पोखरा । स्थानीय तहको निर्वाचनको लागि मनोनयन सुरु भइसक्दा कास्कीमा भने गठबन्धन टुटेको छ । नेपाली कांग्रेस कास्कीले आइतबार निर्णय गरेरै जिल्लामा गठबन्धन नगरेर तर मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएको हो । तर, पोखरा महानगरपालिकाको मेयर तथा उपमेयरमा भने केन्द्रकै निर्णय स्वीकारिएको छ ।
सो निर्णयसँगै पार्टी कार्यालय कास्कीमा लगाइएको ताला ५ घण्टापछि खुलेको छ । केन्द्रको निर्णय एकपक्षीय भएको भन्दै कास्कीका कार्यकर्ताले आइतबार दिउँसोदेखि जिल्लास्तरका नेतालाई चिप्लेढुंगास्थित पार्टी कार्यालयमा नै थुनेका थिए ।
अबको निर्णयअनुसार कास्की कांग्रेसले पोखरा महानगरपालिकाका कुल ३३ वटा वडामा तथा जिल्लाका ४ पालिकामा गठबन्धन नगर्ने तर मित्रवत् प्रतिस्पर्धा गर्नेछ । पोखराको मेयर नेकपा (एकीकृत समाजवादी) लाई परेको छ । तर उपमेयर पाएको काँंग्रेसले अझै नाम टुंगाउन सकेको छैन । समाजवादीबाट धनराज आचार्य सिफारिस भएका छन् ।
पोखराको मेयरमा ११ र उपमेयरमा ४ को उम्मेदवारी
पोखराको प्रमुखमा पहिलो दिन आइतबार ११ जनाको मनोनयन दर्ता भएको छ । यस्तै उपप्रमुखमा ४ जनाले उम्मेदवारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी कुल ३८ जनाको मनोनयन लिइएको छ । मनोनयन दोस्रो दिन सोमबार पनि लिइने मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए । उनका अनुसार वडाध्यक्षमा १७ र सदस्यमा ६ जनाले उम्मेदवारी दिएका छन् । पोखरामा कुल ३३ वडा वटा छन् । पहिलो दिन ठूला दलबाहेक साना तथा स्वतन्त्रले मनोनयन दिएका हुन् ।
पोखराको मेयरमा मनोनयन दिनेमा स्वतन्ततर्फबाट खड्कराज पौडेल ‘गणेश’, विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला र किसानसिंह गुरुङ छन् छन् । यस्तै, मौलिक जरोकिलो पार्टीबाट सञ्जय तिमिल्सिना, सचेत नेपाली पार्टीका भोजराज खनाल, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमप्रसाद गुरुङ र नेपाली जनता दलका मुक्तिनाथ सुवेदीले मनोनयन दिएका छन् ।
उपमेयरमा सचेत नेपाली पार्टीबाट सोनी परियार, मंगोल नेसनल अर्गनाइजेसनबाट रामबहादुर तामाङ, राप्रपा नेपालबाट चिना दवाडी र स्वतन्त्रका सोममाया बिकले उम्मेदवारी दिए । ठूला राजनीतिक पार्टीले उम्मेदवार तय गर्ने ढिला गरिरहेको हुँदा आइतबार स्वतन्त्र र साना पार्टीका तर्फबाटमात्रै उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी नील पनेरुले बताए । आयोगले मेयर र उपमेयरमा उम्मेदवारी दिन १ हजार ५ सय रुपैयाँ, वडाध्यक्षका लागि १ हजार र सदस्यका लागि ५ सय रुपैयाँ दर्ता शुल्क तोकेको छ ।






