अनुभव पालिसकेको ‘पद’ छोड्न हतपत्ती छोड्न कमै चाहन्छन् । यसपटकको स्थानीय चुनामा अन्य जिल्लाजस्तै मकवानपुरमा यही नियति दोहोरिएको छ । ‘पालिका प्रमुख’ बन्ने दौडमा यहाँका सात जनप्रतिनिधिले पुनः उम्मेदवारी दिएका छन्् । २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष जितेका उनीहरूले फेरिन पनि अध्यक्ष उम्मेदवारी दिएका हुन् ।
मकवानपुरका १० स्थानीय तहमध्ये कैलाश, मकवानपुरगढी, मनहरी, भीमफेदी, इन्द्रसरोवर, राक्सिराङ र बाग्मती गाउँपालिकाका निर्वाचित अध्यक्षले दोहोरिन उम्मेदवारी दर्ता गराएका छन्् । भीमफेदी गाउँपालिकामा भने निर्वाचित उपाध्यक्षले समेत आसन्न स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका छन् । २०७४ को निर्वाचनमा कैलाश गाउँपालिका अध्यक्षमा टंक मोक्तान, मकवानपुरगढी गाउँपालिमा विदुर हुमागाईं, मनहरी गाउँपालिमा एकराज उप्रेती, भीमफेदी गाउँपालिकामा हिदम लामा, इन्द्रसरोवर गाउँपालिमा जीवन लामा, राक्सिराङ गाउँपालिकामा राजकुमार मल्ल, बाग्मती गाउँपालिकामा सर्केश घलानले अध्यक्ष पदमा दोहोरिनेगरी उम्मेदवारी दिएका हुन् ।
मेक्तान, हुमागाईं, उप्रेती, लामाद्वयले यसअघिको निर्वाचनमा नेकपा एमालेबाट र मल्ल नेपाली कांग्रेसबाट तथा घलान नेकपा माओवादी केन्द्रबाट अध्यक्ष निर्वाचित भएका हुन् । इन्द्रसरोवरमा अध्यक्ष जितेका लामाले र कैलाशमा अध्यक्ष मोक्तान यसपटक नेकपा एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादीबाट उही पदमा दोहोरिएका छन् ।
कैलाश अध्यक्ष मोक्तानले २ हजार ८ सय २ मत ल्याउँदै कांग्रेसका लोकबहादुर मुक्तान (२ हजार ३ सय ५९ मत) हराएका थिए । मनहरीमा अध्यक्ष उप्रेतीले ४ हजार ६ सय ४९ मत ल्याउँदै कांग्रेसका शंकर न्यौपानेलाई (४ हजार ३ सय ४० मत) हराएका थिए ।
मकवानपुरगढीका हुमगाईंले ३ हजार ८ सय १४ मत ल्याउँदै कांग्रेसका दोर्जे लामा (३ हजार ६ सय ५३ मत) हराएका थिए । राक्रिाङका अध्यक्ष मल्लले ३ हजार ५ सय ३९ मत ल्याउँदै एमालेका लालबहादुर थापा (२ हजार ९ सय ४४ मत) हराएका थिए । बाग्मतीका अध्यक्ष सर्केश घलानले ३ हजार २ सय २१ मत ल्याउँदै एमालेका राजकुमार तिमल्सिना (३ हजार ८६ मत) हराएका थिए ।
इन्द्रसरोवरका जीवन लामाले ३ हजार २ सय ४ मत ल्याउँदै कांग्रेसका विश्वलाल लामा (२ हजार २ सय ७३ मत) हराएका थिए । भिमफेदीमा लामाले ३ हजार ८ सय ४२ मत ल्याउँदै माओवादीका रञ्जितकुमार लामा (३ हजार ६ सय ९८ मत) हराएका थिए । यीमध्ये अधिकांश चुनावी प्रतिस्पर्धीसमेत उही पुराना व्यक्ति छन् । उही व्यक्तिसँग प्रतिस्पर्धामा आउँदा पूर्वअध्यक्षहरूले पाच वर्ष कार्यकालमा भएको कामको प्रशंसा गरेर बाँकी पूरा गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन्् । यता, अघिल्लो निर्वाचनमा हार व्यहोरेका र यसपटक पुनः सोही पदमा उठेका उम्मेदवारले गठबन्धनका साथ पालिका जित्ने र विकासलाई अग्रगति दिने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन्् ।
हिजो सँगै आज एकै पदमा प्रतिस्पर्धा
बाग्मती प्रदेशको एकमात्रै उपमहानगरपालिका हेटौंडामा यो निर्वाचनमा सबैभन्दा बढी प्रतिपस्पर्धा एकै दलबाट हुँदै छ । केही समयअघिसम्म एकै दलमा रहेका नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता हुन् । आन्तरिक विवादका कारण नेकपा एमालेबाट विभाजित नेपाल एकीकृत समाजवादी र एमालेकै टक्कर हुने भएको छ, उपमहानगर प्रमुख पदका लागि । एमाले उम्मेदरवार अनन्त पौडेल र नेपाल एकीकृत समाजवादीको जिल्ला उपाध्यक्ष गठबन्धनको साझा उम्मेदवार मिनाकुमारी लामाबीच चुनावी भिडन्त रोचक हुने पक्का भएको छ । सत्तागठबन्धनका तर्फबाट साझा उम्मेदवारी लामाको राजनीतिक आधारभूमि एमालेमै छ ।

