भक्तपुर। दिनहुँजसो युट्युब, फेसबुक वा अरु यस्तै श्रव्यदृश्य माध्यममा नयाँ गीतसंगीत तथा पुराना गीतहरुको कभर निस्किरहेका हुन्छन्। तर हालसालै युट्युबमा एउटा यस्तो गीत निस्केको छ जसको संगीत सिर्जना २५ वर्षअगाडि नै भइसकेको तर विविध कारण र जीवनका उल्झनहरुका कारणले गीतलाई रेकर्ड गर्न नसकिएको रहेछ। कुनै जमानामा गीतलाई सार्वजनिक गर्न भव्य समारोहकै आयोजना गर्नुपर्ने हुन्थ्यो तर अचेल फेरिएको समय र आधुनिक सूचनाप्रविधिको कारणले सजिलै र देशविदेशमा समेत एउटै समयमा नयाँ गीतको प्रबर्द्धन गर्न सकिन्छ। यसै क्रममा ऊबेला भन्ने दुईजनाको सांगीतिक समूहले ‘मलाई लाग्दैन तिम्रो माया’ नामको गीत हालसालै युट्युबमा सार्वजनिक गरेका छन्।
गीतको गुणस्तर र संगीतको प्रकारका विषयमा प्रश्न गर्दा गीतका संगीतकार नित्य डि’ कुँवरले यो गीतलाई स्लो रक विधामा राख्दा ठीक हुने र शुरुआती अवस्था भएकोले रेकर्डिङ्गमा केही प्राविधिक त्रुटि भएको स्वीकार्दै समग्रमा गीत अपेक्षित नै भएको बताए। ‘गीत खासमा रोमान्टिक तर असफल प्रेमको कथा हो, साथै स्वार्थरहित प्रेमको बलिदानलाई पनि यसमा पाउन सकिन्छ’, कुँवरले भने। उनले भनेअनुसार यस गीतले बितेको ९० को दशकलाई याद दिलाउने र गीतसँगै दर्शकश्रोताले आ-आफ्नो भोगाइअनुसार आफूलाई पनि सम्बन्धित गराउन सक्नेछन्।
अर्का सदस्य सुकदेव केसीले यो गीतमा स्वर दिएका हुन् र गीतको प्रारम्भिक सफलताले आफूलाई यसै क्षेत्रमा निरन्तर लागिरहन प्रेरणा मिलेको बताए। ‘यो गीतको सिर्जना भएपश्चात् नै प्रायः सबै साथीभाइले यसको चर्चा गरेको र गुनगुनाएकोले पनि हामीले यसलाई कुनै दिन रेकर्ड गरेर सार्वजनिक गर्नुपर्छ भन्ने लाग्थ्यो र त्यो समय बल्ल आएर जुर्यो’, उनले भने। गीतसंगीतमा अपार मोह हुँदाहुँदै र केही आधारभूत ज्ञान भएरै पनि जीवनका आरोहअवरोह पार गर्ने क्रममा २५ वर्षसम्म आफ्नो मोहको क्षेत्रमा केही नगरी चुपचाप बस्न बाध्य भएको तर संगीतसाधनालाई भने सकेसम्म निरन्तरता दिइरहेको बताए।
अबको भावी योजना’bout दुवैजनाको एउटै निर्णय रहेछ- ‘पहिला त केही समयपश्चात यही गीतको एक गतिलो म्युजिक भिडियो बनाउने र क्रमशः आफूलाई सुधार्दै नयाँ नयाँ सिर्जनाहरु गरिरहने।’ अबको केही समयमै लगातार २-३ वटा पहिले नै रचिएका तथा संगीत भरिएका गीतलाई नयाँ रुपमा दर्शकश्रोतामाझ ल्याउने तयारीमा रहेको उनीहरुले बताए।






