धनगढी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसले गठबन्धनभित्र षड्यन्त्र गर्न दिन थालेको बताएका छन् । आइतवार कैलालीको कैलारी गाउँपालिकाको हसुलियाबजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले गठबन्धन दलको सहमतिविपरीत कांग्रेसले उम्मेदवारी दिन लगाएर धोका दिएको भनेर बताए । चुनावी सभामा बोल्दै प्रचण्डले भने, ‘कांग्रेसको एक स्थानीय नेतासँग पनि मेरो कुरा भयो । म र प्रधानमन्त्री देउवासँगै आएका छौँ । उहाँसँग कुरा गरेर कांग्रेसले जसरी उम्मेदवारी दिएको छ त्यो खारेज नहुने हो भने हामी एक्लै चुनाव लड्नुपर्दछ । हाम्रा उम्मेदवारलाई विजय गराउन अपिल गर्दछु । हाम्रा लागि बेइमानी र षड्यन्त्र स्वीकार्य छैन ।’
त्यस्तै, उनले अझै गठबन्धन क्लियर नभएको बताउँदै आफूहरूले गठबन्धनको मर्मअनुसार उम्मेदवारी दिएका उम्मेदवार र प्राविधिक कारण स्वतन्त्र उम्मेदवारी दिन पुगेका आफ्ना उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउन अपिलसमेत गरे । कैलारी गाउँपालिकामा सत्तारुढ गठबन्धनबाट माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष पाउने सहमति भएको थियो । तर कांग्रेसले अध्यक्षमा बागी उम्मेदवारी दिन लगाएको छ ।
सभामा प्रचण्डले गठबन्धनले कारबाही गरेका उम्मेदवारलाई भोट मागे । गठबन्धनबाट कार्बाहीमा परेकी उम्मेदवार लक्ष्मी सत्गौवा थारुलाई भोट मागेका हुन् । उनी माओवादी केन्द्रबाट उपाध्यक्षकी बागी उम्मेदवार हुन् ।
‘कैलारी गाउँपालिकाको अध्यक्षमा लाजुराम चौधरी र उपाध्यक्षमा लक्ष्मी सत्गौवा चौधरीलाई अत्यधिक मतले जिताउन आग्रह गर्दछु,’ प्रचण्डले सम्बोधन गर्दै भने । गठबन्धनले सिट बाँडफाँड गर्दा कैलारी गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष काँग्रेसको भागमा परेको थियो।
तर गठबन्धनको सहमति तोड्दै काँग्रेसले त्यहाँ अध्यक्षमा राजसमझ चौधरीको उम्मेदवारी दर्ता गराएको थियो भने माओवादी केन्द्रले लक्ष्मी सत्गौवा थारुलाई उपाध्यक्षमा उठाएको छ ।






