धनगढी । कैलालीमा चुनावी तालमेलका लागि गठबन्धन दलबीच पटकपटक बसेको बैठक निष्कर्षविहीन बनेको छ । केन्द्रमा पाँच दलीय गठबन्धनमै रहेको जनता समाजवादी पार्टी (जसपा) भने कैलालीमा गठबन्धनबाट बाहिरि सकेको छ ।
आइतबार जसपा बाहेक बसेको चार दलबीचको बैठकमा सबै दलले आआफ्नो अडान कायमै राखेपछि सहमति जुट्न नसकेको हो । चुनावी तालमेलका लागि बसेको बैठकमा नेपाली कांग्रेसले जिल्लाका १३ मध्ये १०, नेकपा माओवादीले ६ र एकीकृत समाजवादीले चार स्थानीय तहमा दाबी गरेको थियो ।
कांग्रेसले यसअघि पालिका तोकेर आफ्नो दाबी भने गरेको थिएन । तर, आइतबार भने १३ मध्ये धनगढी उपमहानगरपालिका सहित १० पालिका आफूले पाउनु पर्ने भन्दै दाबी गरेको छ ।
यसैगरी नेकपा माओवादी केन्द्रले पनि यसअघि दुई (कैलारी गाउँपालिका र भजनी नगरपालिका)मा मात्रै दाबी गर्दै आएकोमा आइतबारको बैठकमा भने ६ पालिकामा दाबी गरेको छ । एकीकृत समाजवादीले यसअघि पाँच पालिकामा दाबी गर्दै आएकोमा आइतबार चार पालिकामा दाबी गरेको बैठकमा सहभागि राष्ट्रिय जनमोर्चाका कैलाली अध्यक्ष जगतराज जोशीले बताए ।
उनका अनुसार जिल्ला तहबाट भागबण्डाको कुरो नमिलेपछि दलहरूको दाबीसहितको विवरण गठबन्धनको प्रदेश समितिमा पठाउने निर्णय गरिएको छ । ०७४ सालको निर्वाचनमा धनगढी उपमहानगरपालिका, वर्दगोरिया गाउँपालिका र जोशीपुर गाउँपालिकामा काँग्रेसका उम्मेदवार विजयी भएका थिए ।
जानकी गाउँपालिकामा लोकतान्त्रिक फोरमले जितेकोमा उक्त पार्टीले काँग्रेससंग एकता गरिसकेको छ । चुरे, मोहन्याल, गोदावरी, घोडाघोडी, गौरीगंगा, लम्कीचुहा, टीकापुरमा एमाले जितेको थियो। कैलारी र भजनी नगरपालिकामा माओवादी केन्द्रले जित हात पारेको थियो ।







