राजर्षि जनक कपमा पुलिस च्याम्पियन

सार्लाही । विभागीय नेपाल पुलिस क्लब चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । भारत सिलगुढीको कञ्चनजंघा एफसीलाई २–१ ले पराजित गर्दै पुलिस च्याम्पियन बन्न सफल भएको हो । पुलिसको यो वर्षको पहिलो उपाधि हो ।

यसअघि पुलिस गत महिना नवलपुरमा भएको राइनो कपको फाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो । शनिबार मात्रै पुलिसको अर्को टोली पोखरामा सम्पन्न आहा रारा गोल्डकपको फाइनलमा मनाङ–मस्र्याङ्दी क्लबसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित भएको थियो । अर्काे टोलीले भने उपाधि जित्न सफल भयो ।

पुलिसलाई च्याम्पियन बनाउन तीर्थ राना र कप्तान जुमानु राईले गोल गरे । कञ्चनजंघाका अमिर लामाले गोल गरे पनि हार टार्न सकेन । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । सर्लाहीको बाग्मती नगरपालिकास्थित सन्तोष श्रेष्ठ स्मृति मैदानमा आइतबार भएको फाइनलमा खेलको पहिलो मिनेटमा नै पुलिसले खेलमा अग्रता लिन सफल भएको थियो ।

तीर्थ रानाले झन्डै ३० यार्डबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । १२औं मिनेटमा कप्तान जुमानु राईले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे । पदम भट्टराईको लामो फ्रिकिकमा पेनाल्टी एरियाको लाइनमा रहेका जुमानुले हेडमार्फत गोल गरेका थिए । १९औं मिनेटमा अमिरले पेनाल्टी बक्सको ठिक बाहिरबाट गोल गर्दै अन्तर घटाए । त्यसपछि थप गोल निस्कन नसक्दा पुलिस २–१ ले विजयी हुन सफल भयो

च्याम्पियन बनेसँगै पुलिसले १० लाख रुपैयाँ हात पा¥यो । दोस्रो भएको कञ्चनजंगाले ५ लाख रुपैयाँमा चित्त बुझायो ।
प्रतियोगितामा पुलिसका कप्तान जुमानु राई सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले ५१ हजार रुपैयाँ हात पारे । उदीयमान सर्लाहीका खेलाडी विजय घलान भए । उनले एक थान पल्सर मोटरसाइकल हात पारे ।

पुलिसका सञ्जित श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिए । कञ्चनजंघाका निवास राना डिफेन्डर, जावलाखेलका रुपबहादुर लामा मिडफिल्डर र पुलिसका तीर्थ राना सर्वाधिक गोलकर्ता चुनिँदा पुलिसका सञ्जीव श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरूले समान २०–२० हजार रुपैयाँ पाए ।

बाग्मती नगरपालिका र बाग्मती युवा क्लबले संयुक्त रूपमा आयोजना २२ फागुनबाट सुरु भएको प्रतियोगितामा विभिन्न १२ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभा कार्य सञ्चालन नियमावलीको मस्यौदा सभामुखलाई बुझाइयो