पाल्पा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ मा खटिने पाल्पाका मतदान अधिकृत सहितको टोली मतदान केन्द्र जाने तयारी थालेका छन् । दुई दिनको तालिम प्रश्चात मतदान अधिकृत, कर्मचारी, सुरक्षाकर्मीहरू सहित मतपत्र र आवश्यक सरसमान बुझेर सम्बन्धित मतदान केन्द्रमा जाने तयारी गरेका हुन् ।
मतदान अधिकृत जिम्मेवारी र कर्तव्यका विषयमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र निर्वाचन अधिकृतहरूले प्रशिक्षण दिएका थिए । निर्वाचन मार्फत नागरिकबाट चुन्न र चुनिन पाउने अधिकारलाई स्वतन्त्र, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको प्रमुख निर्वाचन अधिकृत खड्ग बहादुर केसीले बताए ।
पाल्पामा स्थानीय तह निर्वाचन १ लाख ९९ हजार ६ सय ९० मतदाता रहेका छन् । १ सय १८ मतदान स्थलमा २ सय ४७ वटा मतदान केन्द्र छन् । जसमध्ये ४५ वटा संवेदनशिल र १६ वटा अति संवेदनशिल मतदान स्थल रहेका छन् ।
मतदानमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले कडा निर्देशन दिएका छन् । निर्वाचन आचारसंहित भन्दा बाहिरका गतिविधि गरेको पाएमा कुनै राजनितिक दलप्रति सरकारी सेवामा अयोग्य हुने गरी कारवाही समेत हुने भएकाले संवेदनशिल अनुरोध गरे । निर्वाचनमा १ हजार ८० जना म्यादी प्रहरी, ७ सय ४ नेपाल प्रहरी, २ सय १८ शसस्त्र प्रहरी, ४ सय १६ नेपाली सेना र १ हजार ९ सय ७१ जना कर्मचारीहरू खटिने छन् ।