महेन्द्रनगर । नेपाल सरकारले उपलब्ध गराएको दर्ता जग्गा समेत भारतमा पर्ने गरी सीमा सर्भे टोलीले सीमास्तम्भ राख्न थालेपछि कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका र बेलडाडी गाउँपालिका सीमा क्षेत्रका नागरिक आक्रोशित बनेका छन् ।
नेपाली भूमिमा सीमा पिल्लर गाडिएको स्थानीयले उक्त पिल्लर तोडिदिएका छन् । शनिबार उनीहरुले हालै नेपाल भारत संयुक्त सर्वे टोलीले बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रमा निमार्ण गरेको ७८३/४ नम्बर पिल्लर हतौडा र ढुङ्गा प्रहार गरेर तोडफोड गरेका छन् ।
साढे पाँच दशकदेखि बस्दै आएको उक्त बस्तीमा नेपालीको लालपुर्जाधारी जमिनमा सीमा पिल्लर गाडेर नेपाली भूमि हड्प्न खोजेको भन्दै स्थानीयले विरोध गरेपछि सर्वेको काम रोकिएको थियो । स्थानीयको जमिन भारतमा पार्न खोजे पछि सीमा विवाद चुलिएको हो ।
नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले दुई देशबीचको सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरुको जाँचबुझ गर्ने र सच्च्याउने काम गरिरहेको छ । सीमा क्षेत्रमा विगतदेखि यथावत रहेका सीमा विवादहरुको अझै समाधान हुन सकेको छैन । थप नयाँ स्थानमा समेत सीमाको विवाद बढ्दै गएको छ । भारत संग सीमा जोडिएका स्थानमा पनि सीमा स्तम्भहरुको जाँचबुझ गर्ने र सच्च्याउने काम भइरहँदा केही विवाद देखिएपछि सीमा सर्भे टोलीले उक्त क्षेत्रको काम स्थगित गरेको छ । यसअघि विगतमा कुनैपनि विवाद नदेखिएका क्षेत्रहरुमा सर्भे टोलीले काम गर्ने क्रममा विवाद देखिन थालेको हो ।
यस्तै नेपाली काँग्रेस कञ्चनपुरले क्षेत्रमा स्थलगत अनुगमन गरेको छ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ३ वैवाहामा नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले हालै निर्माण गरेको ७८३/४ नम्बरको सीमा स्तम्भ उनीहरुले हतौडा र ढुङ्गा प्रहार गरी तोडफोड गरेका छन । सीमा स्तम्भ तोडफोड गरिएपछि उक्त क्षेत्रको सुरक्षा सतर्कता बढाइएको छ । त्यस्तै, बेलौरी नगरपालिका वडा नम्बर १० भुडामा सीमा स्तम्भ राख्न नेपाली भूमिमा नहर किनारमै खनिएका खाल्डा समेत उनीहरुले पुरिदिएका छन् ।