स्याङ्जा । देशभर स्थानीयतहको चुनाबको रौनक चलिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिकामा भने कुकुरहरुको बन्ध्याकरण शिबिर सञ्चालन गरेको छ । बजार क्षेत्रका बाटोमा यत्रतत्र रहेका तथा घरमै पालिएका कुकुरहरुको बन्ध्याकरण गर्न शिबिर सञ्चालन गरिएको हो ।
भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको आयोजना तथा केन्द्रीय रिफरल पशु चिकित्सालय, काठमाडौंको प्राविधिक सहयोग एवम् गल्याङ नगरपालिका कार्यालयको व्यवस्थापनमा सञ्चालन गरिएको शिबिरमा १ सय ११ वटा कुकुरहरुलाई बन्ध्याकरण तथा रेविज विरुद्वको खोप सेवा दिइएको छ ।
घरमा पालेका कुकुरहरुको सुरक्षा एवम् सडकमा रहेका कुकुरहरुको न्युनिकरणका लागि अभियानको रुपमा एक दिने शिबिरको आयोजना गरिएको केन्द्रीय रिफरल पशु चिकित्सालय, काठमाडौंका पशु चिकित्सक डाक्टर टंक प्रसाईले जानकारी दिए । बन्ध्याकरणबाट बजार क्षेत्रमा डुल्ने कुकुरहरुको न्युनिकरण हुनेमा उनले विश्वास दिलाए । छाडा र भुस्याहा कुकुरका कारण धेरै रोग आउन सक्ने अनुमान पछि यो अभियान गल्याङ् नगरपालिकामा शुरुवात गरिएको हो ।
गल्याङ नगरपालिकामा कुकुर पाल्नेहरुको संख्या बढिरहेको र सडकमा रहेका कुकुरहरुले सवारी दुर्घटना समेत गराउन सक्ने भएकाले यस्तो शिबिर सञ्चालन गर्नुपरेको गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले बताए । सडक दुर्घट्नाको एउटा कारक कुकुर पनि देखिएकाले यसको नियन्त्रणको सजिलो उपाय भनेको बन्ध्याकरण नै भएको अर्यालले बताए ।
मानवलाई असर गर्ने रेविज रोग नियन्त्रणका लागि गल्याङमा यसअघि पनि निशुल्क खोपको व्यवस्था गर्ने गरिएको भएपनि बन्ध्याकरण शिबिर भने पहिलोपटक गरिएको हो । शिबिर सञ्चालनका लागि काठमाडौंबाट तीन जनासर्जन विशेषज्ञ सहितको टोली खटिएको छ । मुख्यतः सडकमा हुनेबेवारिसे कुकुरहरुका कारण दुर्घटनाको जोखिम बढ्ने गरेको अवस्थामा बन्ध्याकरण शिबिरले बजार क्षेत्रमा हुने त्यस्ता कुकुरको संख्या घटाउन मदत् हुने बताइएको छ । यो अभियान जिल्लाका अन्य शहरहरुमा पनि संचालन गरिने आयोजकले जनाएका छन् ।






