बैशाख ३० पछि ओली गुटको अन्त्य हुन्छ : झलनाथ खनाल


इटहरी । नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालले बैशाख ३० गतेपछि ओली गुटको समाप्त हुने बताएका छन् । सोमबार लोकतान्त्रित गठबन्धनले इटहरीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै खनालले ३० गतेपछि ओली गुटको समाप्त हुने बताएका हुन् ।

उनले संविधान निर्माणमा पनि सबै दलहरू एक भएको स्मरण गर्दै अहिले बनेको गठबन्धन संविधान रक्षाका लागि भएको तर्क राखे । ‘अब गठबन्धन विजयीको बाटोमा अगाडि बढिसकेको छ, हामी केपी शर्मा ओली गुटलाई पराजित गर्दैछौँ,’ पूर्व प्रधानमन्त्री समेत रहेका खनालले भने, ‘३० गतेपछि केपी गुटको समाप्त हुँदैछ ।’ उनले इटहरीमा गठबन्धन विजयी हुने निश्चित जस्तै भएको दाबी गरे ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति इङ्गित गर्दै भने, ‘केपी ओली नेतृत्वमा रहेको गुटलाई हामी पराजित गर्दैछौँ, अ‍ोलीले गरेका असंवैधानिक गतिविधिहरू तपाईँलाई थाहै छ ।’ ओलीले देशमा संविधानविपरीत कार्य पटकपटक गरेपनि आफूहरूले सम्झाउदा अहंकारको बाटोमा अगाडि बढेको उनले बताए ।

उनले देशका ठूला परिवर्तनहरूमा देशका शीर्ष दलहरू एकैठाउँमा उभिएको तर्क राख्दै अहिलेको गठबन्धन पनि देश निर्माणकै लागि बनेको बताए । सबै राजनीतिक शक्तिहरू एकताबद्व भएको उनको भनाइ छ ।

यस्तै, कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओलीको जवाफ फर्काएका छन् । ओलीप्रति इङ्गित गर्दै भने, ‘तपाईँहरू एक क्वीन्टल नै हो, हामी तोला हौँ, कमरेडलाई थाहा नहोला, तर बजारलाई थाहा छ, तोलाको मूल्य ।’ नेकपा एमाले एक क्वीन्टलको आलु भएको र आफूहरू एक–एक तोलाको पाँच तोला सुन भएको उनको तर्क छ ।

उनले अहिलेको गठबन्धन चुनाव जित्न मात्रै नबनेको उदृत गर्दै भने, ‘तालमेल बिना जिन्दगी त बन्दैन, राम्रो गायकले गीत त गाउन सक्दैन, राम्रो संगीतकारले संगीत भर्न सक्दैन, साहित्यमा तालमेल भएन भने कविता बन्दैन, प्रकृतिले तालमेल नगरे ईन्द्रेणी बन्दैन ।’ उनले अहिलेको तालमेल समयको आवश्यक रहेको तर्क गरे ।

‘मत दिनुभन्दा अगाडि एकपटक उम्मेदवारलाई प्रश्न गर्नुहोला,’ उनले युवालाई लक्षित गर्दै भने, ‘स्वास्थ्यका कुरा उठिरहँदा कोरोनाकालमा ओली कमरेडले अम्बाको पत्ता खाउ निको हुन्छ भन्नु कति उचित ?’ उनले शिक्षा, स्वास्थ्य, रोजगार जस्ता कुरामा कांग्रेसले नेतृत्व गरेको गठबन्धन स्पष्ट रहेको बताए ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेल र नेकपा एकीकृत समाजवादीबाट उपमेयरमा केशवकुमार विष्ट चुनावी मैदानमा छन् ।

मेयर पदका उम्मेदवार पौडेलले भने इटहरीमा गठबन्धन जितको नजिक पुगेको बताए । ‘अब इटहरीमा आर्थिक अनियमितता र सुशासनका विषयमा प्रश्न उब्जने छैनन्,’ उनले भने, ‘इटहरीजस्तो समृद्ध सहरमा, सम्भावना बोकेको सहरमा बाढीले बगायो भन्नुपर्ने छैन, अस्पताल बन्ने कुरामा शंका छैन ।’

उनले आफूहरू इटहरीलाई साँच्चिकै बदल्ने सोचमा चुनावी मैदानमा आएको बताए । ‘हामी इटहरीलाई साँच्चै बदल्ने सोचमा छौँ, तपाईँहरू पनि परिवर्तन चाहनुहुन्छ भने मत हाल्नेबेला मात्रै ३० सेकेन्ड दल परिवर्तन गर्नुहोस् र गठबन्धनलाई मत दिनुहोस्, हामी इटहरी बदल्छौँ ।’

उनले इटहरीमा यसअघि नेकपा एमाले निर्वाचित भएपनि दूरदर्शी नेतृत्व नभएको आरोप लगाए । उनले भने, ‘एमालेको नेतृत्व दूरदर्शी थिएन, यो जनताको दोष होइन । हिजोको दिनका सरकारदेखि जनता डराएर हिड्नुप-या, अब सबै जाति, भाषाभाषीहरूले सरकार भएको महसुस गर्नेछन् ।’

उनले कांग्रेसले नेतृत्व गरेको गठबन्धन विजयी भएको अवस्थामा यहाँका आम सर्वहारा जनताले सरकार खोज्दै उपमहानगर आउन नपर्ने बताए । ‘अब सरकार खोज्दै तपाईहरू उपमहानगरको गेटसम्म आउनुपर्दैन, यो सरकार जनमुखी हुन्छ, सरकार गाउँ–गाउँमा जनताका समस्या नियाल्न पुग्छ ।’ पौडेलले भने ।

तपाइको प्रतिक्रिया
(Visited 397 times, 1 visits today)

epaper

ताजा समाचार

आज गाईजात्रा पर्व मनाइँदै