काठमाडौं । सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारले विद्यालयमा पनि यो व्यवस्था लागू गर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न बिदा कटौती गरेर सातामा दुई दिन शनिबार र आइबार विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका अनुसार बर्खे, हिउँदे, स्थानीयलगायतका बिदा कटौती गरेर विद्यालयमा जेठदेखि आइतबार बिदा दिन सकिने निर्णय गरेको हो । गत १३ वैशाखको मन्त्रिपरिषद् बैठकले जेठदेखि सातामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो ।
बर्खे, हिउँदे बिदा कटौती कत्तिको सम्भव ? प्याब्सन भन्छ, छैन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठकले सोमबारदेखि शुक्रबारसम्म १० बजेदेखि ४ बजेसम्म विद्यालय समय कायम गर्ने निर्णय गरेको हो । जसअनुसार अब शुक्रबार पनि पूरै समय पठनपाठन हुनेछ ।
बैठकले वार्षिक २० दिन अन्य बिदा कटौती गरे तोकेको पाठ्यघण्टा पूरा गर्न सकिने निष्कर्ष निकालेको छ ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार आइतबार बिदा दिएर शुक्रबार ४ बजेसम्म कक्षा सञ्चालन गर्दा साप्ताहिक रूपमा ३ घण्टा अपुग हुन्छ । तर, वर्षभरिका २० दिन बिदा कटौती गरेर कक्षा सञ्चालन गरेको अवस्थामा अपुग घण्टा पूरा हुन्छ ।
सरकारले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई दिएको छ । जसअनुसार स्थानीय तहले आफू अनुकूल बर्खे, हिउँदे, स्थानीय, दसैं, तिहारलगायत चाडपर्व बिदा दिँदै आएको छ । अहिले हिउँदे, बर्खे गरेर ४५ दिन र स्थानीय बिदा ५ दिन दिइँदै आएको छ ।
४५ दिनको हिउँदे, बर्खे बिदा ३० दिनमा झारेर विद्यालय सञ्चालन गर्दा आइतबारको बिदा पूर्ति गर्न सकिने मन्त्रालयले जनाएको छ ।
उता, शिक्षा मन्त्रालयले विद्यालयमा शनिबार र आइतबार गरी सातामा दुई दिन बिदा दिने औपचारिक निर्णय गरेलगत्तै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन भने त्यसको विपक्षमा उभिएको छ । प्याब्सनले सातामा दुई दिन बिदा दिँदा पाठ्यभार पूरा गर्न सम्भव नहुने प्रतिक्रिया दिएको छ । उसले सातामा दुई दिन बिदा दिँदा शिक्षा नियमावलीमा भएको व्यवस्थाविपरीत १८० दिन पढाइ हुन नसक्नेसमेत जिकिर गरेको छ ।
प्याब्सनका अध्यक्ष डिके ढुंगानाले भने, ‘सातामा दुई दिन बिदा दिँदा शिक्षा नियमावलीमा भएको व्यवस्थाविपरीत १८० दिन पढाइ हुन सक्दैन । शिक्षा नियमावलीअनुसार वर्षमा २२० दिन विद्यालय खोल्नुपर्छ र १८० दिन पढाउनैपर्छ । तर, दुई दिन बिदा दिँदा त्यो सम्भव हुँदैन । नयाँ व्यवस्थाले वर्षमा औसतमा २ सय दिन विद्यालय खुल्छ, यसले नतिजा प्रकाशनलगायतको कामका कारण १८० दिन पढाउन सम्भव हुँदैन र पाठ्यभार पूरा गर्न पनि सकिँदैन ।’
उनले ४५ दिनको बिदालाई ३० दिनमा झार्ने भनिए पनि त्यो सम्भव नहुने बताए । ‘हिमालमा हिउँ पर्ने समयमा र पहाड र तराईमा वर्षामा बिदा दिनैपर्छ । त्यसकारण यी दुवै कुरा त्यति सहज छैन । त्यसकारण पाठ्यभार नै पूरा हुँदैन भन्ने हाम्रो चिन्ता हो ।’
उनले हिउँदे र बर्से बिदा कटौती सम्भव नहुने बताउँदै पाठ्यभार पूरा नभएको अवस्थामा बिदाका दिन पनि विद्यालय खोलेर पढाउनुपर्ने अवस्था आउने बताए । ‘अब कक्षा नै सकिएन भने त जसरी पनि पढाउनुप¥यो नि ? हिउँदे र वर्षे बिदा कटौती गर्ने कुरा पनि त्यति सम्भव छैन । ’cause, हिमालमा हिउँ पर्ने समयमा बिदा दिनैपर्छ, पहाड र तराईमा वर्षामा बिदा दिनैपर्छ । त्यसकारण यी दुवै कुरा त्यति सहज छैन । त्यसकारण पाठ्यभार नै पूरा हुँदैन भन्ने हाम्रो चिन्ता हो ।’