यालयमा हुने भनिएको मतदानको कार्यतालिका मतदानको समय घर्किएपछि अन्ततः यसअघिको बैठकमा आकांक्षा व्यक्त गर्ने सबै जनाको नाम सिफारिस गर्ने सहमति भएको आचार्यले जानकारी दिए ।

केन्द्रले उम्मेदवार छनोट प्रक्रिया टुंगाउन वैशाख ३० भित्रै आकांक्षीको नाम सिफारिस गरिसक्न निर्देशन दिएको थियो । यद्यपि संगठन विभाग प्रमुख समेत रहेका पूर्व गृहमन्त्री खगराज अधिकारी, एमाले सचिव एवं पूर्व मन्त्री पद्मा अर्याल, एमाले उपमहासचिव तथा गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङबीचको शक्तिसंघर्षका कारण टकराव उत्पन्न भएको हो ।

सिफारिस गर्दा कम्तीमा एक महिलासहित बढीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने निर्देशन थियो । मेयरमा १२ र उपमेयरमा ११ जना आकांक्षी छन् । नगर कमिटीले जिल्ला र प्रदेश कमिटीमा सिफारिस गरेका नामबाट पार्टी केन्द्रले उम्मेदवार टुंगो लगाउने छ ।

मेयर उम्मेदवार बन्न नगर कमिटीले आकांक्षीबीच निर्वाचन प्रक्रिया सुरु गर्दा शुक्रबार मेयरका लागि १२ र उपमेयरका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएका थिए । तीमध्ये मेयरका लागि केन्द्रीय सदस्य कृष्णबहादुर कार्की, भीम कार्की, राजीव पहारी, मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मी आचार्य, प्राडा विश्वकल्याण पराजुली, पोखरा १३ का वडा अध्यक्ष दर्शन लामा, नेताहरु पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछामगर र सावित्री भण्डारीले उम्मेदवारी दर्ता गराएका थिए ।

यस्तै, उपमेयरमा पोखरा १९ का वडा अध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, देवका पहारी, जीवनप्रसाद आचार्य, तेजनारायण अधिकारी, बिनुकुमारी गुरुङ, बलराम गायक र सुष्मा पौडेलले मनोनयन दर्ता गराएका थिए ।

भूगोलका आधारमा देशकै ठूलो पोखरामा पृथ्वीसुव्वा गुरुङ र खगराज अधिकारी पक्षबीच टकरावका कारण दुवै पक्षले उम्मेदवारी मनोनयनमा पनि आफू निकटका लागि अघि सारेका थिए ।

पोखरामा २०७४ सालको चुनावमा एमालेकै वर्चश्व छ । मेयर र उपमेयर एमालेले जितेको थियो । यस्तै पोखरा महानगरहा ३३ वडामध्ये २२ वडामा एमाले निकट वडाध्यक्षको नेतृत्व छ ।

तपाइको प्रतिक्रिया
(Visited 375 times, 1 visits today)

epaper

ताजा समाचार

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना