काठमाडौं । ‘मेरो सम्पत्ति जम्माजम्मी ५–१० किलो सुन, ८–१० रोपनीमा घर, बैंकमा ५०–६० करोड… हुनेवाला छ ।’ मन्त्रीको सम्पत्ति सार्वजनिकीकरण समारोहमा एक मन्त्रीले सम्पत्ति विवरण सुनाउँदै भने ।
एउटा कार्टुनभित्रको दृश्यचित्रले औंल्याएको काल्पनिक मन्त्रीको काल्पनिक भाषण साँच्चै वास्तविकताको नजिक देखिन्छ । उक्त दृश्यलाई कार्टुनिस्ट राजेश केसीले उतारेका हुन् । उनका ती चित्रले हजार शब्दले बोल्न नसकेको कुरा स्पष्ट पारेका छन् । कार्टुन सरकारका मन्त्रीको व्यवहार’bout दर्शक पाठकको मन उद्धेलित गराउँछ ।
अर्का चर्चित कार्टुनिस्ट वात्सायानले पनि भ्रष्टाचारप्रति दरिलो झापड हान्नेगरी कार्टुन बनाएका छन् । समसामयिक विकृति विसंगतिलाई जीवन्त बनाउने उनले यसपटक दुई महिलाको संवादलाई जोडेर भ्रष्टाचारविरुद्धको अभियानमा कार्टुनमार्फत ऐक्यबद्धता जनाएका छन् ।
आकर्षक महल देखेर एक महिलाले साधिन्, ‘कसरी जोड्नुभयो यति धेरै सम्पत्ति ।’ ‘श्रीमान्ले अफिसाँ जनताको सेवा गरेर उपहार पाएको !,’ अर्की महिलाबाट सहज जवाफ आउँछ । छोटो संवाद छ तर यसले समाजलाई ठूलो सन्देश प्रवाह गर्न सफल भएको छ ।
यी दुई कार्टुन समाजका विकृतिको प्रतिबिम्ब हुन् । केही कर्मचारीले र मन्त्रीले छोटो समयमा अस्वाभाविक सम्पत्ति जोडेको भनेर बेलाबेलामा समाचार सार्वजनिक हुने गरेका छन् ।

बिनास्रोत र बिनाश्रम रातारात धनी बन्ने प्रवृत्तिविरुद्धको तीखो प्रहार वात्सायन र राजेश केसीका कार्टुनले मात्रै गरेको छैनन् । आजदेखि काठमाडौंको नेपाल कला परिषद् प्रदर्शन गरिएका अन्य ४८ कार्टुन पनि भ्रष्टाचार, विकृति, विसंगतिविरुद्ध उभिएका छन् ।
कलाकारले भ्रष्टाचारविरुद्धको अभियानस्वरूप ‘निसाना’ शीर्षकमा सुरु गरेको कार्टुन प्रदर्शनीमा कार्टुनिस्ट विश्व थापाले खुलमखुला घुस मागेको सन्दर्भदेखि वासु क्षितिजले अनुदानको रकम कसरी दुरुपयोग भइरहेको र कुर्सीको लडाइँलाई कस्तो छ भन्ने कुरा कार्टुनमार्फत छर्लङ पारेका छन् ।
कार्टुनिस्ट सुदर्शन सिग्देलले विद्यालय खाजा कार्यक्रमलाई प्रहार गर्दै कार्टुन बनाएका छन् । विद्यार्थीका लागि आएको विद्यालय खाजा कार्यक्रमले विद्यार्थी दुब्लाइरहेको तर अन्य व्यक्ति मोटाइरहेको उनको चित्र यथार्थ चित्रण गर्न सफल देखियो । सिग्देल भन्छन्, ‘खाजा कार्यक्रममा जे भइरहेको छ, त्यही दृश्य उतार्ने प्रयास गरेको छु ।’
अर्का कार्टुनिस्ट देवेन्द्र थुम्केली एक जना विद्यार्थीलाई बिम्ब बनाएर विद्यार्थीमाथि थोपरिएको भारलाई चित्रण गर्न सफल भएका छन् । ट्युसन फी, अतिरिक्त फी, विलम्ब फी, मासिक र परीक्षा फी तिर्दातिर्दा विद्यार्थी आजित भएको कुरा उनले देखाएका छन् । जब कि शिक्षा र स्वास्थ्य राज्यको दायित्वभित्र पर्ने कुरा हो तर यहाँ विद्यार्थीमाथि कसरी आर्थिक प्रहार छ भन्ने कुरा उक्त कार्टुनले स्पष्ट पार्छ ।
प्रदर्शनीमा कलाकारले कार्टुनमार्फत राजनीतिक दल, सरकारी गतिविधि, न्यायालय, विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा भएका विकृतिलाई कार्टुनमार्पmत पर्दाफास गर्ने प्रयास गरेका छन् ।
‘हरेक कार्टुन लिड स्टोरी हो, कार्टुनले दिने सन्देश अझै तीखो हुनु जरुरी छ,’ नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले भन्छन्, ‘सांसद, जनप्रतिनिधिका निकायका कार्टुन बनाउनुपर्ने अवस्था किन आइरहेको छ, हेर्नु जरुरी छ ।’
विकृति–विसंगतिविरुद्ध रङ, रेखा र शब्दमार्फत उनीहरूले भ्रष्टाचारविरुद्ध लाग्न समुदायलाई नै आह्वान गरेका छन् । चित्रकार देवेन्द्र थुम्केली कार्टुनिस्ट जहिले पनि प्रतिपक्ष हुने र विकृति र विसंगति उत्खनन गर्नु उनीहरूको दायित्व भएकाले एउटा प्रयास गरिएको बताउँछन् ।
कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिज भन्छन्, ‘पत्रिकाको पानामा कार्टुन बनाइरहेका छौं तर विकृति विसंगतिको नेटवर्क यति ठूलो भइसकेको छ कि पत्रिकाका पानामा राखेर मात्रै सम्भव भएन, त्यसैले सातै प्रदेशमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शन गरेर सचेतना फैलाउन पहिलो अभियान थालेका हौं ।’ उनले हेरेर मात्रै सीमित नगरी सामाजिक सञ्जालमार्फत पनि कार्टुन सार्वजनिक गर्न अनुरोध गरेका छन् ।
पत्रकार महासंघका अर्का पूर्वअध्यक्ष विष्णु निष्ठुरी प्रणाली धेरै बदलिए पनि पद्धति बदल्न सकिएन भन्ने उदाहरण कार्टुनले देखाएको बताउँछन् । उनीले राज्यको प्रणाली कमजोर भयो भने नागरिकको अवस्था झन् कमजोर हुने उल्लेख गर्दै नागरिकलाई जागरुक बनाउनका लागि बलियो सन्देश कार्टुनले बोकेको धारणा राख्छन् । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल कार्टुन भ्रष्टाचारविरुद्ध सशक्त रहेको र खबरदारी आवश्यक भएको औंल्याउँछन् ।
कार्टुन प्रदर्शनीका सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गरेका हुन् । उनले भने, ‘कार्टुन भनेको कलम होइन, मुटुले बनाउने कुरा हो, जसमा साँच्चैको समाजको चित्रण सिर्जनामा हुन्छ,’ सापकोटाले भने, ‘अभियानमा समर्थन जनाउँदै ऐक्यबद्धता प्रकट गर्दछु ।’ राससबाट