एमालेबाट राजनीतिक यात्रामा लामो संघर्ष गरेकी लामा हाल समाजवादीमा छिन् । स्थानीय तह निर्वाचन २०७४ मा माओवादी र कांग्रेस गठबन्धनविरुद्ध एमालेबाट उपप्रमुख लडेकी लामाले ६ हजार ४ सय २६ मतान्तरमा विजयी हासिल गरेकी थिइन् । आसन्न निर्वाचनमा भने उही कांग्रेस, मओवादीलगायत गठबन्धनबाट साझा उम्मेदवार हुन्, लामा । ‘अब भने उनको यात्रा विगतजस्तो सहज छैन, आफू उपप्रमुख हुँदाको कामको चर्चा गरौं, एमालेको प्रचार होला, नगरौं जित्ने कसरी ?’ एमालेका एक नेता भन्छन्, ‘यो त आफैभित्रको लडाइँजस्तो देखिँदै छ ।’
साथसाथ थिए, पौडेल–लामा
अनन्त पौडेल र मिनाकुमारी लामा विगतमा एमालेमा हुँदा अनेक कालखण्डमा सँगै थिए । पौडेले पार्टी जिल्ला कमिटी नेतृत्व गर्दा लामाले विद्यार्थी आन्दोलनमा सहभागी हुँदै राजनीतिक यात्रा थालनी गरेकी थिइन् । पौडेलले जिल्ला कमिटी नेतृत्वमा हुँदा लामा जनवर्गीय संगठनमा थिइन् । २०४६ जनआन्दोलमा पौडेल पार्टीबाट आन्दोल सञ्चालन प्रविधि कार्यदल अग्रणी नेतृत्वमा थिए भने लामा विद्यार्थी राजनीतिमा पार्टी निर्देशनमा थिइन् ।
२०४९ स्थानीय तह निर्वाचनमा पौडेल र लामा पार्टीलाई जिल्ला र हेटौंडा नगरको निर्वाचनमा विजय गराउन आ–आफ्ना स्थानबाट लागिपरेका थिए । त्यतिबेला लामा विद्यार्थी संगठनबाट निर्वाचन प्रचारमा थिइन् भने पौडेलले जिल्ला नेतृत्व तहमा थिए । विद्यार्थी आन्दोलन परिचालन गर्न लामालाई पौडेलले निर्देशन गर्थे, लामा पौडेलको निर्देशनअनुसार विद्यार्थीलाई आन्दोलनमा उठाउँथिन् ।
२०५२ सालमा लामा अनेरास्ववियु जिल्ला कमिटी कोषाध्यक्ष हुँदा पौडेलले विद्यार्थीमा राजनीतिक ऊर्जा भर्दथे, लामा त्यसको नेतृत्व गर्थिन् । २०६४ को संविधान सभा निर्वाचनमा पौडेललाई पार्टीले उम्मेदवार बनायो । पौडेललगायत पार्टीको उम्मेदवारलाई जिताउन पार्टीको निर्देशनअनुसार लामा लागिपरिन् । तर, पार्टीले जिल्लाको चारै क्षेत्रमा चुनाव हा¥यो ।
२०७० को संविधान सभा दोस्रो निर्वाचनमा पौडेललाई जिताउन पार्टीको निर्देशनमा लामाले आफ्नो भूमिका पुनः निर्वाह गरिन् । पौडेलले निर्वाचन जिते । २०७२ मा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ केन्द्रीय सदस्य भएकी लामाले पार्टीमा आफ्नो परिधि फराकिलो गर्दै आइन् । जसमा पौडेलले पार्टीगत रूपमा कार्यकर्तालाई दिनुपर्ने प्रशिक्षणमा कमी गरेनन् । २०७४ स्थानीय तह निर्वाचनमा लामालाई उमप्रमुख जिताउन पौडेलले विशेष भूमिका निर्वाह गरे ।
लामालगायत जिल्लामा बहुमत एमाले उम्मेदवारले जित हासिल गरे । २०७८ सालमा एमाले विभाजन हुँदा लामाले नेकपा एकीकृत रोजिन् भने पौडेल एमालेमा अडिग छन्् । अब आसन्न निर्वाचनमा उनै पौडेल र लामा प्रमुख पदमा प्रतिस्पर्धी छन् । ‘हिजो हामीले नै खटेर उपप्रमुख विजयी गराएका हौं, अहिले हामीले प्रतिस्पर्धीका रूपमा पाएका छौं, हामीले नै उमारेर हुर्काएका कार्यकर्तासँग लड्नुपर्ने परिस्थिति छ, तर हामीलाई अप्ठ्यारो छैन,’ पौडेल भन्छन्, ‘एमालेबाट उपप्रमुख जितेर, उहाँले गरेको कामको प्रचार गर्न लाज हुने अवस्थामा उहाँ नै हुनुहुन्छ, हामीले एमाले सरकारले गरेको कामको प्रगति भलिभाँती देखाउन सक्छौं ।’
यता, लामा ‘राजनीतिमा स्थायी सत्रु र मित्रु नहुने’ बताउँछिन् । ‘परिस्थितिले यस्तै पारिहाल्यो, म एमालेकै उत्पादन हुँ, कम्युनिस्ट विचारधारा बोकेको मान्छे हुँ तर कुण्ठित भएर बस्न सकिएन,’ उनी भन्छिन्, ‘अहिले एकै पदमा लड्नुपर्दा व्यक्तिगत रूपमा केही असहज लागेको छ, अनन्त दाईप्रति मेरो सम्मान त छँदै छ, तर यो व्यक्तिसँग लड्ने चुनाव हैन, यो त पार्टीगत भिडन्त हो ।’
उता, पार्टी अध्यक्ष एकालाल श्रेष्ठ हेटौंडामा पार्टी विभाजनको असर कम भएको दाबी गर्छन् । एकीकृत समाजवादीको भागमा परेको स्थानीय तहमा एमालेलाई सजिलै जित्न विश्वास उनको छ ।






