काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको सुरुङ मार्ग हुँदै ल्याइएको खानेपानी काठमाडौंमा फेरि वितरण गर्न सुरु गरिएको छ । मेलम्ची खानेपानीको पुनः वितरण गत आइतबार एक कार्यक्रमको आयोजना गरेर सुरु गरिएको हो ।
खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को बानेश्वर शाखास्थित मिनभवनको ओभरहेड टैंकीको पानी धारातर्फ छोडेर पानी वितरणको सुरुवात गरेका हुन् । पानी वितरणको प्रारम्भसँगै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको धारा खोलेर पानी पिएका थिए ।
मेलम्चीको पानी सुरुङमार्फत काठमाडौंको सुन्दरीजल आएसँगै वितरणको काम सुरु गरिएको हो । लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले कार्यतालिका सार्वजनिक गरेर पानी वितरण गरिने बताएका छन् ।
यसअघि, गत २२ फागुन २०७७ मा मेलम्चीबाट सुरुङमा खसालेर पानीको परीक्षण गरिएको थियो । १५ चैत २०७७ बाट मेलम्चीको पानी वितरण सुरु गरिएकोमा चैत तेस्रो साताबाट औपचारिक रूपमा वितरण सुरु गरिएको थियो । सुरूङ, सुन्दरीजल पानी प्रशोधन केन्द्र र चक्रपथमा विछ्याइएको थोक वितरण पाइपलाइनहरूको सफल परीक्षणपछि मेलम्चीको पानी काठमाडौंवासीका धारासम्म पु¥याइएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकामा वितरण गरिने मेलम्ची खानेपानी वितरण कार्यक्रमको उद्घाटन गरेकी थिइन्् । १ असार २०७७ देखि परीक्षणका लागि भन्दै मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यही दिन राति मेलम्ची नदीमा विशाल बाढी आएको थियो ।
बाढीसँगै मलेम्चीको पानी वितरण प्रक्रिया अवरुद्घ बनेको थियो । मेलम्चीको माथिल्लो भागदेखि आएको बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनाको मुख्य स्थल हेडबक्समा क्षति पुग्नुका साथै बालुवा, ढुंगा, लेदो माटोयुक्त ग्रेथ्यानले आयोजना स्थल पुरेको थियो । क्षति भएको संरचनाको पुनः निर्माण गरी गत चैत २९ मा सुरुङमा पानी हालिएको थियो ।
पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस नेता स्व. कृष्णप्रसाद भट्टराईले २०५१ सालको मध्यावधि चुनावमा काठमाडौंको सडक मेलम्चीको पानीले पखालिदिने वाचा गरेपछि यसको परिकल्पना अघि बढेको थियो ।
मेलम्ची आयोजनाको सुरु २०५८-५९ सालमा नै भएको थियो । आयोजना सुरु गर्दा २०६४÷६५ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । निर्माणमा ढिलासुस्ती, राजनीतिक अस्थिरता, नाकाबन्दी, भूकम्प, कोरोनालगायतका कारण निर्माणको अवधि पटकपटक थपिन पुगेको थियो । पुनः बाढीले आयोजनामा क्षति पु-याएपछि मेलम्चीको पानी रोकिन पुगेको हो ।
मेलम्चीको पानी काठमाडौं उपत्यकासम्म ल्याउन ३५ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ । त्यसमा ३३ प्रतिशत नेपाल सरकार, ४६ प्रतिशत एसियाली विकास बैंक र अन्य दातृ निकायको सहयोग रहेको छ । कुल रकममध्ये १ अर्ब १२ करोड मुआब्जाका लागि वितरण गरिएको थियो ।
वर्षायाममा मेलम्चीको पानीको विकल्प खोजिँदै
खानेपानीमन्त्री चौधरीले वर्षायाममा वर्षायाममा मेलम्चीको पानीको विकल्पका रूपमा बाग्मती नदीको पानि शुद्धीकरण गरी ल्याउने प्रक्रिया अगाडि बढाइएको बताएक छन् । अहिले काठमाडौंमा वितरण गरिने मेलम्चीको पानी वर्षा लागेसँगै बन्द गरिने आयोजनाले जनाएको छ ।
मन्त्री चौधरीले मेलम्ची नदीमा बाढी आएमा पूर्वसूचना दिनका लागि ‘अर्ली एलर्ट मेसिन’ जडान गरिएको बताएका छन् । मन्त्री चौधरीले मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने प्रणालीलाई व्यवस्थापन गर्नका लागि मन्त्रालयमा सचिवको संयोजकत्वमा कोअर्डिनेसन कमिटी गठन गरेको उल्लेख गरेका छन् ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. ई. सञ्जीवविक्रम राणाले वर्षाको समयमा बाग्मती नदीबाट १० करोड लिटर पानी उपत्यकामा ल्याउन सकिने बताएका छन् ।
आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले सुन्दरीजल पानी प्रशोधन केन्द्रबाट उपत्यकाका १० वटा पानी ट्यांंकीसम्मको ७० किलोमिटर पाइप विछ्याइसकेको जानकारी दिँदै ४ सय १० किलोमिटर पाइपलाइनको परीक्षण भइसकेको बताएका छन् ।
केयूकेएलका प्रमुख कार्यकारी अधिकृत ई. मिलन शाक्यले मेलम्चीको पानी १० वटा पानी ट्यांकीमार्फत १ लाख ७५ हजार धारामा वितरण गरिने बताएका छन् ।






