आचारसंहितामा कडाइ, उल्लंघन गर्नेलाई फिल्डबाटै कारबाही

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि जारी गरेको आचारसंहिताको पालनामा कडाइ गरेको छ । आयोगले आचारसंहिता उल्लंघनका घटना भए फिल्डबाटै कारबाही गर्न सक्ने अधिकारसहित टोली परिचालन गरेको छ ।

निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा तत्कालै कारबाही गर्न सक्ने अधिकारसहित देशका विभिन्न स्थानमा आयोगले १९ वटा टोली फिल्डमा खटाएको हो ।

स्थानीय तह निर्वाचन

सो टोलीलाई आचारसंहिता उल्लंघन भएको पाइए तत्काल कारबाही गर्न सक्ने अधिकार दिएर फिल्डमा पठाइएको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

‘कहीँकतै आचारसंहिता उल्लंघनका घटना भयो भने फिल्डबाटै कारबाही गर्न सक्ने गरी आयोगले १९ वटा टोली खटाएको छ । ती टोलीले फिल्डबाटै एक्सन लिएर आचारसंहिता उल्लंघनकर्तालाई कारबाही गरेको आयोगमा जानकारी गराउनेछन्,’ आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले राजधानीसँग भने ।

आयोगले ती टोलीलाई तुलनात्मक रूपमा संवेदनशील मानिएका स्थानमा खटाएको हो । अनुगमन टोलीलाई मौन अवधिमा आमसभा, कार्यशाला, गोष्ठी, सम्मेलन, भोजभत्तेर, पैसा बाँड्ने काम भएको वा नभएको अनुगमन गर्ने र त्यस्ता घटना भएको पाइए वा देखिए तत्काल कारबाही गर्न सक्ने अधिकार दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

सो टोलीलाई सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिएको पाइएमा पनि तत्काल कारबाही गर्ने अधिकार पनि दिएको छ ।

स्थानीय तह निर्वाचनका लागि २७ वैशाख राति १२ बजेबाट नै मौन अवधि सुरु भइसकेको छ । मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका गतिविधि गर्न पाइनेछैन ।

मतदाता शिक्षा र नयाँ मतदातालाई परिचयपत्र वितरण आज पनि
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सही तरिकाबाट मतदान गर्न सिकाउन मतदातालाई शिक्षा दिने र मतदाता परिचयपत्र वितरण गर्ने कार्य आज बिहीबार पनि गर्नेछ । देशभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ मतदातालाई मतदान स्थल र मतदान केन्द्रहरूबाट बुधबार पनि मतदाता परिचयपत्र प्रदान गरेको थियो ।

आयोगले स्थानीय तहको निर्वाचनका लागि मतदाताहरूले दिएको मत बदर नहोस् भनेर मतदान स्थल र मतदान केन्द्रबाटै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।

३५ हजार २ सय २१ पदका लागि भोलि शुक्रबार हुने निर्वाचनमा १ लाख ४५ हजार ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । ती उम्मेदवारलाई १० हजार ७ सय ५६ मतदान स्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रबाट १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले मतदान गर्नेछन् ।

मतदानमार्फत ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी कुल ७ सय ५३ स्थानीय तहमा नयाँ नेतृत्व चयन हुनेछ ।

निर्वाचनमा विभिन्न राजनीतिक दलका ३ सय ५५ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । त्यसमध्ये ६ जना वडाध्यक्षसहित ३५ जना स्वतन्त्र उम्मेदवार पनि निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 624 times, 1 visits today)

epaper

ताजा समाचार

दूरसञ्चार क्षेत्रको दिगो विकासमा जोड दिनुपर्ने सरोकारवालाको भनाइ