महानगरमा भागबण्डा, उपमहानगरमा अड्को

फाइल फोटो ।

काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सत्तारूढ गठबन्धन आबद्ध चार दलबीच ६ महानगरपालिकामा तालमेल सहमति भए पनि उपमहानगरमा किचलो बढेको छ । पोखरा महानगरमा नेपाली कांग्रेसले अडान छाडेपछि सत्ताधारी दलबीच ६ महानगरको मेयर पदमा भने मंगलबार दिउँसै भागबण्डा मिलेको थियो ।

ती महानगरमा उपमेयरमासमेत भागबण्डा भइसकेको छ । तर, ११ उपमहानगर मेयर र उपमेयरमा सहमति जुट्न नसकेपछि सत्तारूढ दलले भागबण्डालाई अन्तिम रूप भने दिन सकेनन् । मंगलबार राति १० बजेबाट आज बुधबार बिहान २ बजेसम्म बसेको बैठकमा सहमति हुन नसकेको हो ।

सत्तारूढ दलले बनाएको निर्वाचन अनुगमन तथा परिचालन समिति संयोजक कांग्रेस नेता रामचन्द्र पौडेलले महानगर विषयमा सहमति भए पनि उपमहानगरमा बन्न नसकेको जानकारी दिए । ‘आज बुधबार ११ बजे पुनः बस्ने गरी बैठक सकियो, महानगरका विषयमा सहमति भए पनि उपमहानगरमा कुरा मिलेन,’ समिति संयोजक पौडेलले राजधानीसँग भने ।

६ वटै महानगर र ११ उपमहानगरमा गठबन्धन दलबीच तालमेल सहमतिलाई अन्तिम रूप दिन भन्दै रातारात बैठक बसिएको थियो । मंगलबार राति १० बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको चार घण्टा लामो छलफल बुधबार बिहान २ बजे बिनानिश्कर्ष सकिएको हो ।

गठबन्धन आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपालबीच ६ महानगरमा भने मेयर पदमा भागबण्डा भइसकेको छ । जसअनुसार ६ मध्ये तीन महानगर काठमाडौं, ललितपुर र विराटनगरको मेयर कांग्रेसले लिने, माओवादीलाई भरतपुर, एकीकृत समाजवादीलाई पोखरा र जसपालाई वीरगन्ज महानगर भाग परेको छ ।

स्रोतका अनुसार काठमाडौं महानगरमा मेयर कांग्रेसले लिँदा उपमेयर नेकपा एसलाई दिने सहमति भएको छ । ललितपुरमा उपमेयर माओवादी केन्द्रको भागमा परेको छ । यसैगरी, विराटनगरमा मेयर कांग्रेसले लिने भएपछि उपमेयर जसपाको भागमा परेको छ ।

भरतपुरमा मेयर माओवादीले लिने र उपमेयरसहित सबै वडाअध्यक्ष कांग्रेसले निलेगरी सहमति गरिएको दाबी गरिएको छ । त्यस्तै, पोखरामा नेकपा एसलाई मेयर दिएर सहमति गरिएपछि कांग्रेसलाई उपमेयर दिइएको छ ।

वीरगन्ज महानगरमा मेयर जसपालाई दिएर उपमेयर कांग्रेसले लिनेगरी सहमति भएको छ । पोखरा महानगर विषयमा कांग्रेसको अडान कायम रहँदा सोमबार गठबन्धनबीच सहमति जुटेको थिएन । तर, प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार पोखरा कांग्रेसका नेतालाई मनाएपछि सहमति बनेको हो ।

पोखरा महानगरका कारण गठबन्धन नै टुट्ने अवस्था आएपछि देउवाले मंगलबार दिउँसो पोखराका कांग्रेस नेताहरूलाई काठमाडौं बालुवाटार बोलाएरै गठबन्धनको बाध्यता बुझिदिन आग्रह गरेका थिए । देउवाले बोलाएपछि कास्की कांग्रेसका सभापति किशोरदत्त बराल, गण्डकी प्रदेशका कांग्रेस सभापति शुक्रराज शर्मा र नेता यज्ञबहादुर थापासहितको टोली काठमाडौं आएको थियो ।

गठबन्धनमा आबद्ध दल शनिबारदेखि नै महानगर र उपमहानगर मेयर तथा उपमेयर पदको भागबण्डामा थिए । आइतबार र सोमबार दलबीच प्रमुख पद भागबण्डा’bout घनीभूत छलफल भएको थियो । सोमबार राति नै ६ महानगर विषयमा गठबन्धनमा आबद्ध दल सहमतिनजिक थिए । तर, पोखरा महानगरमा प्रमुख पदमा कांग्रेस र नेकपा एसको अडान जारी रहेपछि सहमति बनेको थिएन ।

मंगलबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले कास्की कांग्रेस नेताहरूलाई बालुवाटारमै बोलाएर मनाएपछि गठबन्धन आबद्ध दलबीच महानगर भागबण्डामा सहमति भएको हो । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले विराटनगर र ललितपुर महानगरपालिकामा जित हात पारेको थियो ।

वीरगन्ज महानगरमा जसपा, पोखरामा नेकपा एमाले तथा भरतपुरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 317 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रमुख/अध्यक्षमा कांग्रेसभन्दा एमालेको बढी उम्मेदवार