बर्दिया । हावाहुँरीसँगै परेको चट्याङका कारण यहाँ २ जनाको ज्यान गएको छ । शनिबार राती चट्याङ लागेर ठाकुरबाबा नगरपालिका–५ गोविन्दपुरकी ७० वर्षीया बिस्री थारु र उनकी ४५ वर्षीया बुहारी फुलरानी थारुको ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।
शनिबार दिउँसो सासु बुहारी स्थानिय बग्नाहा बजार गएका थिए । आफन्तसँग भेटघाट गरि घर फर्कने क्रममा बाटोमै उनीहरुलाई चट्याङ लागेको बताइएको छ । शनिबार साँझ हावाहुरीसँगै आकाश गड्याङ्गगुडुङ्ग गर्दै असिना पानी परेको थियो । त्यसैबेला उनीहरुलाई चट्याङ् लागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उनीहरुको शव बाँसको झाग नजिकैको खाल्डोमा फेला परेको हुँदा पानीबाट ओत लाग्न बाँसको झांग मुनी गएको बेला चट्याङले हानेको हुन सक्ने प्रहरीको अनुमान छ ।
हावहुरीसँगै आकाश गडगडाउँदै पानी परिरहेको बेला घरबाट उनीहरुका आफन्तले फोन गर्दा आफुहरु ओत लागेर बसेको र पानी रोकिनासाथ घर आउने उनीहरुले बताएको परिवारको भनाई उद्धित गर्दै स्थानिय हिरा थारुले बताए । धेरै बेरसम्म पनि घर नआएपछि खोजी गर्दै जाँदा उनीहरुको शव बाँस नजिकै सडक किनारको खाल्डोमा फेला परेको थियो ।